काठमाडौं । बुधबार पर्वतको युवा संघ भेलामा भएको झडप र कुटपिट प्रकरणले नेकपा एमालेभित्रको गुटबन्दी सामाजिक सञ्जाल र विज्ञप्तिमार्फत प्रकट भएको छ । गण्डकी प्रदेश कमिटी र पर्वत जिल्ला कमिटीभित्रको गुटबन्दीकै उत्कर्ष सो कुटपिट प्रकरण भन्ने प्रष्ट भएको छ ।
पर्वतमा युवा संघको भेला भइरहेका बेला जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीकै उपस्थितिमा गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल कुटिएको समाचार बाहिर आयो । तर, जिल्ला कमिटीका अनुसार पौडेलको नेतृत्वमा गएको टोलीले पहाडीमाथि हातपात गरेको थियो ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले बुधबार दिउँसो पौडेलमाथि आक्रमण गर्नेलाई कानूनबमोजिम कारवाहीको माग गर्दै घटनामा जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीको समेत संलग्नता रहेको आशय झल्किने विज्ञप्ति जारी गरेका थिए । त्यसलगत्तै जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेलले काउन्टर विज्ञप्ति निकाल्दै प्रदेश अध्यक्षको विज्ञप्ति खारेज गरे ।

यी सबै घटनाले गण्डकी एमालेको गुटबन्दी सतहमा पोखिएको हो । प्रदेश कमिटी अध्यक्ष शर्मा एमालेभित्र संस्थापन इतर समूहका मानिन्छन् । शर्माले प्रदेश अधिवेशनमा पार्टी केन्द्रीय कार्यालयले अघि सारेका मायानाथ अधिकारीलाई पराजित गरेका थिए ।
गण्डकीको राजनीतिमा शर्मा पृथ्वीसुब्बा गुरुङनिकट हुन् भने मायानाथ खगराज अधिकारीनिकट । अधिवेशनमा नवराज शर्माको प्यानल नै निर्वाचित भएको थियो । त्यसलगत्तै खगराज पक्षले जिल्ला अधिवेशनहरुमा आक्रामक तयारी थालेर पर्वत, कास्कीलगायतका जिल्लामा आफ्ना पक्षधर कमिटी जितायो ।
पर्वत जिल्ला कमिटीमा पनि नवराज शर्मा पक्षधर पराजित भएर जिल्लामा पदम गिरीले समर्थन गरेको प्यानल निर्वाचित भएको थियो । जिल्ला अधिवेशनदेखिकै गुटबन्दीको उत्कर्ष बुधबारको झडप र कुटपिट प्रकरण भएको नेताहरु बताउँछन् । पर्वतमा गणेश तिमल्सिना, विकास लम्साल, कल्पना चापागाईँ, पदमपाणि शर्मालगायतका नेताहरू एकातिर छन् भने पदम गिरी एक्लै भारी परेका छन् ।
बुधबार कुटाइ खाएर घाइते भएका अर्जुन पौडेल तिमल्सिना पक्षका हुन् । पौडेल पक्षले आक्रमण गरेका जिल्ला अध्यक्ष पहाडी पदम गिरी पक्षका हुन् । त्यसैले एउटै पार्टीका कार्यकर्ताहरूबीच भएको घटनालाई पनि गुटबन्दीकै कारण प्रदेश र जिल्लाले फरक फरक विज्ञिप्त र फरक व्यहोराबाट व्याख्या गरेका छन् ।
प्रदेश कमिटी अध्यक्ष शर्माको विज्ञप्तिमा विधिसम्मत विवाद हल गर्नुको साटो जिल्ला कमिटीकै उपस्थितिमा कुटिएको भनेर अध्यक्ष गोविन्द पहाडीलाई दोषी देखाइएको छ । जिल्ला कमिटीको विज्ञप्तिमा भने घटनाको यथार्थ विवरण जिल्ला नेतृत्वसँग नबुझी प्रदेश कमिटीले तथ्यविपरीत विज्ञप्ति निकालेर भ्रम सिर्जना गरेको उल्लेख छ ।
यस्तो छ प्रदेश कमिटीको विज्ञप्ति-

प्रदेश कमिटीको विज्ञप्तिले पार्टीको हित नभई अराजक गुटगत प्रवृत्तिलाई मलजल पुग्ने भन्दै जिल्ला कमिटीले माथिल्लो कमिटीको ध्यानाकर्षण गराएको छ । जिल्ला कमिटीले सो घटनाको छानबिन गर्न केन्द्रीय कमिटी गुहारेसँगै यो विषय थप जटिल बनेको छ ।
एमाले केन्द्रीय कार्यालय (महासचिव शंकर पोखरेलसहित) प्रदेश कमिटी अध्यक्ष नवराज शर्मासँग असन्तुष्ट छ । त्यसो त गण्डकीका प्यानल बनाएर चुनाव लडेको भन्दै त्यहि बेला नै अध्यक्ष केपी शर्मा ओलीले समेत आलोचना गरेका थिए ।
पर्वतकै घटनाको सन्दर्भमा पनि प्रदेश कमिटी एकातिर र जिल्ला कमिटी अर्कोतिर देखिँदा गुटबन्दी थप जटिल बन्ने देखिएको छ ।
एमालेमा गण्डकी वा पर्वतको यो घटना अपवाद भने होइन । देशैभर तलैसम्म केही नेताले आफूहरुलाई संस्थापन पक्ष भनेर माथिको आदेश भन्ने र अर्काथरीले अस्वीकार गरेर अर्को गुट बनाउने प्रक्रिया चलिरहेका बेला पर्वत काण्ड बाहिर आएको हो ।
यस्तो छ प्रदेश र जिल्ला कमिटीको कुरा
घटनाबारे जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै युवा संघ नेपाल, पर्वतको नवौं जिल्ला अधिवेशन तयारीका सन्दर्भमा नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयको हलमा आयोजित विस्तारित भेलामा गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेलको नेतृत्वमा आएको समूहले नेकपा (एमाले) पर्वतका अध्यक्ष गोविन्द पहाडीमाथि गरेको सांघातिक आक्रमण अत्यन्त खेदजनक एवं निन्दनीय भएको बताएका छन्।
घटनाको यथार्थ विवरण जिल्ला कमिटी नेतृत्वसँग नबुझी नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले तथ्य विपरित विज्ञप्ती निकाली आम पार्टी कार्यकर्ता र शुभचिन्तकमा भ्रम सिर्जना गराएको कुराप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विज्ञप्तीले पार्टी हित नभई अराजक गुटगत प्रवृत्तिलाई मलजल पुग्ने कुरामा ध्यानकर्षण भएको छ । साथै आफ्नो गल्तीलाई ढाकछोप पार्न फैलाइएका अनर्गल प्रचार र फेसबुक स्टाटसलाई आधार मानेर विभिन्न संचार माध्यममा आएका भ्रामक समाचारहरुकोसमेत यसै विज्ञप्ती मार्फत खण्डन गर्न चाहन्छौं ।’
नेकपा एमाले जस्तो अनुशासित र गतिशील पार्टीभित्र कार्यक्रम चलिरहेको अवस्थामा जिल्ला अध्यक्षमाथि भएको सांघातिक हमला र पार्टीभित्र मौलाउँदै गएको अराजकता कदापि क्षम्य हुन नसक्ने उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधि, विधान र अनुशासनलाई धज्जी उडाउँदै भएका यस्ता अक्षम्य गतिविधि पार्टीलाई सह्य हुने कुरा होइन । आज नेकपा (एमाले) पार्टी कार्यालयमा भएको घटना उपर आवश्यक छानविन गरी दोषी माथि कडा भन्दा कडा कारवाही गर्न नेकपा (एमाले) केन्द्रीय कमिटी सक्षम विनम्र अनुरोध गर्दछौं ।’
यता, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले घटनाबारे विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय युवासंघ नेपाल पर्वतको जिल्ला अधिबेशन तत्काल गर्ने वा पछाडी सार्ने भन्ने विषयमा पार्टी कार्यालय भित्र विवाद उत्पन्न भएको थियो । नेकपा एमाले जिल्ला कमिटि पर्वतका अध्यक्ष कमरेड गोबिन्द पहाडी लगायतका कमरेडहरूको उपस्थितिमा भएको त्यस विवादलाई विधिसम्मत र शान्तिपूर्ण तवरबाट हल गर्नुको साटो पार्टी प्रदेश कमिटीका सदस्य कमरेड अर्जुन पौडेल माथि भौतिक आक्रमणमा उत्रने जुन कार्य भएको छ यसप्रति प्रदेश कमिटी गम्भिर निन्दा र भत्सर्ना गर्न चाहन्छ ।’
सांघातिक रूपमा आक्रमण गर्ने जो कोही भएपनि घटनाको छानविन गरि दोषि उपर कारवाही हुन आवश्यक रहेको उल्लेख छ।
समस्यालाई शान्तिपूर्ण र विधिसम्मत तवरबाट हल गर्न र अराजक गतिविधिलाई कसैले प्रोत्साहन नगर्न पनि प्रदेश कमिटीले आह्वान समेत गरेको छ।

Leave a Reply