शुक्रबार रिलिज हुने ‘ऊनको स्वीटर’ र ‘जार’ को अग्रिम टिकट बुकिङ खुला, कसलाई कति शो ?

काठमाडौं । यही शुक्रबार देशभर प्रदर्शनमा आउन लागेका दुई चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम टिकट बुकिङ खुला भएको छ । मल्टिप्लेक्स हलहरूले मंगलबार बेलुकै चलचित्रको शो तय गर्दै बुकिङ खुलाएका हुन् ।

सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई पहिलो दिन देशभरका हलमा गरेर ४८ शो दिएको छ । काठमाडौंभित्र मात्र क्यूएफएक्समा यो चलचित्रले २१ शो पाएको छ । यो चलचित्रलाई आईएनआई सिनेमाजले १८ शो र बिग मुभिजले ५ शो दिएको छ ।

यता अर्को चलचित्र ‘जार’लाई क्यूएफएक्सले काठमाडौंमा १३ शोसहित देशभर जम्मा २४ शो दिएको छ । यो चलचित्रलाई आईएनआई सिनेमाजले ८ शो र बिग मुभिजले २ शो दिएको छ ।

यी चलचित्रहरुको अन्य केही मल्टिप्लेक्सहरुमा पनि बुकिङ खुलेको छ भने केहीमा खुल्ने तयारी छ ।

आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा कलाकारहरु विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस र विल्सनविक्रम राईको मुख्य भूमिका छ । निर्देशक नवीन चौहानको निर्देशनमा बनेको यस चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ ।

त्यस्तै फुर्वा छिरिङ लामा निर्देशित चलचित्र ‘जार’मा भने कलाकारद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको मुख्य भूमिका छ । २२५ वर्ष अगाडिको कथामा आधारित यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *