भारतले जनतालाई दिन थाल्यो ‘ज्यान जोगाउने’ तालिम, के हो ‘मोक ड्रिल’ ?

काठमाडौं । पाकिस्तानसँग भिड्न तयार भएको भारतले आजबाट देशभरा नागरिक सुरक्षा अभ्यास (सिभिल डिफेन्स मोक ड्रिल) सुरु गरेको छ । नागरिक र सुरक्षाकर्मीहरुलाई सम्भावित बाह्य आक्रमणहरूबाट जोगिने कौशल सिकाउनका लागि गृहमन्त्रालयको निर्देशनमा यो अभ्यास थालिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

भारतले पाकिस्तानका विभिन्न भूभागमा हवाई आक्रमण गरेको केही घण्टापछि यो अभ्यास सुरु गरिएको हो । अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत नौवटा कथित ‘आतङ्ककारी शिविर’ मा आक्रमण गरेको थियो ।

गृह मन्त्रालयका अनुसार यो अभ्यासमा नागरिकहरूलाई हवाई आक्रमण, विद्युत् अवरोध, आपतकालीन उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण जस्ता परिस्थितिहरूमा के गर्ने भनेर सिकाइने छ । साथै, महत्वपूर्ण पूर्वाधारहरूको सुरक्षाका लागि ढाकछोप (क्यामुफ्लाज) र आपतकालीन योजना अद्यावधिक गर्ने अभ्यास पनि गरिनेछ ।

दिल्लीः ‘अभ्यास अपरेसन’ अन्तर्गत राजधानी दिल्लीका ५५ स्थानमा अभ्यास गरिनेछ । दिउँसो ४ बजे ६० वटा हवाई आक्रमण साइरन बजाएर विद्यालयहरूमा विद्यार्थी र शिक्षकहरूलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरु गरिएको छ ।

यस्तै, महाराष्ट्र, उत्तर प्रदेश, करेला र गुजरातका विभिन्न स्थानमा पनि यस्तो अभ्यास थालिएको छ । उत्तर प्रदेशका सम्पूर्ण जिल्लाहरूमा प्रहरी, दमकल, विपद् प्रतिक्रिया बल र स्थानीय प्रशासनको समन्वयमा अभ्यास गरिनेछ । लखनऊमा बम विस्फोटको नक्कली परिदृश्यमा सुरक्षाकर्मीहरूले प्रतिक्रिया दिनेछन् । बरेलीमा साँझ ८ बजे देखि ८ः१० बजेसम्म १० मिनेटको ‘ब्ल्याकआउट’ अभ्यास गरिनेछ ।

यो अभ्यास भारतमा दशकौँपछि गरिएको सबैभन्दा ठूलो नागरिक सुरक्षा अभ्यास हो । नागरिकहरूलाई सरकारी निर्देशनहरू पालना गरी अभ्यासमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *