रूपन्देही । बैशाख लागेयता लुम्बिनी प्रदेशस्थित तराईका तीन जिल्लामा गोली हानेर बदला लिने घटनापछि स्थानीयले असुरक्षा महसुस गरेका छन् । रूपन्देही, बाँके र कपिलवस्तु जिल्लामा भएका यी घटनामध्ये बाँकेमा मात्रै दोषी पक्राउ परेका छन् । रूपन्देही र कपिलवस्तु घटनामा संलग्न पक्राउ परेका छैनन् ।
जब जिल्लामा प्रहरी प्रमुख फेरिन्छ, तब यस्ता घटना हुने प्रवृत्ति रोकिन सकेको छैन । जिल्लामा प्रहरी नेतृत्व फेरिने मौकामा हुने यस्ता घटनाप्रति स्थानीयले विभिन्न आशंका व्यक्त गरेका छन् । त्यसो त भारतीय सीमा क्षेत्रबाट खुलेयाम आउनेहरू नै यस्ता घटनाका मुख्य दोषी देखिएकाले सीमा क्षेत्रको सुरक्षा चुनौती बढाएको छ ।
रूपन्देहीको बुटवलमा त विवाहको प्रस्ताव अस्वीकार गरेकै कारण भारतीय व्यक्तिले नेपाली चेलीलाई गोली हानेर फरार भए । बैशाख ६ गते शनिबार बिहानै बुटवलमा होटल सञ्चालन गर्दै आएकी अविवाहित टीका बिष्ट क्षेत्रीमाथि विवाह गर्न नमानेको झोँकमा भारतीय व्यक्तिले गोली प्रहार गरेका थिए ।
भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका सारेआलम अन्सारी टीकालाई गोली प्रहार गरेर भाग्नसमेत सफल भएका थिए । गोली लागेर घाइते पाल्पाको रैनादेवी छहरा गाउँपालिका- १ की २९ वर्षीया विष्टको अहिले चितवनमा उपचार भइरहेको मामा शंकर कुँवरले बताए ।
बुटवल र भैरहवाका अस्पतालमा उपचार हुन नसकेपछि चितवनस्थित मेडिकल कलेजमा पु¥याइएको कुँवरले बताए ।
टीकाले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण भारतीय नागरिक अन्सारीले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्र रानाले बताए । गोली प्रहार गर्ने युवक यस अगाडि पनि त्यो होटलमा आउने गरेका थिए ।
टीकाले पटकपटक प्रेम प्रस्ताव अस्वीकार गरेको र केही दिनअघि मात्रै दुईबीच भनाभन भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख रानाले गोली हान्ने व्यक्ति भारतीय नै भएको र अहिलेसम्म पक्राउ नपरेको, तर खोजी कार्य जारी रहेको बताए ।
बैशाख ४ मा कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि मध्यरातमा गोली प्रहार भयो । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका- १ पकडीस्थित निवासमै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताए ।
उनका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । अध्यक्ष चौधरीले आफूलाई घरको कम्पाउन्ड बाहिरबाट पेस्तोलबाट गोली प्रहार गरेर भागेको प्रहरीलाई बताएका छन् । गोली छलिएर गएकाले आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् ।
संयोग नै मान्नुपर्छ घटनाको दिन पूर्वप्रधानमन्त्री कपिलवस्तुमै थिए र अर्को दिन त्यही पालिकामा पुगेका थिए, तर अहिलेसम्म घटनाको कारण खुलेको छैन । दोषी पनि पक्राउ परेका छैनन् ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको डीएसपी अधिकारीले जानकारी दिए । यो घटना आफैंमा रहस्यमय भए पनि यसको वास्तविकता बाहिर आएको छैन, तर बाँकेमा बैशाख १२ गते सार्वजनिक स्थलमा गोली पड्काइ आतंक मच्चाउने ४ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पक्राउ पर्नेहरूमा नेपालगञ्ज- १ का ४० वर्षीय विश्वविजय पोख्रेल, नेपालगञ्ज- १८ का ३० वर्षीय विशाल आउजी, नेपालगञ्ज- ४ का २१ वर्षीय अस्मित मल्ल र २० वर्षीय सौगात श्रेष्ठ छन् । उनीहरूले १२ गते नेपालगञ्ज- १२ मा रहेको नमस्ते दोहरी बाहिर पेस्तोलबाट गोली पड्काइ बा ४ च ३०७१ नम्बरको कारमा चढेर नेपालगञ्ज- १८ विशालनगर चोकमा भइरहेको नाइट क्रिकेट प्रतियोगितास्थल पुगेका थिए । त्यहाँ हुलहुज्जत गर्दै खुकुरी देखाएर मानिसहरूलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट पुनः गोली पड्काइ भागेको प्रहरी प्रवक्ता डीएसपी पातलीले बताए ।
उनले घटना भएलगत्तै पिछा गर्दै गएको प्रहरी टोलीले कोहलपुर- १० हाइस्कुलबाट ती चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
यी घटनाको बेला प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीको बढुवा र सरुवाको समय परेको थियो । अहिले विभिन्न जिल्लाका सुरक्षा अधिकारीको सरुवा चलेको छ, तर यो बीचमा भएका यी घटनाहरू यसै सेलाउने त होइन भन्ने चिन्ताले स्थानीयलाई पिरोल्न थालेको छ ।

Leave a Reply