जब ‘दृष्टि’मा प्रदीप नेपालको ७०० तलब र रघुजी पन्तको लेख छाप्न रोकियो…

प्रदीप नेपाल घोषित रूपमा पत्रकार हुनुहुन्थेन, तर पत्रकारिता चेतले उहाँ पूर्णतः युक्त हुनुहुन्थ्यो । हामीलाई लामो समय पत्रकारितामा अभिभावकत्व दिनुहुने उहाँ मेरा निम्ति त दृष्टि साप्ताहिकमा जोड्ने एक असल पथप्रदर्शक नै हुनुहुन्थ्यो ।

हाम्रो घर काठमाडौंको भीमसेनस्थान चोकमै छ । पूरै परिवार राजनीतिक गतिविधिमा सामेल थियौं । म आफैं २०४३ सालमा जनपक्षीय वडाध्यक्षको उम्मेदवार पनि भएँ । त्यसताका हाम्रो घर नेकपा मालेका नेताहरूको सेल्टर थियो । उहाँहरूको बसोबास आआफ्नै ठाउँमा हुन्थ्यो, तर हरेक दिन बिहानदेखि बेलुकीसम्म आउने, बस्ने, सल्लाह, बैठक सबै थोक हाम्रै घरमा हुन्थ्यो । यही क्रममा प्रदीप नेपालसँग चिनापर्ची भयो ।

काठमाडौंमा पार्टीका अनगिन्ती स्थानीय साथीहरू हुनुहुन्थ्यो । सबैका घर थिए, तर हाम्रै घर चाहिँ सामरिक हिसाबले पनि सेल्टर बनाउन उपयुक्त भएकोले होला, पार्टीले रोज्यो । हाम्रो घरबाट अहिले पनि टेकु, कालिमाटीदेखि बाफलसम्मको दृश्यावलोकन हुन्छ । अझ त्यसबेला पातलो बस्ती भएका कारण बसन्तपुर, न्युरोड पनि देख्न सकिन्थ्यो । यदि प्रहरी आइहालेमा भाग्न ठाउँ पनि सजिलो थियो । परैबाट आएको देखिन्थ्यो । फेरि त्यसबेलाको भीमसेनस्थान भनेको काठमाडौं शहरभित्रैको, मानिसहरूको कम चलहपहल हुने ठाउँ थियो । कतैबाट आएका साथीलाई पार्टी सम्पर्कमा पुग्न पनि नजिक थियो । किनभने त्यसबेला नाइट बस र लामो दुरीको बस लाग्ने नै सुन्धाराबाट थियो ।

त्यसबेला उहाँ पार्टीको उपत्यका हेर्ने जिम्मेवारी लिएर बुटवलतिरबाट आउनुभएको थियो । हामी सेल्टरदातामात्रै नभएर पार्टी जिम्मेवारीमा पनि भएको कारण नयाँनयाँ कमरेडका नाम, थरसँग मतलब राख्दैन थियौं । त्यसमाथि प्रदीप कमरेड पार्टीका अर्का नेता राजेन्द्र श्रेष्ठ (हाल जसपा नेता)मार्फत जोडिनुभएको थियो । उहाँकै घर क्षेत्रपाटीमा थियो, तर सुरक्षित मानेर होला, सेल्टर हाम्रो घरलाई बनाइयो ।

प्रदीप कमरेड संगठकमात्रै नभएर अध्ययन, लेखनमा गहिरो रुचि राख्नुहुने व्यक्तिका रूपमा मैले त्यही क्रममा चिनेँ । म त्यसबेला नेपालभाषाको पत्रिका ‘राजमति’ चलाउँथें । ‘यो अखबार हो’ भन्नेबित्तिकै उहाँले निकै चासोका साथ मसँग सोध्ने, बुझ्ने गर्नुभयो ।

म पत्रकार हुँ, लेख्छु भन्ने थाहा पाएपछि उहाँले मसँग अन्य पार्टी कार्यकर्ताभन्दा फरक व्यवहार र कुराकानी गर्न थाल्नुभयो । उहाँ त्यसबेला नै पार्टीको तर्फबाट सुनकोशी छापाखानाका कामहरूको पनि संयोजन गर्ने गरी तोकिनुभएको थियो । त्यहाँबाट दृष्टि, प्रकाश, छलफल जस्ता माले पक्षीय अखबारहरू छापिन्थे । त्यसको मालिक पहिला सुशील प्याकुरेल र पछि उत्तम महत हुनुहुन्थ्यो । छापाखानामा उहाँहरूले लगानी गरे पनि त्यसको आम्दानीले पार्टी नेताहरूको खर्च चलाउने गरिन्थ्यो । म जस्तो आफैं पत्रिका चलाउनेले छापाखानालाई बुझाउनुपर्ने पैसा

सुनकोशी छोडे पनि हाम्रा पत्रिकाका कामहरू हेर्न पार्टीले प्रदीप कमरेडलाई नै तोकेको थियो । त्यसमाथि २०४७ सालमा नेकपा माले खुला भएपछि त्यही पछाडि रहेको कम्युनिष्ट पार्टीका संस्थापक नरेन्द्रविलास जोशीको घरमा पार्टी कार्यालय राखियो । बुझाइराखेकै हुन्थ्यौं ।

२०४६ सालको संयुक्त जनआन्दोलनपछि दृष्टिलाई बजारमा सहज रूपमा पठाउने काम शुरु भयो । पञ्चायतकालमा त्यस्ता पत्रिका देख्नासाथ प्रशासनले जफत गर्थ्यो । छाप्नेहरूलाई धरपकड नै गरिन्थ्यो । बहुदलीय व्यवस्था बहाली भएपछि हिजो कष्टका साथ निकालिने हाम्रा अखबार प्रकाशनमा सहजतामात्रै आएन, बजार पनि विस्तार भयो । बजार बढेसँगै कामको चाप बढ्यो । यसैक्रममा प्रदीप कमरेडले मलाई दृष्टिको व्यवस्थापन हेर्न अनुरोध गर्नुभयो । त्यो अनुरोधको भाषा भए पनि हामी त्यस्तो कुरालाई एक किसिमले पार्टी निर्देशन नै मान्थ्यौं र पालना गर्थ्यौं ।

मअघि विष्णु प्रभात व्यवस्थापक हुनुहुन्थ्यो । उहाँलाई अर्को जिम्मेवारीमा पठाइएपछि मलाई व्यवस्थापक हुन भनिएको थियो । मैले प्रदीप कमरेडको निर्देशनबमोजिम व्यवस्थापक हुन दृष्टि गएँ । सम्पादक नारायण ढकाल हुनुहुन्थ्यो ।

त्यहाँ गोपाल गुरागाईं, किशोर श्रेष्ठ, हरिशरण फुयाँल, श्यामल, भीमसेन राजवाहकहरू हुनुहुन्थ्यो । शम्भु श्रेष्ठ त यसै पनि दृष्टिको प्रकाशक नै भइहाल्नुभयो । त्यो उहाँकै नाममा दर्ता थियो र आजसम्म छ पनि । भीमसेन राजवाहक लेटरप्रेसको अक्षर जोड्ने कम्पोजिटरका रूपमा काम गर्थे । पछि उनी प्रदीप कमरेडकै प्रेरणाले पत्रकार बने ।

प्रदीप कमरेड कुरा मिल्दासम्म काम गर्न ज्यादै सजिलो मान्छे । कुरा मिलेन भने टेँडिन पनि उहाँ खप्पिस !

मेरा साथी रविन सायमी टंकेश्वरको घर नजिकै किराना पसल चलाउने । म घरबाट सुनकोशी छापाखाना जाँदा बाटो पर्थ्यो । जहिल्यै रविनलाई भेट्यो, कागजमा चित्र कोरेर बसेको भेटिने । उसले ललितकला क्याम्पसमा चित्रकारिता पढेको थाहा थियो, तर त्यो पढाइले पाउने काम सीमित थियो । यस्तो देखेपछि यति राम्रो प्रतिभालाई सदुपयोग गरौं भनी मैले प्रदीप कमरेडसँग अनुरोध गरेँ ।

‘को हो रविन भनेको ?’, उहाँले सोध्नुभयो । मैले भने, ‘किरण सायमीको भाइ ।’ किरणको नाम सुनेपछि उहाँले अरु केही सोध्नुभएन । भन्नुभयो, ‘कार्टुन बनाउन लगाउनु नि त !’ रविनको दाइ किरण पञ्चायतकालदेखि नै पार्टीमा काम गरेको । जागिर शाही नेपाल वायुसेवा निगम (शानेवानि)मा, कामचाहिँ पार्टीको मात्रै गर्ने । उनी पार्टीका आमसभा, चुनाव जस्ता बेलामा ट्याम्पोमा माइकिङ गर्नमा कहलिएका व्यक्ति थिए । ‘माइकिङ किरण’ भनेर पार्टीमा सबैले चिन्थे । उनको नाम लिनासाथ प्रदीप कमरेडले रविनको बारेमा धेरै केही सोधखोज नगरी सीधै कार्टुन बनाउन भन्नुभयो ।

यसरी आजका प्रख्यात कार्टुनिस्ट रविन पनि प्रदीप कमरेडकै कारण यहाँसम्म आइपुगेका हुन् ।

छलफलपछि दृष्टिमा ध्यान

सुनकोशी छापाखानामा हुँदासम्म प्रदीप कमरेडले दृष्टिलाई भन्दा छलफल साप्ताहिकलाई बढी महत्व दिनुहुन्थ्यो । बहुदल आएपछि कम्प्युटरमा पत्रिकाको लेआउट बनाउन थालियो । सुनकोशी छापाखाना छाडेपछि हाम्रा अफिस पनि अलगअलग भए । छलफल पुतलीसडक हुँदै अनामनगरतिर गयो । हामी बागबजारस्थित केशव स्थापितको घरमा गयौं । त्यही केशवका दाइ पुरुषोत्तमले कान्तिपुर अफसेट प्रेस चलाएका थिए । दृष्टि त्यहीबाट छापिन थाल्यो ।

प्रदीप कमरेडले आफ्ना लेख त लेख्नु नै हुन्थ्यो । कहिलेकाहीँ सम्पादकीय, समाचार र अरुका लेख र समाचार पनि सम्पादन गरी दिनुहुन्थ्यो । त्यसैले उहाँलाई हामीले महिनाको ७०० रूपैयाँ दिन थाल्यौं ।

सुनकोशी छोडे पनि हाम्रा पत्रिकाका कामहरू हेर्न पार्टीले प्रदीप कमरेडलाई नै तोकेको थियो । त्यसमाथि २०४७ सालमा नेकपा माले खुला भएपछि त्यही पछाडि रहेको कम्युनिष्ट पार्टीका संस्थापक नरेन्द्रविलास जोशीको घरमा पार्टी कार्यालय राखियो । त्यसैले कार्यालय नजिक भएकोले पनि प्रदीप कमरेडले त्यसपछि छलफललाई भन्दा बढी समय हामीलाई दिन थाल्नुभयो ।

पारिश्रमिकमाथि पार्टीको नजर

प्रदीप कमरेडले आफ्ना लेख त लेख्नु नै हुन्थ्यो । कहिलेकाहीँ सम्पादकीय, समाचार र अरुका लेख र समाचार पनि सम्पादन गरी दिनुहुन्थ्यो । त्यसैले उहाँलाई हामीले महिनाको ७०० रूपैयाँ दिन थाल्यौं । दृष्टिका पाठकमाझ मोदनाथ प्रश्रितको ‘जीवनको गारेटो’, प्रदीप नेपालको ‘मुक्त आकाशको खोजीमा’ र अग्निशिखाको ‘विश्वको सेरोफेरो’ जस्ता स्तम्भ लोकप्रिय थिए । पत्रिका बिक्री भएर पैसा आउँथ्यो नै । त्यही पैसाले अफिस, टेलिफोन, खाना, नास्तासँगै काम गर्ने स्टाफलाई तलब पनि दिन थालियो । जसका स्तम्भले पत्रिका चलेको छ, ती लेखकलाई पनि केही न केही पैसा दिनुपर्छ भनेर अरुलाई भन्दा पनि प्रदीप कमरेडको सहयोग अलिक बढी भएका कारण दिऔं भन्ने सल्लाह भएर ७०० रूपैयाँ दिन थाल्यौँ ।

त्यसबेला पार्टीको प्रचार विभाग प्रमुख केपी शर्मा ओली हुनुहुन्थ्यो । प्रदीप कमरेडलाई ७०० रूपैयाँ दिएको कुरा कसैले उहाँलाई रिपोर्ट गरेको रहेछ । एक दिन केपी कमरेड दृष्टिको अफिसमै आउनुभयो । भित्र नछिरी ‘राजेन्द्र, तिमी यता आऊ’ भन्दै बाहिरैबाट मलाई बोलाउनुभयो । म गएँ । उभिएरै सोध्नुभयो, ‘प्रदीप कमरेडलाई तपाईंहरूले पैसा दिने गरेको हो ?’ मैले ‘हो’ भनेँ । ‘कति पैसा हो ?’, उहाँले सोध्नुभयो । मैले भनेँ, ‘७०० हो कमरेड ।’ त्यसपछि केपीले ‘अबदेखि नदिनू’ भन्नुभयो । मैले चाहिँ पैसा दिनैपर्छ भन्नलाई कारण सुनाएँ– ‘उहाँले जे जस्तो सहयोग गर्नुभएको छ, त्यति नै काम गर्ने मान्छे बाहिरबाट राख्दा हजारौं तलब माग्छन् । त्यसैले उहाँले लेखे जतिको थोरै पारिश्रमिक दिएको हो कमरेड, यसमा केही नगर्रौं होला ।’

केपीले मान्नुभएन । ‘इञ्चार्जले भनेको हो, तपाईंले कार्यान्वयन गर्ने हो । लेख्ने मान्छे भएन भने भन्नु नि, मै लेखिदिउँला’, यति भनेर उहाँ फर्किनुभयो ।

प्रचार विभागको प्रमुख र दृष्टिको इञ्चार्ज पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँले भनेपछि मैले प्रदीपलाई पैसा दिन मिलेन । यो कुरा प्रदीप कमरेडलाई त भन्नुपर्ने भयो । प्रदीप आएको बेला मैले केपी कमरेडले भनेको कुरा सुनाएँ । सबै कुरा सुनेपछि प्रदीपले भन्नुभयो, ‘ठीकै छ, म पैसा नलिउँला । मैले अहिलेसम्म दृष्टिलाई जे-जति सहयोग गरेको छु, अबदेखि नगरौंला ।’

यो फेरि अर्को अप्ठेरो कुरा भयो । पार्टीले नै नदिनू भनेपछि मैले दिन मिलेन । मलाई कस्तो अप्ठेरो पर्‍यो भने, प्रदीपको मुख हेरौं कि पार्टी इञ्चार्जको ? शम्भुहरूलाई सोधेँ, ‘पार्टीले भनेको त मान्नैपर्छ’ भन्ने कुरा भयो ।

एक दिन केपी कमरेड दृष्टिको अफिसमै आउनुभयो । भित्र नछिरी ‘राजेन्द्र, तिमी यता आऊ’ भन्दै बाहिरैबाट मलाई बोलाउनुभयो । म गएँ । उभिएरै सोध्नुभयो, ‘प्रदीप कमरेडलाई तपाईंहरूले पैसा दिने गरेको हो ?’ मैले ‘हो’ भनेँ । ‘कति पैसा हो ?’, उहाँले सोध्नुभयो । मैले भनेँ, ‘७०० हो कमरेड ।’ त्यसपछि केपीले ‘अबदेखि नदिनू’ भन्नुभयो ।

यसपछि केही समय उहाँ दृष्टिमा कम आउन थाल्नुभयो, तर दृष्टि पत्रिकाको अफिसमात्रै थिएन, प्रदीप कमरेडको सम्पर्क कार्यालय जस्तै भइसकेको थियो । विस्तारै विस्तारै लेख्न पनि थाल्नुभयो । केपी कमरेड प्रचार विभागबाट अरु नै जिम्मेवारीमा गएपछि झलनाथ खनाल विभागको प्रमुख हुनुभयो । हामीले प्रदीप कमरेडलाई फेरि पैसा दिन थाल्यौं, उहाँले पनि सक्रियताका साथ लेख्ने काम गरिरहनुभयो ।

रघु पन्तको समस्या

प्रदीप कमरेड लेख्ने मान्छेलाई एकदमै माया गर्ने । यो कुरा रघु पन्तलाई दृष्टिमा लेख्न दिने कि नदिने भन्ने छलफलका क्रममा उहाँले स्पष्ट पार्नुभयो, ‘लेख्ने मान्छेलाई रोक्ने हैन ।’

पार्टीको प्रचार विभाग प्रमुख तथा दृष्टिको इञ्चार्ज झलनाथ खनाल हुनुहुुन्थ्यो । रघु चाहिँ पार्टीकै आलोचना पनि लेख्ने । दृष्टिमा नछापिए विमर्शमा भए पनि लेख्ने । त्यसैले झलनाथले बैठक बसेर माइन्युटमै लेख्न लगाउनुभयो, ‘अबदेखि दृष्टिमा रघु पन्तलाई केही पनि लेख्न नदिने ।’ एक पटक हैन, दुई-तीन पटक त्यस्तो माइन्युट लेखियो । ‘पार्टीको विरुद्धमा लेख्नेलाई किन दृष्टिमा ठाउँ दिने, बन्द गर्नुस्’, भनेर झलनाथले निर्देशन नै दिनुभयो ।

हामीले झलनाथलाई अनेक भनेर सम्झाउन खोज्यौं, मान्नुभएन । त्यसबेला रघु पन्त नेपाल पत्रकार संघ (हाल महासंघ)को महासचिव पनि हुनुहुन्थ्यो । सबै पत्रकारको नेता भएपछि सबैको साझा देखिनुपर्छ । अलिअलि आफ्नो पार्टीबारे पनि लेख्नुपर्छ भनेर उहाँलाई सम्झाउन खोज्दा ‘हैन, हैन, पर्दैन’ भन्दै अस्वीकार गर्नुभयो ।

साह्रै अप्ठेरो कुरा आएपछि हामीले प्रदीप कमरेडलाई यो कुरा भन्यौं । उहाँले कुरा सुन्नासाथ भन्नुभयो, ‘त्यस्ता कुरा छाडिदिनुस्, लेख्ने मान्छेलाई रोकेर हुँदैन, लेख्न दिनुपर्छ ।’ पार्टीले लेख्न नदिनु भन्ने, प्रदीपले दिनुपर्छ भनेपछि हामी अलि अप्ठेरोमा परेका थियौं । ‘तपाईंहरू छाप्नुस्, कसैले केही भन्यो भने म कुरा गरौंला’, यति भनेपछि रघुका लेखहरू फेरि छापिन थाले ।

सम्बन्धमा समस्या

उहाँ २०५१ सालको मङ्सिरमा सूचना तथा सञ्चार राज्यमन्त्री हुनुभयो । हामीले त्यही सालको फागुनमा दृष्टि साप्ताहिक छोडेर जनआस्था निकाल्यौं । त्यस कुरामा उहाँको साथ थियो । एउटै अनुरोध थियो, ‘बुधबारबाहेक अरु बार पार्नुस्, दृष्टिलाई असर गर्छ ।’ हामीले मानेनौं । उहाँ रिसाउनुभयो । त्यसपछि हामीलाई उहाँले लामो समयसम्म त्यति राम्रो रेस्पोन्स गर्नुभएन ।

त्यसमाथि हामी २०५४ सालको पार्टी विभाजनमा वामदेव पक्षमा भयौं । उहाँ विभाजनको घोर विरोधी, हामी विभाजन पक्षधर भएपछि यसै पनि ३६ कै आँकडा भयो । २०५८ सालमा वामदेवको पार्टी एमालेमा मिलेपछि विस्तारैविस्तारै चिसिएको सम्बन्ध सुधार हुन थाल्यो । अलिअलि गर्दै जनआस्थाको स्तम्भकारकै रूपमा उहाँलाई हामीले नियमित प्रस्तुत गर्ने मौका पायौं ।

पैसामा कडा

अन्तर्वार्ताका नाममा जस्ता पायो त्यस्तै पत्रकार आउने, जथाभावी छापिदिने क्रम बढेपछि उहाँले लेख लेखेकोमात्रै हैन, अन्तर्वार्ता लिएको पनि पारिश्रमिक लिने गर्नुभयो । एक दिन हामीसँगै काम गर्ने साथी विनोद ढुंगेलले अन्तर्वार्ताको लागि समय मिलाए । ‘लेख भए ५००, अन्तर्वार्ता भए !१००० । चाहिएको भए पैसा लिएर आउनू’ भन्दै उहाँले समय दिनुभयो । अफिसबाट जाने बेलामा हामीले विनोदलाई ३०० रूपैयाँ दिएका थियौं । शुरुमै पैसा लिनुभयो र अन्तर्वार्ता पनि दिनुभयो ।

पछि जनआस्थामा नियमित लेख लेख्नुभयो । त्यसक्रममा २०६३ सालमा गठित गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा शिक्षामन्त्री हुनुभयो । अरु बेला त पैसा चाहिन्थ्यो र लिनुभयो भन्ने लागेको थियो । मन्त्री हुँदा अभाव नहोला भनेर पैसा दिएका थिएनौं, तर भाइ समीर नेपाललाई पैसा लिन पठाउन थाल्नुभयो । एक चोटिको ५०० का दरले हामीले समीरलाई महिनाको २ हजार दिएर पठाउन थाल्यौं ।

Comments

4 responses to “जब ‘दृष्टि’मा प्रदीप नेपालको ७०० तलब र रघुजी पन्तको लेख छाप्न रोकियो…”

  1. bharat kumar thapa Avatar

    बास्तबमा यस्ता विषय आउनु पर्छ यी कुरा उही बेलादेखि नै विना पारिश्रमिक उहाँ अन्तरवार्ता दिनुहुन्न भन्ने थियो पाठक समक्ष जानकारी गराउनु भएकोमा राजेन्द्र स्थापित लाई धन्यवाद ।

  2. झाङ्क्रीको भिनाजु Avatar
    झाङ्क्रीको भिनाजु

    एमालेका टट्टूहरु ! एमाले भयेर जुनी खेर फालेका टट्टूहरु ! आयो त तिमीहरूको लेनिनवाद , स्टालिनवाद, मार्क्सवाद , कुन्नि के के जाति वाद ? ख्वासाहरु !

  3. S.R.Upreti Avatar
    S.R.Upreti

    प्रदिप नेपाल नेपाललाई माया गर्ने नेता हुनु हुन्थ्यो ।

  4. babu Avatar
    babu

    RNAC डुबाउने पदअनुसारको एउटा भ्रष्ट रबिन सायमी का दाजी किरण पनि रहेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *