एक जापानी महिला : जसलाई दुख्यो चुरेका महिलाहरूको पीडा

डोटी । ‘म पहिलो पटक चुरे गाउँपालिका–४ को गर्भा भन्ने ठाउँमा पुगेँ, त्यहाँका दिदीबहिनीहरुले भोगिरहनु परेको स्वास्थ्य समस्या सुनेर निकै भक्कानिएँ । मनमनै सोचेँ यति दुर्गम गाउँमा बस्ने महिलाहरूका लागि केही न केही त गर्न पाए हुन्थ्यो ।’

केही समय अगाडि कैलाली, चुरे गाउँकार्यापालिकाको कार्यालयमा भेटिएकी जापानी नागरिक माईको कोवायासीको अनुभव हो यो । सुरिलो स्वर, प्रष्ट नेपाली भाषा, स्वभावमा नेपालीपन, अलि भावुक र सहयोगी भाव भएकी माईकोसंग दुःख पाएका महिलाहरूका लागि केही गरौँ भन्ने हुटहुटी छ । सन २०२२ मा पहिलो पटक एउटा परियोजनाको सम्भाव्यता अध्ययन गर्न चुरे गाउँपालिकाको गर्भा पुगेकी थिइन् उनी ।

‘अढाई वर्षकी छोरीलाई पिठ्यूँमा बोकेर गर्भा पुग्न दुई अढाई घण्टाभन्दा बढी उकालो चढ्नु परेको थियो’ जीवनमै पहिलो पटक यसरी यात्रा गरेको त्यो दिन सम्झिँदै माईको भन्छिन् ‘त्यो मेरो लागि एक दिनको अनुभव मात्र थियो, तर सधैँभरि त्यही ठाउँमा बसिरहेका दिदीबहिनीहरुका लागि त जीवनभरिकै कष्ट हो भन्ने सोचेर धेरै मन दुख्यो ।’

आम्दा–माईण्ड्स नामक जापानी गैरसरकारी संस्थासँगको साझेदारीमा फाया नेपालले चुरे गाउँपालिकामा सञ्चालन गरेको ‘मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवर्द्धन परियोजना’ को सामाजिक परीक्षण कार्यशालामा उनले आफ्नो अनुभव सुनाइन् ।

‘चुरे गाउँपालिकाको दुर्गम क्षेत्रका महिलाहरूसँग कुरा गर्दा स्वास्थ्य संस्था नभएका कारण घरमै सुत्केरी हुनुपर्छ भन्ने सुने’ उनी भन्छिन् ‘स्वास्थ्य संस्था नजिक छैन, तत्काल स्वास्थ्य संस्था पुर्‍याउन यातायातको सुविधा छैन, महिलाहरूको स्वास्थ्य संस्था पुग्नु अघि नै आमा र बच्चा दुवैको ज्यान जान्छ भन्ने सुन्दा मेरो मन भक्कानिएर आयो ।’ ती दिनका अनुभव सुनाइरहँदा माईकोका आँखा रसाइरहेका थिए ।

यस क्षेत्रका महिलाहरूको स्वास्थ्य समस्या समाधान गर्न केही सकिन्छ कि भनेर सोच्न थालिन् उनी । यो समस्या समाधान गर्न केही गर्नु आफ्नो पनि जिम्मेवारी हो भन्ने लाग्यो उनलाई । ‘म आफू आमा बनेको अनुभव र छोरीलाई पिठ्यूँमा बोकेर त्यो ठाउँमा पुगेको अनुभवले मलाई थप प्रेरणा दियो’ उनी थप्छिन् ।

उनले त्यहाँको समस्यालाई विश्लेषण गरिन् : दुर्गम ठाउँमा सुरक्षित प्रसूति सुनिश्चित गर्न चिकित्सा सुविधाहरूको अभाव, गर्भावस्थामा हुन सक्ने जोखिमबारे कम जानकारी र गर्भावस्थामा हेरचाह, सुरक्षित प्रसूति र प्रसूतिपछिको सम्भावित खतराबारे तयारीको कमी । सोही आधारमा उनले तीन वर्षको परियोजना तयार गरिन् र जापान सरकार (विदेश मन्त्रालय) लाई आग्रह गरिन् । उनको परियोजना स्वीकृत भयो ।

उनले तयार गरेको परियोजनामा प्रसूति गृह सहितको स्वास्थ्य चौकीका भवन निर्माण गर्ने, स्वास्थ्यकर्मीहरूलाई तालिम दिने, समुदायमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, सुत्केरी अवस्थामा आमा र बच्चालाई सामग्रीहरू प्रदान गर्ने लगायतका विषयहरू समावेश थिए ।

जापान सरकारसँगै जापानका केही व्यक्तिहरूले व्यक्तिगत रुपमा सहयोग गरे माईकोको त्यो परियोजनालाई । माईको थप्छिन् ‘जापानमा एउटा ‘ओकायामा कूप’ नामक सहकारी संस्था छ, त्यसले पनि सहयोग ग¥यो ।’ सन् १९७४ मा स्थापना भएको सहकारी संस्था ओकायामा कूपले सन् २०२१ देखि नेपालमा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको माईको बताउँछिन् ।

सन् २००८ जुलाईमा माईको पहिलो पटक नेपाल आएकी थिइन् । मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आम्दा–माइन्ड्स्ले माईकोलाई रुपन्देहीमा सञ्चालन भएको एउटा परियोजनाको संयोजकको रूपमा खटाएको थियो । त्यसपछि नवलपरासी, काभ्रेपलाञ्चोक, धादिङ, दाङ, गोरखा र कैलालीका विभिन्न समुदायमा सञ्चालन भएका नौ वटा परियोजनामा काम गरिसकेकी माईकोले झापा, कास्की, स्याङ्जा, सोलुखुम्बु र डडेल्धुरा जिल्लाको पनि भ्रमण गरेकी छन् ।

चुरेका महिला तथा बालबालिकाहरूलाई प्रत्यक्ष फाइदा पुग्ने गरी केही गर्न पाएकोमा सन्तुष्ट छिन् माईको । उनी भन्छिन् ‘स्वास्थ्य संस्थामा सुत्केरी हुन खोजे पनि भौगोलिक विकटता र पहुँचको अभावका कारण उनीहरूले जान सकिरहेका थिएनन्, अव गर्भामा प्रसूति सेवा सहितको स्वास्थ्य संस्थाको भवन बनेको छ ।’

उनी परियोजना अन्तरगत चुरे गाउँपालिका-२ को खैरालामा पनि सुविधा सम्पन्न प्रसूति गृह सहितको भवन निर्माण भई सेवा सञ्चालन समेत भएको बताउँछिन् । घरमा बच्चा जन्माउन नसकेपछि मात्रै स्वास्थ्य संस्था जानुपर्छ भन्ने मान्यता अझै समाजमा रहेकोप्रति भने माईको चिन्ता व्यक्त गर्छिन् ।

माईकोले चुरे गाउँपालिकाको मातृ शिशु स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सहयोग गरेको बताउँछिन् चुरे गाउँपालिकाका उपाध्यक्ष धनादेवी थापा । ‘जापानमा हुर्केकी महिलाले यस्तो दुर्गम क्षेत्रमा आएर महिलाहरूमा समस्याहरू मसिनो रूपमा केलाएर समाधान हुने गरी परियोजना बनाउनु भयो’ उपाध्यक्ष थापा भन्छिन् ‘गाउँपालिकाले गर्नु पर्ने थुप्रै कामहरूमा उहाँले तयार गरेको परियोजनाले सहयोग गरिदिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *