सरकार ढल्दैन, भूमिहीनले चाँडै जग्गा पाउँछन् : एमाले महासचिव पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार ढल्ने हल्ला व्यापक रूपमा चलाइए पनि तत्काल त्यस्तो अवस्था नरहेको बताएका छन् ।

मङ्गलवारदेखि टीकापुरमा सुरु भएको भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सरकार गठन भएदेखि नै सरकार ढल्ने हल्ला फैलिएको उनको भनाइ थियो । ‘हरेक तीन महिनामा सरकार ढल्छ भन्ने हल्ला हुन्छ । तर सरकार चल्या चल्यै छ । १० महिना भइसक्यो’, उनले भने, ‘सरकार बनेदेखि ढल्छ भन्ने हल्ला सुरु भइसको थियो । तर, सरकार ढल्दैन ।’

दुई ठूला दलले बनेको सरकार बलियो रहेको भन्दै कांग्रेस र एमाले मिल्दासम्म सरकार गतिशील भइरहने उनले बताए । महासचिव पोखरेलले अस्थिरता ल्याउन सरकार ढल्ने हल्ला गरिने गरेको बताए । ‘दुई ठुला पार्टी मिलेर बनेको सरकार हो यो यी दुई पार्टी मिल्दासम्म सकैले चाहेर पनि सरकार ढल्दैन’, उनले भने, ‘सरकार ढल्छ भनेर समाजमा अस्थिरता बनाउन खोजिएको हो । देश बनाउन राजनीतिक स्थायित्व आवश्यक पर्छ ।’

विकास संवृद्धिदेखी सामाजिक न्याउको विषयमा एमालेले अगुवाइ गर्ने उनको भनाइ थियो । ‘देश र जनताको पक्षमा काम गर्ने बेला घेराबन्दी भइरहेको छ । काम गर्नेलाई काम गर्न देऊ भन्नुपर्छ ’ उनले भने । राजनीतिक स्थायित्वको लागि पाँच वर्षको लागि निर्बाध रूपमा काम गर्न दिनु पर्ने महासचिव पोखरेलको भनाइ थियो ।

नेकपा एमाले बलियो राष्ट्रिय शक्ति बनेपछि मुलुकमा स्थिरता आउने भन्दै उनले आगामी निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । महासचिव पोखरेलले भूमि समस्यालाई सम्पूर्ण ढङ्गले हल गर्ने वर्तमान सरकारको लक्ष्य रहेको बताए ।

भूमिहीन सुकुम्वासीको समस्या सदैको लागि अन्य गर्न अध्यादेश जारी गर्न खोजिएको थियो र तर, नेकपा माओवादी केन्द्रले त्यसको विरोध गरेर भूमिहीन विरुद्ध गतिविधि गरिरहेको उनको आरोप थियो । संसद्मा भूमिहीनको पक्षमा चर्का कुरा गर्ने तर समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिएको माओवादीको आफ्नो वास्तविक चरित्र उदाङ्गो भएको महासचिव पोखरेलको भनाइ थियो ।

‘माओवादी अध्यक्ष संसद्मा भूमिहीन सुकुम्वासीको पक्षमा चर्का कुरा गर्नुहुन्छ तर भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विरोध गर्नु भयो, ’ उनले भने, ‘माओवादी, एकीकृत समाजवादी पार्टी र मधेसवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।’

उनले अध्यादेश जारी भएको भए भूमिहीन समस्याको समाधान प्रक्रियामा गइसक्ने दाबी गरे । तर अब भने प्रक्रिया नरोकिने बताए । ‘अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन, ’ उनले बताए, ‘छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् ।’

पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठन भएको भूमि आयोगलाई अदालतमा मुद्दा हालेर काम गर्न नदिएको पनि बताए। उनले अब एमालेकै सरकारले भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने दाबी गरेका छन् ।

अर्को प्रसङ्गमा महासचिव पोखरेलले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताएका थिए । जनताको अधिकार स्थापना र जनचाहनाअनुसार विकास गर्न लोकतन्त्रको विकल्प नरहेको उनको भनाइ थियो ।

महासचिव पोखरेलले हाल केही व्यक्तिले लोकतन्त्रको विकल्प राजतन्त्र भनेर चर्चा गरिरहेकामा त्यो परिवर्तित समय र चेतनाको आवाज नभएको जिकिर गरे । ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । हाल जति पनि परिवर्तन भएको छ, त्यसको प्रमुख जग लोकतन्त्र नै हो’, उनको भनाइ थियो, ‘राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्ति सलबलाउन थालेका छन् । अब देश विकासका लागि स्थिरताको खाँचो छ ।’

राजनीतिक स्थिरता भएका देशले नै छिटो प्रगति हासिल गरेको उदाहरण पेस गर्दै उनले भने, ‘यहाँ स्थिर सरकार बन्न सकेको छैन । पाँच वर्षमा पाँच वटाभन्दा बढी सरकार बन्छन् । सयौँ मन्त्री हुन्छन् । हामीकहाँ पनि पाँच वर्ष एउटै पार्टी र नेतृत्वमा सरकार बन्नेको भए समृद्धिका लागि देखेका सपना पूरा गर्न सहज हुन्थ्यो ।’

महाधिवेशनमा सहभागी हुन देशभरका ६४ जिल्लाबाट करिब ६०० प्रतिनिधिहरू टिकापुर पुगेका छन् ।

उद्घाटन समारोहमा महासचिव पोखरेलसहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा जन सङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, कञ्चनपुर इन्चार्ज निरु पाल, लीला भण्डारी, केन्द्रीय सदस्य झपटबहादुर रावल, विष्णु रिजाल लगायत नेता कार्यकर्ताहरूको सहभागिता थियो । उद्घाटन सत्रमा विभिन्न जातीय तथा सामाजिक समूहको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो, ।

महाधिवेशनमा भूमि अधिकार सुनिश्चित गर्न नीति निर्माण र संशोधनमा गर्ने, सुकुम्वासी समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउने लगायतका विषयमा छलफल हुने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *