सुर्खेत । कर्णाली प्रदेशमा संघ र प्रदेश सरकारको संयुक्त लगानीमा दुई ठूला खानेपानी आयोजना अघि बढ्ने भएका छन् ।
मंगलबार संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना”अन्तर्गत लागत साझेदारी सम्झौता भएको छ ।
सम्झौतापत्रमा मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी र प्रदेश सचिव इन्द्रदेव भट्टले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सुर्खेतको वीरेन्द्रनगर र सल्यानको सारदा नगरपालिकामा सञ्चालन भइरहेका खानेपानी आयोजनाका लागि प्रदेश सरकारले आगामी चार वर्षमा ९४ करोड रुपैयाँ बजेट व्यवस्था गर्नेछ ।
यी आयोजना संघीय सरकारको ठूला लगानीमा स्थानीय तहले पाउँदै गरेका सबैभन्दा महत्वपूर्ण आयोजना मानिएका छन् ।
संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा बन्न लागेका यी योजना संघीयताको व्यवहारिक अभ्यासका रूपमा हेरिएका छन् ।
खानेपानी मन्त्री प्रदीप यादवले तीन तहका सरकारबीच समन्वय र सहकार्यमा आधारित लागत साझेदारी मोडेल कर्णालीमा प्रभावकारी रूपमा लागू भइरहेको बताएका छन् ।
उनले भने,` यो साझेदारी खानेपानी क्षेत्रमा क्षेत्रगत सुशासन प्रवद्र्धन, पूर्वाधार विस्तार र जलवायु जोखिम न्यूनीकरणमा महत्वपूर्ण हुनेछ ।
यस आयोजनाबाट सुधारिएको सुरक्षित खानेपानी र सरसफाइमा पहुँच विस्तार, संस्थागत क्षमता अभिवृद्धि, आयोजना व्यवस्थापन सुदृढीकरण, एकीकृत जलस्रोत व्यवस्थापन तथा आपतकालीन अवस्था सम्बोधनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) बीच सन् २०२२ जुलाई १३ मा यस आयोजनालाई अघि बढाउन वित्तीय सम्झौता भएको थियो ।

Leave a Reply