काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना र एक मिडिया हाउसविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले स्थानीय ठामा विद्युतको पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा पालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह, लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले सार्वजनिक खरिद ऐन विपरीत सूचना गोप्य राखी झुट्टा विवरण सहितको बिलमार्फत १ लाख ४२ हजार १६० रकम भुक्तानी गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दाबीसहित मुद्दा दायर गरिएको अयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार मिडिया हाउस र त्यसका निर्देशकलाई पनि मुख्य कसूरदार सरह कारबाही हुनुपर्ने मागसहित मुद्दा दायर भएको हो ।
बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था रहेकोमा नेपाल मिडिया हाउस प्रालिका निर्देशक नवराज निरौलासँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशन नगरी नगराई लुकाई, छिपाई फेटा गाउँपालिकाको ठेक्काको लागि मात्रै अभिलेखमा राखिएको थियो ।
उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रति मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा नेपाल मिडिया हाउस प्रालिको बिलबाट १ लाख ४२ हजार १६० भ्याट बाहेकको रकम भुक्तानी दिएको पुष्टि भएको हो ।

Leave a Reply