यूएई । ओमानले ३ महिने आममाफी (एमनेष्टी ) योजना सुरू गरेको छ । त्यहाँको सरकारले भिसाविहीन भई अवैधानिक रूपमा रहेका नेपालीसहित आप्रवासी श्रमिकलाई तीन महिने आममाफी योजना सुरू गरेको हो । ओमानको श्रम मन्त्रालयले भिसा सकिएर कानूनी हैसियतविना बसोबास गरिरहेका श्रमिकलाई जरिवाना नतिरी स्वदेश फर्किन तीन महिनाको समय दिएको छ ।
यो योजनाअनुसार स्वदेश फर्किने कसैले पनि जरिवानाबापत रकम तिर्नुनपर्ने ओमान सरकारले जनाएको छ । नेपालीका लागि तोकिएको जरिवाना शुल्क पूर्णरूपमा माफ गरिएको नेपाली दूतावास ओमानले जनाएको छ ।
नेपाली दूतावासले यो योजनाको लाभ लिन अवैधानिकरूपमा बसेका नेपालीलाई अनुरोध गरेको छ । ओमान सरकारले सुरू गरेको यो योजना २०२५ जुलाई ३१ मा अन्त्य हुने भन्दै समयभित्रै अवसरको उपयोग गर्न दूतावासले एक विज्ञप्ति जारी गर्दै अनुरोध समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘यो सूवर्ण अवसरको लाभ उठाउनु हुन ओमानमा रहनुभएका सम्बन्धित नेपाली नागरिकलाई अनुरोध गरिन्छ ।’
नेपाली नागरिकलाई स्वदेश फिर्ती प्रक्रियाको लागि नेपाली दूतावासले सहजीकरण गर्न स्वयंसेवक समेत खटाउने जनाएको छ । ओमानमा झन्डै ३० हजार नेपाली कार्यरत रहेको र त्यसमा अत्यधिक महिला रहेको आकलन छ ।
भिसाविहीन नेपालीको एकिन विवरण दूतावाससँग नभए पनि पछिल्लो समय भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिक भिसाविहीन भएर बस्ने गरेको दूतावासका अधिकारी बताउँछन् ।


Leave a Reply