चालिसेलाई ‘रामचन्द्र-इन्दु पत्रकारिता पुरस्कार’ प्रदान गरिने

काठमाडौं । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानद्वारा प्रदान गरिने ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठान शाखाका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ र सम्मान पत्र रहेको छ ।

२००८ असार २२ गते काठमाडौं जिल्लाको जोरपाटी आरुबारीमा जन्मिएका चालिसेले ०३७ सालमा उपसम्पादकका रूपमा गोरखापत्र प्रवेश गरेका थिए ।

गोरखापत्रमा लामो सेवापछि प्रधान सम्पादकबाट अवकाश भएका चालिसेले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षका रूपमा समेत योगदान पुर्‍याएका छन् । उनका पत्रकारिता, संस्कृति, साहित्य सम्बन्धी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

त्यस्तै, युवामञ्च मासिकका सम्पादक उमेशकुमार ओझालाई ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । कैलाली जिल्लाको धनगढीमा २०२९ सालमा जन्मिएका उमेशकुमार ओझाले २०५१ साल असारबाट करार सेवामा गोरखापत्र प्रवेश गरेका हुन् ।

२०५५ मङ्सिरबाट गोरखापत्रमा स्थायी सेवा प्रवेश गरेका ओझाले खेलकुद तथा अन्तर्राष्ट्रिय समाचार र स्वास्थ्य बिटलाई केन्द्रमा राखी पत्रकारितामा गर्दै आएका छन् ।

यसै गरी, दि राइजिङ नेपालका बिनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमका सपना थामीलाई ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय महासंघले गरेको छ ।

यस्तै, गोरखापत्र दैनिकका भेषराज बेल्वासे र प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारीलाई ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने महासंघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश, संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा वैशाख २४ गते राजधानीमा आयोजना हुने कार्यक्रममा सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *