काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम परम्परागतभन्दा माथि उठ्न नसकेको टिप्पणी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिनिधिसभामा छलफलमा सहभागी हुँदै उनले सत्ताधारी सांसदहरूमै नीति तथा कार्यक्रमको आशा र उत्साह नदेखिएको जिकिर गरे ।
प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम वाचन गरिरहँदा सत्तारुढ सांसदको बेन्चमा छाएको मौनताले धेरै कुरा प्रतिविम्बित गरेको छ । किन त्यो स्तरको मौनता छायो ? प्रस्तुति र प्रशंसामा टेबल नबजाएको भन्दै प्रधानमन्त्रीको दु:खेसो पनि सुनियो । सत्तासीन सांसदमा नीति तथा कार्यक्रम आशा उत्साह देखिँदैन भने किन र कसका लागि ल्याइएको हो ?’
नीति कार्यक्रममा राष्ट्रिय महत्वका पक्षलाई बिर्सिएको, अर्थतन्त्रको मेरुदण्डका जलस्रोत वन, सामाजिक न्याय नपरेको उनको भनाइ छ ।
‘देशलाई कहाँ लैजान खोजिरहेको छ, विगत वर्तमानको सामान्य समीक्षा नगरी छलफल नगरी अमूर्त अव्यवहारिक र औपचारिकतामात्र ल्याइयो’, दाहालले भने ।
प्रचण्डले दुईतिहाइको अहंकार बोकेर सरकार कुशासनको घोडामा कुदिरहेको आरोप लगाए । सरकार स्वार्थ समूहबाट मात्र चलेको भन्दै उनले आलोचना गर्नेको मुख थुन्ने, प्रतिशोध साँध्नेमात्र देखिएको दोहोर्याए ।

Leave a Reply