नवराज विकका बुवाले भने- न्यायाधीशलाई कारबाही नगरेसम्म माइतीघर छोड्दैनौं

काठमाडौं । सोती घटनामा मारिएका नवराज विकसहित ६ जनाका आमाबुवा तीन दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

गत वैशाख १५ गते उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले गरेको फैसलामा असन्तुष्टि जनाउँदै उनीहरु धर्नामा बसेका हुन् ।

उच्च अदालतले सोती हत्याकाण्डका सम्वन्धमा जिल्ला अदालत रुकुमले गरेको सजायलाई सदर गरेको थियो । तर, जातीय विभेदको मुद्दामा आरोपीहरुलाई सफाइ दिएपछि मृतकका परिवारले फैसला चित्त बुझाएका छैनन् । फैसला गर्ने न्यायाधीशलाई कारबाही गर्नुपर्ने भन्दै उनीहरु धर्ना बसिरहेका छन् । धर्नाको नेतृत्व भने दलित अभियन्ता खगेन्द्र सुनारे गरेका छन् ।

सोती हत्याकाण्डमा नवराज विक र उनका साथीहरु सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो । नवराजका बुबाले न्यायाधीशमाथि कारवाही नभएसम्म माइतघर नछाड्ने बताए ।

उनले भने, ‘यदि मेरो छोरो दलित नभएर बाहुन, क्षेत्री, ठकुरी भइदिएको भए त त्यो केटी बिहे गरेर मेरो घरमा आएर बस्थ्यो होला नि । दलित भएकै कारण ६ जना मार्ने र १२–१२ जना घाइते भएका छन् । अनि जातीय विभेद भएन भनेर सफाइ किन दिइयो ? यो फैसला गर्ने न्यायाधीशलाई इजलासमा नै बस्न नपाउने गरी निलम्बन गर्नुपर्छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *