ग्लोबल आईएमई बैंकद्वारा एआई-एमएल ह्याकाथन सम्पन्न

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।

यस प्रतियोगितामा २१ टोलीहरूलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरू काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।

टीम क्याल्कुलुसले प्रथम पुरस्कार स्वरूप १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टीम जनकपुर, फ्रडेक्स टोलीहरूले क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कार पुरस्कार प्राप्त गरेका छन् । ती टीमले क्रमश: ७५ हजार, ५० हजार, १५-१५ हजार प्राप्त गरेका छन् । साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।

विजेता टोलीहरूलाई प्रमुख अतिथि डेपुटी गभर्नर बमबहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।

नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा मिश्रले आयोजकलाई धन्यवाद दिए । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नविनतम् प्रविधीको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधानको लागि सहयोग पुग्नुका साथै नवीनतम् सेवाको विकासमा सहयोग पुग्ने विश्वास जनाए ।

बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नवीनतम् धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरूले बैंकको वेबसाइटमार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *