वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका छन् ।

शनिवार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उनले पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्त्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्वराजा नागरिक हुन् । यदि उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन्,’ पोखरेलले भने ।

पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यको सन्दर्भमा व्यङ्ग्यात्मक शैलीमा भने, ‘कांग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियमजस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौँ । तर, प्रतिस्पर्धा बिर्सिन्नौ ।’ उनले सहकार्य र प्रतिस्पर्धा दुबैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताए ।

पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको दाबी गरे । ‘पञ्चायतमा २५ हजार किलोमिटर सडक थियो । अहिले १ लाख १० हजार किलोमिटर पुग्यो । शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ । जनतालाई तथ्यका आधारमा बुझाउनु अहिलेको प्रमुख कार्य हो,’ पोखरेलले भने ।

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज जुली कुमारी महतो, उमाशंकर अरगरीया, हरिनारायण महतोलगायत नेताहरूको उपस्थिति रहेको थियो । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।

Comments

2 responses to “वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    अनि त्यो रघु पन्त भन्ने त अनिर्वाचित सांसद हो नि, मन्त्रि पनि भयो क्यारे। त्यो सिटौला पनि हारेकै मान्छे हो, त्यसलाइ पनि जबरजस्ति राष्ट्रिय सभामा ल्याउने कारण चाही के थियो? निर्वाचनमा बिश्वास भए समानुपातित सासंद हटाउ ढोंगीहो। सुवास नेम्वांग को छोरालाइ पनि त तिमीहरूले नै टिकट दियौ। उत्तर कोरियाली राजत्नत्र लाइ समरथन गर्नेमा तीमीहरू अगाडी नै छौ त ।

    1. Nick Kashyap Avatar
      Nick Kashyap

      अझ बिकासको कुरो गर्ने हो ऋने यहा हरेक बिकास आयोजनामा थाहा नपाएका भ्रष्टाचार कति छ कति। जनताका नाममा ऋण लिएर आयोजना ल्याउने अनि भ्रष्टाचार गरेर छतको ट्यांकीमा लुकाउने। पलेन लेयाउदा पनि लुटेकै छौ, एअरपोर्ट बनाउदा पनि लुटेकै छौ। २०४६ पछि भारत र चिनको तुलनामा हाम्रो बिकास कहॅा पुग्यो त्यो भन् पहिला, हाम्रो आय भारत र चीन को तुलनामा धेरै भयो कि भएन त्यो भन , बजेट घाटा कतिले बड्यो त्यो भन्। परनिर्भरता कति बड्यो त्यसको डाटा खोजेर लिएर आइज। खाडीमा गएर मजदूरी गरेन भने यहा भोकमरी आउछ, खाना किन्न नसकेर। जनता नझुक्क्याउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *