मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण तथा शिक्षामा समान अवसर सुनिश्चित:मुख्यमन्त्री आचार्य

रूपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायकाे सरकारी सेवामा प्रवेशकालागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेकाे बताए ।

नेपाल मुस्लिम इत्तेहाद संगठनकाे सातौँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन कार्यक्रमलाई शनिबार बाँकेमा सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले उपलब्ध अवसरहरूकाे सदुपयोगमा ध्यान दिन आग्रह गरे ।

प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायकाे ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उनले ती अवसरहरूकाे पूर्ण सदुपयोगका लागि अपिल गरे ।`मुस्लिम समुदायकाे सरकारी सेवामा प्रवेशका लागि अधिकारकाे सुनिश्चितता गरेका छौँ । प्रदेश सरकारले लोक सेवामा ७ प्रतिशत आरक्षणकाे व्यवस्था गरेको छ´उनले भने-`यो अवसर सदुपयोगका लागि शिक्षामा ध्यान दिन जरुरी छ । छोरा छोरीलाई बराबरी अवसर दिन जरुरी छ । यसका लागि परिवारबाट नै सुधार गर्न जरुरी छ ।´

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिँदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय भएको बताए ।`प्रदेश सरकारले शिक्षामा पहुँच बढाउन मदरसाहरूको सुधारमा लगानी गरेको छ । महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छ´ उनले भने-`छोरीहरूलाई विद्यालय पठाउन जरुरी छ । छोरा छोरीलाई बराबरी महत्व दिएर शिक्षामा अवसर दिनुपर्छ ।´

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणकाे दर उच्च रहेको र यी समस्या मुस्लिम तथा पिछडिएको समुदायमा बढी देखिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि सरकारले थालनी गरेका अभियानहरूमा सहभागिताको आह्वान गरे । `के कारणले यस्तो अवस्था आयो, कारण बुझ्न जरुरी छ´उनले भने-`बाल विवाहलाई निरुत्साहित गर्न जरुरी छ । यसमा मुस्लिम समुदायका नेतृत्व बढी जिम्मेवार भएर ध्यान दिन जरुरी छ ।´

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *