रुपन्देही । यू-१६ प्रदेशस्तरीय क्रिकेट टीम छनोटका लागि रुपन्देही जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबारदेखि जिल्लास्तरीय टीम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धीरज अधिकारी क्षेत्रीले जानकारी दिए ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)को कार्यक्रमअनुसार यही जुन महिनामा ‘एसीसी पुरुष यू-१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट संघले आउँदा जेठ दोस्रो सातादेखि यू-१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दैछ । त्यसका लागि भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो ।
क्षेत्रीका अनुसार सार्वजनिक सूचना आह्वानपछि यू-१६ का १२४ खेलाडी छनोट खेलमा सहभागी छन् । यी खेलाडीहरुबाट उत्कृष्ट छनोट गरी ४ टीम बनाई मंगलबारदेखि प्रतिस्पर्धा गराइने छ ।
प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर रुपन्देही जिल्लास्तरीय टीम बनाइने क्षेत्रीले बताए । खेलाडीहरुलाई प्रशिक्षक शंकर राना, दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिनेछन् ।
प्रशिक्षक रानाले रुपन्देही क्रिकेटको उर्बरभूमि रहेकाले छनोट खेलमा सहभागिता राम्रो भएको बताए । धेरै खेलाडीहरु सहभागी भएकाले आफूहरुको प्रयास राम्रो गर्नेहरुलाई टीममा राख्ने भएको उनको भनाइ छ ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार जिल्लाका विभिन्न एकेडेमी र विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरु टीममा समावेश हुन प्रतिस्पर्धामा छन् । संघले सञ्चालन गरेको रुपन्देही क्रिकेट एकेडेमी र सिद्धार्थ क्रिकेट मैदानमा खेलाडीहरुलाई स्पर्धा गराइने उनले बताए ।

Leave a Reply