श्रमको सम्मानले नै खुल्छ समृद्धिको ढोका

हरेक वर्ष आउँछ, मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा महसुस हुन्छ श्रम र श्रमिकको महत्व । सबैले ठूल्ठूला समारोह, गोष्ठी सेमिनारमा सुन्दर र मीठा शब्दमा भाषण दिने प्रचलन नौलो होइन । त्यस्तै मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आउँदा पनि उही क्रम दोहोरिन्छ । महिला श्रमिक दिवसको इतिहास ११५ वर्ष र श्रमिक दिवसको १३६ वर्षको इतिहास बनिसक्यो ।

यो अवधिमा नेपालमा कानूनको आधारमा हेर्दा वा औपचारिक क्षेत्र र सभासमारोमा हेर्दा धेरै उपलब्धि भएका छन् । भाषण बदलिएका छन्, तर भाषण र कानूनअनुसार चिन्तन, सोच र व्यवहार बदलिएका छैनन् । झन् हिंसाका रूप बदलिएका छैनन् । देखिने घाउका ठाउँमा अनगिन्ती नदेखिने मनका घाउ लागिरहेका छन् । अपमान र पीडा सहन र देखाउन नमिलेर अमूल्य जीवन बर्बाद भएका थुप्रै घटना छन् । दिवसहरूको सेरोफेरो पारेर भाषण र कार्यक्रमको चुनौती दिँदै हिंसाका घटनाहरू बाहिरिएको पनि देखिन्छन् र सुनिन्छन् । महिला हिंसा र श्रमिकले भोग्नुपरेका असमानता अभाव, अपमान, असुरक्षित जीवन पनि उत्तिकै छन् ।

अर्कातिर सधैं अभावैअभाव, तर जसले काम गरेको देखिँदैन । उसैको ऐसआराम, मनोरञ्जनमा रमाएको हुन्छ । त्यसैको महल, गाडी, फुर्ती सबै देखिन्छ । कसैको जीवनको आधार श्रम, पसिना, रगत र अङ्गबाहेक बेच्ने केही हुँदैन, त्यतिबेला थाहा हुन्छ वास्तविक जीवन के हो भन्ने !

मानव जीवनलाई हेर्ने र बुझ्ने विभिन्न दर्शन छन् । जीवन सङ्घर्ष हो, भोगाइ हो । जीवन अनुभवको संगालो हो । जीवन प्रकृतिको सुन्दर उपहार र एक अवसर पनि हो । जीवन दर्शनलाई बुझ्न सके श्रम गरेर सार्थक बनाउन पनि सकिन्छ । मानव जीवनले पाएका कर्मेन्द्रियले सही काम गर्ने र ज्ञानेन्द्रियलाई सही प्रयोग गर्न सके जीवन सार्थक बन्न पनि सक्छ । पाखुरी बजाएर वा दश नङ्ग्रा खियाएर खाने व्यक्ति वास्तवमा दुःखी होइन । श्रमको बलले आफू पालिन्छ र अरुलाई पनि पालेको हुन्छ । इमानदार, श्रमशील र मेहनती मान्छेलाई भोको बस्न पर्दैन ।

मानव जीवनले पाएका कर्मेन्द्रियले सही काम गर्ने र ज्ञानेन्द्रियलाई सही प्रयोग गर्न सके जीवन सार्थक बन्न पनि सक्छ । पाखुरी बजाएर वा दश नङ्ग्रा खियाएर खाने व्यक्ति वास्तवमा दुःखी होइन ।

श्रमिक दिवस श्रम गरेर खाने व्यक्तिहरूको दिन हो । भनिन्छ श्रमको सम्मानले नै समृद्धिको ढोका खोल्छ । पहिले शारीरिक श्रम गर्नेलाई श्रमिक भनिन्थ्यो । अहिले शारीरिक, मानसिक, सामाजिक श्रम गर्ने पनि श्रमिकको परिभाषामा समेटिएको छ । श्रमका प्रकारहरू छन्– शारीरिक श्रम, मानसिक श्रम र सामाजिक श्रम । कसैले पाखुरीको बल र पसिना बगाउँछ भने कोही मानसिक श्रम बुद्धि र विवेक लगाएर ज्यान पाल्छ र आफूमात्र होइन समाजलाई पनि अगुवाइ गरेको हुन्छ । भाग्यमा होइन, कर्ममा विश्वास गर्न सिकाउँछ । श्रमको महत्व बुझाउँछ । श्रमको महत्व बुझ्न सके व्यक्ति, परिवार, समाज र राष्ट्रको पनि उन्नति हुन्छ ।

समाजको व्यवस्था, अवस्था, सभ्यता, मर्यादा, भविष्य सबै परिवर्तन गर्न विवेकशील श्रमले मद्दत गरेको हुन्छ । श्रम गर्ने जाँगरिलो बानी, सीप, विवेक भए सीमित समय, स्रोतसाधनको उपयोग गरेर पनि भविष्य बदल्न सक्छ । आफ्नो जीवनमात्र होइन परिवार, आफन्त र समाजलाई नै उन्नतिको बाटोमा दोहो¥याउन सकिन्छ । पाखुरीमा बल, मनमा आँट, व्यवहारमा इमानदारिता र अनुशासन, जोशलाई होस र विवेकले चलाउँदा स्वतः त्यो व्यक्ति अरुको लागि प्रेरणादायी बन्नसक्छ । त्यसैले श्रम गर्ने बानी र श्रमजीवीलाई सम्मान गर्नुपर्दछ । श्रम गर्ने बानीले नै आफूलाई क्रियाशील र स्वस्थ रहन मद्दत गर्छ ।

श्रमका फाइदा: आर्थिक समृद्धि, सामाजिक विकास, व्यक्तिगत प्रगति सक्षमताको विकास

विभिन्न पेशा, व्यवसाय, जागिरमा लागेका मानिसका आआफ्ना पेशागत विशिष्टता हासिल गरेका हुन्छन् । त्यही विशिष्टताका आधारमा कार्य विभाजन हुन्छ- पेशागत श्रम विभाजन, सरल श्रम विभाजन र जटिल श्रम विभाजन । क्षेत्रगत विशिष्टताका आधारमा श्रम विभाजनका फाइदा-

  • आफूलाई तोकिएको कामको जिम्मेवारी बहन र कार्यसम्पादन ।
  • कामको प्रकृतिअनुसार सीप हासिल गर्न सकिने ।
  • एउटै काम गर्दा समय व्यवस्थापन गर्न मिल्ने ।
  • काम समयमा काममा अभ्यस्त हुने र परिणाम निकाल्न सजिलो हुने ।
  • तोकिएको काम सकेर अन्य काममा सहभागी हुन पाइने ।
  • कामको जिम्मेवारी बढ्ने र गुणात्मक काम हुने र कामदारको कुशलता पनि बढ्ने ।

पहिले शारीरिक श्रम गर्नेलाई श्रमिक भनिन्थ्यो । अहिले शारीरिक, मानसिक, सामाजिक श्रम गर्ने पनि श्रमिकको परिभाषामा समेटिएको छ । श्रमका प्रकारहरू छन्- शारीरिक श्रम, मानसिक श्रम र सामाजिक श्रम ।

विभिन्न अर्थशास्त्रीहरूको विचारमा आपसमा कार्य विभाजनअनुसार काम हुँदा व्यक्तिगत र देशको समृद्धिको लागि पुँजी निर्माण र उपयोग गर्न सकिन्छ । व्यक्ति स्वतन्त्र र अनुशासित दुवै हुनसके प्रतिफल राम्रो आउने देखिन्छ । स्वतन्त्र बजारमा प्रतिस्पर्धाबाट व्यावसायिक सफलता मिल्ने र व्यक्ति र राज्य दुवैलाई फाइदा हुन्छ । विश्व श्रमिक आन्दोलनको पृष्ठभूमि र नेपालमा श्रमिक अधिकारलाई दस्तावेजीकरण गर्न हाम्रा अग्रज अभियन्ताको रगत, पसिना, सङ्घर्ष, अपमान, जेलनेल सबै भोगेर यो अवस्थासम्म आएको हो । अग्रजको योगदान कदापि भुल्नुहुँदैन ।

नेपालमा श्रमिक कानूनलाई हेर्दा श्रम ऐन २०४८, श्रम ऐन संशोधन २०७४, नियमावली २०७५, श्रम ऐन २०७८, श्रम ऐन २०८१ र श्रम अदालत नियमावली २०८० सम्म आइपुग्ने बाटो त्यति सहज थिएन । अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि छ । मन्त्रालयमा विभिन्न विभागहरूमा कार्यविभाजन पनि छ, तर नेपाली श्रमिकका कथाव्यथा पनि उत्तिकै छन् । नेपालमा सजिलै पाइने रोजगारी कृषि हो । परम्परागत कृषिमा नयाँ पुस्ता जोडिन सकेका छैनन् । आकर्षित गर्ने नीति, कार्यक्रम र बजेटको पर्खाइमा नेपाली जनता छन् । पछिल्लो समयमा विकास गाउँमा पुग्यो । मानिस शहर पुग्यो । कृषिभूमि बाँझो छ । नयाँ पुस्ता बाउबाजेको पेशा गर्न तयार छैनन् । कृषिजन्य वस्तु बाहिरबाट ल्याउनुपर्ने छ । यो नेपाल र नेपालीको विडम्बना हो ।

संविधानअनुसार तीन तहको सरकारमध्ये संघले नीति, कार्यक्रम र कानून समयमा दिने, प्रदेशले भूगोलको आवश्यकता र सम्भाव्यता अध्ययन गरेर कार्यक्रम दिने र स्थानीय तहले आफ्नो भूगोलभित्रको उर्बर जमिन, स्रोतसाधन, जनशक्ति उत्पादन, परिचालन गर्नुपर्ने देखिन्छ ।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको ‘आफ्नो गाउँ, आफै बनाऔं’ भन्ने नारालाई समाएर स्थानीय तहले आफ्नो भूगोलको योजना आफैं बनाउने र सबै जनतालाई सीपअनुसारको काम दिन सक्नुपर्छ । कृषिमा लगानी बढाउन, उत्पादनमा आत्मनिर्भर बनाउन सबैले आफू सक्दो श्रम, काम र सेवा गर्नैपर्छ । श्रममा जुट्नेलाई सम्मान, आदर भाव र जीविकोपार्जन हुनसक्ने पारिश्रमिकको व्यवस्था हुनैपर्छ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूको पहिचान र पञ्जीकरण गरी सामाजिक सुरक्षा सुनिश्चित भएमा धेरै श्रमिक महिलाको भविष्य सुरक्षित हुन्छ । यसको लागि संविधान प्रदत्त अधिकारको लागि आवश्यक कानून र बजेटको व्यवस्था गर्नु नै दिवस मनाउनु र मीठा चिल्ला भाषण गर्नुको औचित्य रहनेछ ।

आफ्नो जीवनमात्र होइन परिवार, आफन्त र समाजलाई नै उन्नतिको बाटोमा दोहोर्‍याउन सकिन्छ । पाखुरीमा बल, मनमा आँट, व्यवहारमा इमानदारिता र अनुशासन, जोशलाई होस र विवेकले चलाउँदा स्वतः त्यो व्यक्ति अरुको लागि प्रेरणादायी बन्नसक्छ ।

श्रम गर्ने सबै वर्ग, समुदाय, क्षेत्रको सम्मान गर्नैपर्थ्यो । त्यसभित्रको महिला श्रमिकको अवस्था अझ दर्दनाक छ । जीविकोपार्जनको लागि धेरै अनौपचारिक श्रम क्षेत्रमा काम गर्न बाध्य छन् । घर, बालबच्चा, परिवार, समाजको चिन्तन त्यसैमा आफ्नै जीवनसाथी बुझ्ने परिदिएन भने कति कष्टसाथ सन्तानको भविष्यको लागि आमा श्रमिकहरू जस्तोसुकै जोखिम उठाएर काम गर्न बाध्य छन् । सरकारले यी पौरखी आमा, दिदी, भाउजूहरूको मर्म र भूमिकाको कदर गर्न सिक्नु र जान्नुपर्छ । तबमात्र राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा सफल हुनेछ ।

नेपाली कृषक, घरेलु श्रमिक, निर्माणको काम गर्ने श्रमिकको पनि स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षा कोषमा जोडिने व्यवस्था हुन जरुरी छ । स्थानीय तहले आफ्नो भूगोलभित्र भौतिक विकाससँगै मानवीय संसाधन विकास, दक्ष जनशक्ति उत्पादन योजना, व्यवस्थापन, रोजगारीका उपायहरूको खोजीमा लाग्नुपर्छ । भौतिक विकास गाउँगाउँमा पुगेको छ, तर जग्गा बाँझो राखेर युवा जति पलायन एवं शहरमुखी बन्दै जानु भनेको गाउँको शिक्षा, स्वास्थ्य, रोजगार तथा श्रमको सम्मान नहुनु नै हो ।

आफ्नो भूगोलमा ठेकेदारहरूले अन्य देश क्षेत्रका श्रमिक ल्याउने स्थानीय जनता अन्यत्र काम खोज्नुपर्ने बाध्यता देखिएको छ । आफूसँग भएको ज्ञान, सीप, श्रम सबै आफ्नै क्षेत्रमा लगाउनु जीविकोपार्जनसँगै मातृभूमिको सेवा पनि हुन्छ भन्ने सकारात्मक भावनाको विकास हुन जरुरी छ । आफ्नो टोल, गाउँको सरसफाइ, विकास, सामाजिक सम्बन्ध र सद्भाव वृद्धि गर्न सरकारले पनि उपयुक्त वातावरण दिन सक्नुपर्छ । हरेक कुरा केन्द्र सरकारको मुख ताक्नुपर्ने हुँदैन । आफ्नो स्रोतसाधनको पहिचान, संरक्षण र उपयोग गर्ने, नियमअनुसार राज्यलाई कर तिर्ने, भ्रष्टाचार रोक्ने उद्देश्यले योजनाबद्ध रूपमा अघि बढ्ने भिजनसहितको स्थानीय टीम भए देशको आफ्नै भूगोल र देशको अर्थतन्त्र अघि बढ्न धेरै समय कुर्नु नै पर्दैन ।

भौतिक विकास गाउँगाउँमा पुगेको छ, तर जग्गा बाँझो राखेर युवा जति पलायन एवं शहरमुखी बन्दै जानु भनेको गाउँको शिक्षा, स्वास्थ्य, रोजगार तथा श्रमको सम्मान नहुनु नै हो ।

सार्वजनिक जिम्मेवारी पाउने वा पाएको व्यक्ति वा समूहको जीवनदर्शन, भिजन, जनताप्रतिको इमानदारी, आर्थिक, सामाजिक, नैतिक अनुशासन पालना गर्न सकेको भए यत्रायत्रा काण्डले देश अलमलिने नै पर्दैनथ्यो । आफू सत्तामा हुँदा आँखा कस्ता काममा समय बिताएको छु भन्ने नदेख्ने सत्ता बाहिर गएपछि आफ्नो गल्ती लुकाउन स्पष्ट भिजन र योजनासहित अघि बढेको सरकारको विरुद्धमा जनतालाई भ्रम पार्ने, सद्भाव भड्काउने, शान्ति सुरक्षामा खलल दिने, विषयान्तर गरीगरी अलमल्याउने र जनतामा अलमल, अशान्ति, असन्तुष्टि पैदा गर्नु भनेको राज्यको हित होइन । देशमा कानूनी राज्य बनेको देख्न नचाहने प्रतिगामी विचार र तत्व मौलाउनु हो ।

नेपालमा अहिले यस्तै गतिविधि मौलाउँदै गएको देखिन्छ । सामाजिक सञ्जाल हेर्दा राम्रो, आशालाग्दो, सकारात्मक सन्देश दिने खालका भन्दा खाली नकारात्मक, एकले अर्कोलाई सिध्याउने मनसायका सामग्रीमात्र देखिन थालेका छन् । राम्रा र जनहितका प्रयासहरू लुकेका छन् । बौद्धिक वर्गको सैद्धान्तिक, वैचारिक बहस हराउन थालेका छन् । समाजको बुद्धिजीवी वर्गको आवाज र कलम निरन्तर चल्ने र तिखारिनुपर्ने देखिन्छ । तीनै तहको सत्ता सञ्चालनमा हुनेहरूमा सत्ता, शक्ति, स्रोतसाधनको पहुँच बाहिर ठूलो संख्यामा सक्षम र बौद्धिक जनशक्ति पनि छ भन्ने हेक्का पनि राखेर काम गर्दै जानु बुद्धिमानी हुनेछ । राज्यमा संकट आउँदा सतिसाल बनेर जोगाउने शक्ति त्यही नै हो । अवसरको पछाडि भौतारिने जमातबाट मात्र राज्यको अस्तित्व र स्वाभिमान जोगाउन सकिँदैन ।

अहिलेको सरकार देशमा राजनीतिक स्थिरता, आर्थिक अवस्था, नेपाल र नेपालीको स्वाभिमान, राष्ट्रिय सुरक्षा र एकता, वैदेशिक सम्बन्ध र छवि जोगाउने उद्देश्यमा छ । कानून निर्माणको क्रममा छ । कानून निर्माण र कार्यान्वयनमा प्रभावकारिता, निष्पक्षता र पारदर्शिता ल्याउन सकेमात्र नेपाली जनता र श्रमिकहरूको आन्दोलनले सार्थकता पाउनेछ । सुन्दर नारा कार्यान्वन गर्ने सपना, भिजन, स्रोत र प्रभावकारी कार्यान्वयनको खाँचो छ । यस्तो परिस्थितिमा राज्यको जिम्मा लिएका तीनै तहको नेतृत्व जिम्मेवार भई सजग रहेर काम गर्दै जानुपर्छ । राम्रोलाई राम्रो भन्ने र गल्तीलाई सुधार गर्ने सुझावलाई सहज रूपले स्वीकार्ने बानीको विकास पनि हुन जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *