सिन्धुपाल्चोक । एमाले जुगल गाउँपालिकाको पार्टी उपमहासचिव एवं सञ्चारमन्त्री पुथ्वीसुब्बा गुरुङले चैत २७ गते उद्घाटन गरे । उद्घाटनसत्र भव्य रूपमा गरिएको अधिवेशनमा नेतृत्व चुन्न आएका प्रतिनिधिहरूलाई त्यही दिन घर पठाइयो ।
प्रतिनिधिहरूलाई घरमा पठाएर सिधै अध्यक्ष मण्डलले मनोनयनको सूचना निकाल्यो । तीनजनाको उम्मेदवारी परेपछि सहमतिबाट टुंग्याउने भन्दै अनिश्चितकालका लागि र सहमतिबाट नेतृत्व छान्ने भन्दै सूचना टाँसेर बन्द सत्र स्थगित गरियो । ३ साता बित्दासम्म नेतृत्व छनौट भएको छैन ।
बागमती इन्चार्ज राजन भट्टराईले चैत २८ गते उद्घाटन गरेको बाह्रबिसे नगरपालिकाको अधिवेशनको व्यथा पनि उस्तै छ । सहमति गर्ने भन्दै बन्द सत्र नभई स्थगित गरिएकोमा हालसम्म कमिटी बन्न सकेको छैन ।
बन्दसत्रबाट नेतृत्व चुन्ने अधिकार कुण्ठित गरेको भन्दै प्रतिस्पर्धा निषेध गरेर केन्द्र र जिल्लाका नेताले हस्तक्षेप गरेको जुगल गाउँ कमिटीमा अध्यक्षका प्रत्यासी जेपी सिलवालको टिप्पणी छ ।
माघ ४ गते उद्घाटन गरिएको हेलम्बु गाउँपालिकाको कमिटी पनि अधिवेशन उद्घाटन (माघ ४) को २ महिनापछि मात्र ‘माथि’ बाटै नेतृत्व टुंग्याइयो । वैशाख ४ गते अध्यक्ष मण्डलले सरोज गजुरेललाई अध्यक्षमा छनोट गरेको थियो । यहाँ पनि प्रतिनिधिको अधिकार कुण्ठित गरेको भन्दै आलोचना बढेको छ ।
गजुरेलले सम्पर्क विभागबाट केहि महिनाअघि मात्र भूगोलमा सदस्यता सरुवा ल्याएका थिए । उनले सरुवा भएर आएपछिको कमिटीमा आवद्ध हुने विधानले तोकेको अवधि नै मिचेको एक नेता बताउँछन् ।
लिसंखुपाखर गाउँपालिका कमिटीमा पनि सदस्यहरू सर्वसम्मत छानिए पनि झण्डै २ महिनापछि जिल्ला र केन्द्रीय नेतृत्वले अध्यक्षलगायत पदाधिकारी छनोट गर्यो ।
चौतारा साँगाचोकगढी नगर कमिटीमा एक महिनापछि नेतृत्व छानियो । नेताहरूको हस्तक्षेपका कारण कमिटी चयन विलम्ब हुँदा यहाँका केही कार्यकर्ता माओवादीमा प्रवेश गरे ।
‘वडा कमिटीका अध्यक्षलगायतका जिम्मेवार र सक्रिय कार्यकर्ताले तेतृत्वको असक्षमताका कारण पार्टी नै छाड्नुपर्ने अवस्था आयो । नेताहरू राम्रो भन्दा पनि हाम्रो ल्याउने ध्याउन्नमा लागेकाले यो अवस्था आयो’, साँगाचोकगढीका एक नेता सुनाउँछन् ।
पालिकाका अधिवेशनमा जिल्ला र केन्द्रका नेता हावी हुँदा जिल्लामा जरा अभियान प्रभावकारी बन्न नसकेको बागमती प्रदेश कमिटी सदस्य निमफुञ्जो शेर्पा बताउँछन् ।
‘पार्टीका नेताहरूलाई कारबाहीको धम्की दिने, अपमान गर्नेलगायतका गतिविधि भइरहेको छ, यस्तै अवस्था हो भने मिसन २०८४ मा सिन्धुपाल्चोकको अवस्था गम्भीर हुन्छ’, शेर्पाले भने ।
एक वर्षमा ३ वटामात्र बैठक : सचिवालय र विभाग नै छैन
सिन्धुपाल्चोक एमालेको अधिवेशन एक वर्षअघि सकिएको थियो । यो अवधिमा ३ पटकमात्रै बैठक बसेको छ । शपथग्रहणको दिन पहिलो र त्यसपछि २ वटा बैठक बसेको सचिव कृष्णगोपाल तामाङ बताउँछन् ।
तर, अहिलेसम्म जिल्ला कमिटीले सचिवालय र कुनै विभाग बनाउन सकेको छैन । जसका कारण नेता-कार्यकर्ता जिम्मेवारीविहीन छन् । चुनावमा हारेकालाई ‘जस्केला’ बाट मनोनीत गरेर सचिवालयमा आफ्नो पकड जमाउने ध्याउन्नमा रहेको आरोप छ ।
केन्द्रमा रहेका यहाँका नेता शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य दावा तामाङहरूको जिल्ला पार्टीमा सुनुवाइ हुन छाडेको एक नेताको दाबी छ ।
सिन्धु एमालेको निर्णयमा केन्द्रीय सदस्यहरू सरेश नेपाल, सुवास कर्माचार्य, जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ, बागमती सदस्य अशोक चौलागाई, हस्त पण्डित, बालकृष्ण देउजा हावी भइरहेको निमफुञ्जो टिप्पणी गर्छन् ।
जिल्ला कमिटी सचिव तामाङ नेतृत्व छनोट आवश्यकताको आधारमा कहिले चुनाव त कहिले सहमतिबाट हुने गरेको तर्क गर्छन् ।
‘हामीले जिल्ला अधिवेशन चुनावी प्रक्रिया मार्फत छनोट गरेका थियौं, केही पालिका अधिवेशनमा सर्वसम्मत गरिएको छ । सहमतीय प्रणालीबाट चुन्दा प्रतिस्पर्धा निषेध भन्न हुँदैन’, तामाङले नेपाल प्रेससँग भने ।
होमनारायण भन्छन्- नेताहरूले हस्तक्षेप गरेको छैन

जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ अधिवेशनहरूमा नेतृत्व चयनमा प्रतिस्पर्धामा नरोकेको बताउँछन् । उनले प्रक्रियागत रूपमा नेतृत्व चयन गर्न कुनै समस्या नभएको बताए ।
श्रेष्ठले नेपाल प्रेससँग भने, ‘केही छलफल गर्न र वातावरण बनाउनको लागि हप्तादिन ढिलो हुनसक्छ । प्रतिनिधिहरूबाट अनुमोदन भएर नै नेतृत्व चयन हुन्छ ।’
नेतृत्व चयनको लागि जुगल गाउँपालिकाको बन्द सत्र यही २० गतेलाई आह्वान गरिसकेको उनले बताए । श्रेष्ठले बन्द सत्र रोकेर नेताहरूले अनुकूलको कमिटी बनाउन खोजेको आफूमाथिको आरोप अस्वीकार गरे ।
श्रेष्ठले थपे, ‘प्रतिनिधिहरूको सहभागितामै सर्वसम्मत, नभए मतमतान्तर गरेर नै नेतृत्व गर्नको लागि बोलाइएको छ । पालिका अधिवेशनमा जिल्ला अध्यक्षको भूमिका हुँदैन । स्थानीय नेताहरूबीच केही बहसको विषय बने आवश्यकताअनुसार समन्वय गरिदिने मात्रै हो । अन्तिम फैसला अधिवेशनका प्रतिनिधिहरूले नै गर्छन् ।’
उनले बाह्रबिसेमा पनि आवश्यक छलफलपछि आयोजक कमिटीले प्रतिनिधि बोलाएरै नेतृत्व चयन गर्ने जिकिर गरे ।
श्रेष्ठले सचिवालय गठन नहुँदा पार्टीको काममा कुनै असर नपरेको दाबी गरेका छन् ।
‘सचिवालय भनेको आवश्यकताअनुसार गठन गर्ने हो । पार्टीको काम रोकिएको छैन । पालिका अधिवेशन पनि सकिसकेका छौँ । बाह्रबिसेका ७ वडाबाहेक ९५ वडाको अधिवेशनहरू पनि सकिसकेका छौँ । १०३ वडामै नेताहरूको जिम्मेवारी निर्धारित भइसकेको छ’, उनले सुनाए ।
नीतिगत निर्णयका लागि जिल्ला कमिटीको बैठक नै बोलाउने गरेको भन्दै यही २६ र २७ गते मिति तोकिएको श्रेष्ठले बताएका छन् ।

Leave a Reply