तिम्रो र मेरो भेट नभएकै राम्रो
तिमी उकाली लाग्यौ
म ओराली झरेँ
विपरीत दिशाका यात्री हामी
गन्तव्य त फरक पर्ने नै भयो ।
उस्तै बाटो
उस्तै गन्तव्य
उस्तै यात्रा
समयले एकल बनाएर हिँडायो किन ?
तिम्रा विवशताहरु अनेक होलान्
सायदै म बुझ्न सक्दिनँ
समयले नमिठो गरी हिर्कायो
तिमी र म दम्भले फुल्लियौँ
जोरी पारी हँसाएर
यात्रा मै हरायौँ किन ?
खोला किनार झैँ आमने सामने भए पनि
मिलन विन्दु फरक परेपछि
विचारका खोलाहरू बगे सरी
तिमी बगिरह्यौ आफ्नै तालमा
म बगिरहेँ मेरै तालमा
समुद्रमा हेलिन हतारिँदै ।
तिमीले दुःखको बिस्कुन उठाएर
सुखको डालो बोक्न खोज्दा
डालो उठाई सहयोग गर्न नसके पछि
म किनारमा बसेर
टुलुटुलु दृष्य हेरी रमितेमात्रै बनेको थिएँ
तिम्रा अभिलाषाहरू
छिन्न भिन्न बनाई
तिम्रो हातबाट डालो खोस्ने आरिसेहरू प्रति
म घृणा व्यक्त गर्दै
तिम्रो निश्चल आँखाहरूबाट
आँसुको भेल बगे पछि
चिच्याई रहेको तिम्रो मानवता देखेर
म द्रवीभूत भएको थिएँ ।
तिम्रो र मेरो यात्रा फरक देखिए पनि
मानवीय संवेदना त एउटै होला
तिमी परिवर्तनका कुरा गर्छ्यौ
म पनि त परिवर्तनकै कुरा गर्छु
तिम्रो बाटो अप्ठेरो छ
मेरो बाटो अलिक सजिलो होला
म पुरुष
तिमी नारी
लैङ्गिक विभेदले अलि सताउँदो हो ।
तिम्रो यात्रा विस्मयकारी छ
तिमीले सोचेको गन्तव्य
कहाँ पुग्न दिइन्छ र ?
सैतानहरू बाटो छेकी बसेका हुन्छन्
यात्रा बिथोल्दै
तिम्रो रगत पिउने गरी ।
सैतानका आँखा छलेर
दोबाटो काट्दै
चौरस्तातिर बढ्नु छ
बाटामा बिछ्याइएका तिखा काँडा टेक्दै जाँदा
पाइतालाहरू रगतपच्छे हुन सक्छन्
रगत क्रान्तिको प्रतीक हो
तिम्रो यात्रा क्रान्तिको मार्ग हुन सक्छ ।
क्रान्ति रोज्ने तिम्रो साहस
गन्तव्य पुग्ने तिम्रो विश्वास
सलामयोग्य छ
सामाजिक बन्धनका चौघेरा तोडेर
तिमीले विद्रोह ओकल्नु छ
भाले मात्रै बास्ने हैन
आवश्यकता परे निःसन्देह
पोथीले पनि बासे हुन्छ ।

Leave a Reply