‘जार’ की गीताञ्जली थापा : भारतको ‘राष्ट्रिय फिल्म पुरस्कार’ जित्न सफल नायिका

काठमाडौं । यहीँ वैशाख २६ गते बाट रिलिजमा आउन लागेको चलचित्र हो, ‘जार’। सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ।

अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाही दर्शकको लागी परिचित अनुहार हुन। तर चलचित्रकी मुख्य अभिनेत्री गिताञ्जली थापा भने नेपाली दर्शकको लागी नयाँ नाम हुन सक्छ। गीताञ्जली नेपाली चलचित्रको लागि नयाँ नाम भएपनि उनी उम्दा कलाकार हुन् । विश्वका थुप्रै फिल्म फेस्टिभलमा आफ्नो कामले दर्शकको मन जितिसकेकी गीताञ्जलीले भारतको सबैभन्दा प्रतिष्ठित मानिने ‘राष्ट्रिय फिल्म पुरस्कार’ जितिसकेकी छिन्। उनी भारतकी राष्ट्रिय अवार्ड विनर आर्टिस्ट हुन्।

सिक्किममा जन्मेकी गीताञ्जलीले सन् २०१३ मा रिलिज भएको चलचित्र ‘लायर्स डायस’ बाट यो अवार्ड जितेकी हुन। यो चलचित्र भारतको तर्फबाट ८७औं एकेडेमी अवार्ड्मा समेत पठाइएको थियो। गिताञ्जलीको परिचय यतिमा मात्र सिमित छैन। उनी नेटफ्लिक्सका प्रयोगकर्ताका लागि पनि परिचित अनुहार हुन। उनले नेटफ्लिक्सको चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’मा पनि अभिनय गरिसकेकी छिन्।

उनका चलचित्रले नेपाल र भारतमा मात्रै होइन, विश्वमा फन्को मारिसकेका छन् । विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा उनका चलचित्रहरु स्क्रिनिङ भइसकेका छन् । गीताञ्जली अभिनित चलचित्र टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वचर्चित चलचित्रहरु फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् ।

अहिले रिलिजको तयारीमा रहेको उनी अभिनित चलचित्र ‘जार’ पनि सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो । इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । यो चलचित्रको केहि दिन अघि सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर गरिएको थियो। चलचित्र हेरेका दर्शकले गीताञ्जलीको अभिनयको खुलेर प्रशंसा गरेका थिए। त्यहाँ पनि गीताञ्जली थापा एउटा सशक्त उपस्थिति बनिन्।

‘जार’लाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन। यो चलचित्रले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ । फेरि टेल पिक्चर्स, होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ।

चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । झुमा लिम्बू र गंगा थापाको संगीत रहेको ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *