नेपाली दूतावासले केआइआइटीका प्रतिनिधिलाई बोलाएर गर्‍याे सोधपुछ

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाकाे बारेमा नेपाली दूतावासले केआइआइटीका प्रतिनिधिसँग साेधपुछ गरेकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज बिहान केआईआईटीका प्रतिनिधिलाई दूतावासमा बोलाएर उक्त घटनाका बारेमा साेधपुछ गरेकाे जानकारी दिएकाे छ ।

दूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्वन्धित भारतीय निकायहरुसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जानकारी दिएको छ ।

राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरेका थिए ।

भारतको उडिसा राज्य स्थितकेआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षिया नेपाली विद्यार्थी प्रिशा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी हिजो राति नै प्राप्त हुनासाथ राजदूतावासले उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकारीहरु, विदेश मन्त्रालयका अधिकृत लगायत अन्य सरोकारवालाहरुसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिएको थियो ।

सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्यनरत सबै नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति गर्न जोड दिएका दूतावासले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *