नेपाली विद्यार्थीको मृत्यु : ओडिसा सरकारद्वारा घटनाप्रति दु:ख व्यक्त, जाँचको आदेश

काठमाडौं । भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दु:ख व्यक्त गरेको छ ।

बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि आदेश दिएको छ ।

बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० बर्सिया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे परिवारले नै त्यहाँ पुगेर उजुरी दिएको थियो । त्यो घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको ठुलो आलोचना भएपछि माफी माग्दै ती कर्मचारीलाई कारबाही सिफारिस गरिएको थियो । त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरबाही ठहर गरेको थियो।

करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *