नेपाली विद्यार्थीको मृत्यु :परिवार पुगेपछि मात्रै पोस्टमार्टम

रुपन्देही । बिहीबार राती भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोज (केआईआईटी)मा  अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । सो शिक्षालयको दोस्रो सेमेस्टरमा अध्ययनरत शाह होस्टल मै बसेकी थिइन् ।

उनीसँग सँगै अध्ययन गर्ने रुपन्देहीका विद्यार्थी सुयोग लम्सालका अनुसार अहिले विद्यार्थीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको र शव भित्रै रहेको अवस्था छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान र सोधपुछ भइरहेको उनले जनाएका छन् । ‘एकाएक यस्तो घटनाले नेपाली मात्रै होइन सबै विद्यार्थीलाई स्तब्ध बनाएको छ, कोही केही बोल्ने मुडमा छैनन्, विषयवस्तु पनि केही खुलेको छैन’ उनले भने ।

वीरगन्जकी  शाह अर्को एक जना साथीसँगै बस्ने गरेकी थिइन् ।  ‘शाह मेरो क्लासमेट नै हो, दुई जना नेपाली छात्राहरू होस्टेलमा बस्ने साथीहरू थिए नै तर आज एक्कासि यस्तो घटना देख्नुपर्‍यो’ उनले भने–‘क्लासमा निकै मेहनती र शालीन थिइन्।’

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० बर्सिया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे परिवारले नै त्यहाँ पुगेर उजुरी दिएको थियो । त्यो घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको ठुलो आलोचना भएपछि माफी माग्दै ती कर्मचारीलाई कारबाही सिफारिस गरिएको थियो । त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरबाही ठहर गरेको थियो।

करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेको र भुवनेश्वर प्रहरीसँगको कुराकानीमा बिहीबार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी गराएका छन् । प्रहरीले शाहको परिवार नजाँदै पोस्टमार्टम नगर्ने जनाएको त्यहाँ रहेका नेपाली विद्यार्थीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *