श्रमिक दिवसमा प्रेस चौतारीले गर्‍यो लुम्बिनीका ४० सञ्चार श्रमिक सम्मान

रुपन्देही । श्रमिक दिवसको अवसरमा प्रेस चौतारीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ४० जना सञ्चार श्रमिकलाई सम्मानित गरेको छ । १२ मध्ये १० जिल्लामा लामो समय काम गरेका श्रमिकहरूलाई सम्मान गरिएको हो ।

१० जिल्लाका सम्मानित हुनेमा नवलपरासीबाट ३, दाङ ८, पाल्पा ५, बाँके ३, रोल्पा ४, रुपन्देही ५, बर्दिया १, अर्घाखाँची ४, कपिलवस्तु ६, प्युठान १ जनालाई सम्मान गरिएको छ । जसमा रेडियो प्राविधिक, क्यामरा पर्सन, कम्प्युटर टाइपिस्ट, पत्रिका वितरक रहेका छन् ।

१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका १२ जिल्ला शाखाहरूले भव्य रूपमा मनाउन थालेका छन् । चौतारीले ४० जना सञ्चार श्रमिकलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालेको हो । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको वार्षिक कार्य योजना बमोजिम जिल्ला शाखाले बिहीबार एकसाथ श्रमिक सम्मान कार्यक्रम गरेका हुन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर प्रत्येक जिल्ला शाखाले विभिन्न विधाका तीनदेखि पाँच जनासम्म सञ्चार सम्बद्ध श्रमिकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रदेशका महासचिव हरि अधिकारीले जानकारी दिए । सोही अवसरमा सञ्चार श्रमिकको विद्यमान अवस्था ऐन, कानुन, न्यूनतम पारिश्रमिक लगायतका विषयसमेत छलफल गरिने भएको छ ।

सञ्चार सम्बन्ध श्रमिकको अवस्था सङ्कटमा पर्दै गइराखेकोले सरकारले समयमै यी मुद्दामा ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए । प्रदेश अध्यक्ष शोभाखर पन्थीले राज्यले मिडियामैत्री लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी लुम्बिनी प्रदेश इन्चार्ज टीकाबहादुर बस्नेतले प्रदेशभर नै वार्षिक कार्य योजना अनुरूप गतिविधि अघि बढेको बताए ।

त्यस्तै, रुपन्देहीमा आयोजित सम्मान समारोहमा एमाले पोलिटब्युरो सदस्य, पूर्व मुख्यमन्त्री लीला गिरीले श्रमिकको सम्मानले खुसी बनाएको बताए । रुपन्देहीमा आमसञ्चारका माध्यममा लामो समयदेखि उत्पादन, संकलन, वितरण र बजार विस्तारमा समर्पित सहकर्मीहरू नारायण सिंह जिसी, विष्णुप्रसाद शर्मा, कृष्णप्रसाद खनाल, मनीषा बस्याल र नगेन्द्र कार्कीलाई प्रेस चौतारी नेपाल रुपन्देहीले ’मे डे’अर्थात् श्रमिक दिवसका अवसरमा नगदसहित सम्मान गरेको हो ।

प्रेस चौतारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा एमाले केन्द्रीय सल्लाहकार डा. बालकृष्ण चापागाईँ, लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद् अध्यक्ष मिलन गाहा, एमाले प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरे, प्रेस चौतारी इन्चार्ज मोहन चापागाईँ, केन्द्रीय प्रचार विभाग सदस्य शेरबहादुर केसीले श्रमिकको सम्मानबिना कसैको भलो नहुने बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *