जनकपुरधाम । पेस्तोल पड्काएर डान्स गरेसँगै भाइरल बनेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादव बोलाएको बेला हाजिर सर्तमा कागज गरेर छुटेकी छन् ।
सर्लाहीमा हल्दी-मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भिडिओ भाइरल उनलाई सप्तरी प्रहरीले बोलाएर बयान लिएको हो । बयानपछि बोलाएको बेला हाजिर हुने गरी कागज गराएर छाडिएको सप्तरी प्रहरीले जनाएको छ ।
बबीले प्रहरीसमक्ष आफूले मनोरञ्जनका लागि पेस्तोल पड्काएको र त्यो खेलौना भएको बयान दिएकी छन् ।
नेतृ बबीले पड्काएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका-२ का अञ्जनी कुमारको घरबाट बरामद भएको थियो । बबीकै बयानका आधारमा सप्तरी प्रहरीको सूचनाअनुसार सर्लाही प्रहरी अत्र्जनीकोमा पुगेको थियो ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद पेस्तोल नक्कली जस्तै देखिएको भन्दै परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने जानकारी दिए ।
उनका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी-मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी हुन् ।
सप्तरीको बोदेबर्साइन् नगरपालिका-५ घर भएकी उनी जसपा नेपालका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

Leave a Reply