सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले बिहीबार आफूले पद छोड्ने घोषणा गरेका छन् । राष्ट्रपति पदमा नजर लगाएको खबरबीच उनले राजीनामाको घोषणा गरेका हुन् ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उनी शुक्रबारबाट आफ्नो राष्ट्रपति अभियान सुरु गर्नेछन् । हानलाई सम्भावित कन्जर्भेटिभ नेताको रूपमा हेरिएको छ, किनकि मुख्य कन्जर्भेटिभ पिपल पावर पार्टी (पीपीपी) तत्कालीन राष्ट्रपति युन सुक–योलले सन् २०२४ को डिसेम्बरमा सैन्य कानून लागू गरेपछि अराजकतामा फसेको छ।
हानले बिहीबार टेलिभिजनमार्फत आफ्नो निर्णयको बारेमा बताए । उनले भने, ‘मैले अन्ततः हाम्रो सामु रहेका संकटहरू पार गर्न मेरो पद छोड्ने निश्चय गरेको छु ।’
‘मसँग दुई बाटाहरू छन् । एउटा म हाल सम्हालिरहेको भारी जिम्मेवारी पूरा गर्नु र अर्को त्यो जिम्मेवारी छोडेर झन् ठूलो जिम्मेवारी लिनु,’ हानले भने ।
दक्षिण कोरियाली कानूनअनुसार, वित्तमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । विपक्षी नियन्त्रित संसदले युनलाई महाभियोग लगाउन मतदान गरेपछि हानलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । युनलाई पदबाट हटाइएपछि आगामी जुन ३ मा राष्ट्रपतिको विशेष निर्वाचन हुने बाटो खुलेको छ ।
हान आफैं पनि दुई हप्ताभन्दा कम समय कार्यवाहक राष्ट्रपति भएपछि महाभियोगको सामना गर्नुपरेको थियो । विपक्षीले उनलाई युनको सैन्य कानून घोषणालाई रोक्न असफल भएको आरोप लगाएका थिए । मार्चमा अदालतले उक्त महाभियोगको निर्णय खारेज गरेपछि उनलाई पुनर्स्थापना गरिएको थियो ।
उनी विपक्षीसँग संवैधानिक अदालतमा तीन थप न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको र युन र उनकी पत्नी किम क्योन–हीविरुद्धका विधेयकहरूलाई समर्थन नगरेको विषयमा पनि विवादमा परेका थिए ।
डेमोक्रेटिक पार्टीका अग्रणी उम्मेदवारको योग्यतामाथि शंका
यसैबिच, दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका अग्रणी उम्मेदवार ली जे–म्युङलाई निर्वाचन कानून उल्लंघनको आरोपमा तल्लो अदालतले दिएको सफाइको फैसला उल्टाएको छ । यो निर्णयले अब लीलाई राष्ट्रपति पदमा उम्मेदवारी दिने योग्यतामाथि शंका उत्पन्न गरेको छ ।
मार्चमा, अदालतले लीलाई अघिल्लो अभियानमा गलत बयान दिएको निर्वाचन उल्लंघनको मुद्दामा सफाइ दिएको थियो । त्यति बेला अदालतले यो निर्णयले उनको विरुद्धको मामिला राजनीतिक प्रेरित भएको र उनलाई पूर्ण रूपमा निर्दोष साबित गरेको बताएको थियो ।
यदि तल्लो अदालतले पनि लीलाई दोषी ठहर गरेमा उनलाई पाँच वर्षसम्म कुनै पनि पदमा उम्मेदवारी दिन निषेध गरिनेछ र उनले जेल सजायको सामना गर्नुपर्ने हुन सक्छ ।

Leave a Reply