भारतबाट आउन थाल्यो थप ६ सय मेगावाट लाइन, १५ दिनपछि नेपालबाट विद्युत् निर्यात हुने

काठमाडौं । भारतबाट थप ६ सय मेगावाट विद्युत् आउन थालेको छ । हिजोबाट भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । केही दिन पहिला भारतमा नै विद्युत् अभाव भएको भनेर नेपालले आयात गर्न खोज्दा पाएको थिएन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट थाप विद्युत् ६ सय मेगावाट विद्युत् नेपालमा आयात हुन थालेको बताए ।

उनले भने, ‘भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको छ । अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने छ । उद्योगले थप विद्युत् प्रयोग गर्न पाउने छन् । थप ६ सय मेगावाट विद्युत् बिहान २ बजेदेखि ५ बजेसम्म आयात भएको छ । थप विद्युत् आयातले उद्योगको माग सम्बोधन गर्ने छ ।’

भारतबाट बिहान २ बजेदेखि ५ बजेसम्म थप ६ सय मेगावाट लाइन आएपछि त्यो समयमा उद्योग सञ्चालन गर्न विद्युत्को समस्या नहुने प्राधिकरणले बताएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले पानी पर्ने थालेकाले विहान भारतबाट विद्युत् आयात हुँदा विद्युत् गृह पानी जम्मा गर्न सकिने बताए ।

उनले भने, ‘बिहान भारतबाट लाइन आउँदा विद्युत् गृहमा पानी जम्मा गर्न सकिन्छ । त्यो पानीबाट दिउसो विद्युत् उत्पादनमा वृद्धि गरेर दिउँसोको विद्युत् माग धान्न सकिन्छ । पानी पर्न थालेकाले अब करिब १५ दिनपछि नेपालले भारतलाई विद्युत् विक्री गर्न सक्ने छ ।’

हाल भारतबाट दैनिक १५ घण्टा विद्युत् आयात भइरहेको छ । थप ६ सय मेगावाट विद्युत् आयात हुनु भन्दा पहिले १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात भइरहेको थियो । अब भने दैनिक १५ घण्टा विद्युत् आयात हुने भएको हो । यसअघि भारतले बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *