श्रममन्त्रीले ३ महिना पहिले उद्घाटन गरेको श्रम सेवा यूएई र ओमान दूतावासमा अझै सुरु भएन

यूएई । तीन महिना पहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेको ‘दूतावासस्तरीय श्रम बैधानिकीकरण सेवा’ अझै संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा सुरु हुन सकेको छैन।

सरकारले गत वर्ष विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका श्रमिकलाई वैधानिकीकरण श्रमस्वीकृति प्रदान गर्ने निर्णय गरेअनुसार ओमानबाट पहिलो पटक गत फ्रेबुअरीदेखि सेवाको उद्घाटन गरिएको थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले ओमानमा सेवाको उद्घाटन गरेका थिए । त्यस्तै सोही महिनाको दोस्रो साता यूएई भ्रमणमा रहेका श्रममन्त्री शरदसिंह भण्डारीले दुबईमा एक भब्य कार्यक्रमका बिच दुई जनालाई श्रम स्विक्रिती प्रदान गरेर दुतावास मार्फत ‘बैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने सेवाको उद्घाटन गरेका थिए ।

स्पष्ट निर्देशन अभावमा अन्यौल

उद्घाटन गरेको ३ महिना बितिसक्दा पनि ओमान र यूएईमा भने यो सेवा सुरु हुन सकेको छैन । प्राविधिक तयारी नगरी हतारमा उद्घाटन गरेकाले हालसम्म यहाँ कार्यरत श्रमिकले सेवा नपाएका हुन् । मन्त्रीले उद्घाटन गरेको दूतावासकै फेसबुक पेजमार्फत जानकारी पाएर दुतावास पुग्दा प्रकृया सुरु नभएकाले श्रम गर्न नसकेर धेरैले सास्ती भोगिरहेका छन् ।

नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले दूतावासबाटै श्रम स्वीकृति दिने व्यवस्था सुरु गर्ने घोषणा गरेको थियो। उद्घाटनपश्चात् तीन महिना बितिसक्दा पनि दुवै मुलुकका नेपाली दूतावासहरूमा सेवा कार्यान्वयनमा आएको छैन।

नेपाली दूतावास आबुधावीका अनुसार पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्राविधिक तयारी नहुँदा सेवा सुरु गर्न ढिलाई भएको हो । दूतावासका एक अधिकारीका अनुसार ‘नीति र उद्घाटन त गरियो, तर त्यसअनुसारको तयारी नहुँदा सेवा थालनी हुन सकेको छैन।’

दूतावासहरु सरकारको निर्णय र मन्त्रीले उद्घाटन गरेको सेवा सुचारु गर्न स्पष्ट कार्यविधि तथा निर्देशिकाको पर्खाइमा छन् । यतिसम्मकी दूतावासबाट श्रम स्वीकृति प्रदान गर्दा राजस्व बापत शुल्क लिने वा नलिने, लिए कति लिने भन्ने समेत मन्त्रालयले स्पष्ट नगरिदिँदा सेवा सुरु गर्न दूतावास आँफै अन्यौलमा परेका छन् ।

सेवा सुरु गर्न बायोमेट्रिक मेसिन , तथा अन्य प्राविधिक किट तयार भएपनि मन्त्रालयले स्पष्ट निर्देशिका पठाइनसकेकोले ढिलाई भइरहेको नेपाली दूतावास आबुधावीका श्रम काउन्सिलर दीपेन्द्र पौडेलले जानकारी दिए । विभागका उच्च अधिकारीहरुको हेरफेर भएको र नयाँ अधिकारीहरु आए लगत्तै बैधानिकिकरण सेवा सुरु गरिने श्रम सहचारी पंकज कायस्थको भनाइ छ ।

स्पष्ट निर्देशन् तथा कार्यविधि तयार पारेर पठाउन पटक पटक मन्त्रालय, तथा विभागलाई दुतावासहरुले पत्राचार गरिसकेको मन्त्रालय तथा विभागका उच्च स्रोतको दावी छ ।

यस सेवामार्फत काम परिवर्तन गर्ने, म्याद थप गर्ने वा नयाँ श्रम स्वीकृति लिनुपर्ने श्रमिकहरूलाई यूएई वा मस्कटस्थित नेपाली दूतावासमै सुविधा उपलब्ध गराउने भनिएको थियो। तर सेवा सुरु नहुँदा हजारौं श्रमिकहरू अन्योलमा परेका छन्।

‘उद्घाटन स्वार्थ-रहर, कार्यान्वयन शून्य’

वैदेशिक रोजगार विज्ञहरू यसलाई योजनाविहीन घोषणा र उद्घाटन रहरु मात्रै मान्छन्। ‘राजनीतिक फाइदा तथा व्यक्तिगत स्वार्थ पुरा गर्ने उद्देश्यले घोषणा त गरिन्छ, तर कार्यान्वयन नगर्दा श्रमिक झन् अन्यौलमा पर्छन,’ प्रवासी श्रमिकका विषयमा लामो समयदेखि कार्यरत समाजशास्त्री डाक्टर मिना पौडेल बताउँछिन् ।

दूतावासहरुले सीमित स्रोत र साधनकाबीच यथाशीघ्र सेवा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता दोहोर्‍याए पनि यकिन मिति दिन सकेका छैनन् । सकेसम्म यस सेवालाई छिट्टो सुरु गर्न र नियमित बनाउने प्रयास आफूहरुले गरिरहेको यूएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीको भनाइ छ । दूतावासमा जनशक्ति अभाव भएकाले सकेसम्म दैनिक नभए साप्ताहिक रुपमा भएपनि श्रम सेवा प्रदान गरिने राजदुत क्षेत्रीको भनाइ छ ।

यूएईमा झन्डै ८० हजार श्रमिक सेवाको प्रतिक्षामा

संयुक्त अरब इमिरेट्स (यूएई)मा श्रम स्वीकृती नलीई काम गरिरहेका झन्डै ७० देखि ८० हजार नेपाली श्रमिक रहेको आंकलन गरिएको छ । नेपाली समाज यूएई तथा एनआरएन यूएईलगायत विभिन्न सामाजिक संघसस्थाले सन्चालन गर्ने विभिन्न शिविर तथा कार्यक्रमहरुमा सहभागीको तथ्यांंक अनुरुप विविध तरिकाले यूएई आई कामदार भिसा लगाएर काम गरिरहेका तथा श्रम नगरेका श्रमिकको तथ्यांक झन्डै ७० देखि ८० हजार रहेको तथ्यांक उनीहरुसँग छ ।

श्रम स्वीकृति नलिई बसेका कतिपय नेपालीलाई समस्या पर्दा समेत सहयोग गर्न असहज हुने, वा नेपाल सरकारले प्रदान गर्ने सेवा सुविधाबाट बन्चित हुनुपर्ने अवस्था आउने नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानको भनाइ छ ।

कतिपय अवस्थामा श्रम नभएका कामदारको मृत्‍यु हुँदा शव नेपाल पठाउन समेत चन्दा संकलन गर्नुपर्ने अवस्था आइपर्ने गरेको रोल्पाली समाज यूएईका अध्यक्ष दिल पुनले बताए । श्रम नभएका कतिपय त्यस्ता नेपालीको शव नेपाल पठाउन नसक्दा यतै दाहसंस्कार गर्नुपरेको समेत पुनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *