झलनाथले भने- श्रमिक वर्गमाथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन् चर्को बन्दैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा शुभकामना दिँदै आज श्रमिकहरूले आफूमाथि भइरहेको शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध महत्त्वपूर्ण विजय प्राप्त गरेको दिन भएको बताए।

शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिस्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अहिले हामी समाजवादी क्रान्ति र रूपान्तरको नयाँ ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेका छौँ । देशमा पुँजीवादी क्रान्ति भएको पनि १९ वर्ष भइसकेको छ ।’

जनताको आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्ग माथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन् झन् चर्को बन्दै गएको उल्लेख गरे।

सन्देशमा भनिएको छ, ‘मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बन्दै गएका छन् । श्रमजीवी जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन् । त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरूप्रति दिन हजारौँको संख्यामा रोजगारीको खोजीमा विदेश जान बाध्य भइरहेका छन् ।’

उनले वर्गीय रूपले अझ बढी सचेत र सङ्गठित बन्दै आफ्ना वर्गीय हित,हक र अधिकारका निम्ति अझ बढी सचेत, आफ्नो पङ्क्तिलाई गोलबद्ध गर्न र, आफ्नो पङ्क्तिमाथि भइरहेका शोषण र उत्पीडनका विरुद्ध ट्रेड युनियनहरूमा अझ घनिष्ठ रूपले एकताबद्ध बन्न आग्रह गरेका छन्।

Comments

One response to “झलनाथले भने- श्रमिक वर्गमाथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन् चर्को बन्दैछ”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    फेरी यो दलाल समाजबादी अनावश्यक रूपले बर्बराउदै छ। जसले इलम गरेर र ब्यापार गरेको छैन , सुको पैसा काम गरेर कमाएको छैन उसैले पॅुजिबादमा लेक्चर दिन्छ । यिनका दलाल समाजबादी आर्थिक नितीले देशलाइ कंगाल र भ्रष्टाचारी पूर्ण बनाउने बाहेक केही गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *