प्रेमजोडी विवेक र सिर्जनालाई ट्रिब्यूट दिँदै ‘ऊनको स्वीटर’ साझँमा गुन्जिए सुजन चापागाईं

काठमाडौं । दुई वर्षपछि गायक सुजन चापागाईं लाइभ कन्सर्टमा फर्किएका छन् । यहीँ वैशाख २६ गतेबाट विश्वव्यापी रिलिजको तयारीमा रहेको आर्टमान्डूको पहिलो चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको रूपमा सुजनको लाइभ कन्सर्ट आयोजना गरिएको हो ।‌

सुजन चापागाईँ एन्ड इन्फिनिटी टिमको प्रस्तुति हेर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसदहरू सुहान नेम्वाङ, अशोक कुमार चौधरी, सोविता गौतमहरूसँगै विभिन्न अतिथिहरू पनि उपस्थित थिए। साङ्गीतिक टिममा भने सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन थिए ।

दर्शकलाई पहिलो कोसेली स्वरुप सुजनले कार्यक्रममा ‘लजाएर एक्लै किन बसेकी मायालु’ गीत गाएका थिए। कार्यक्रममा ‘ऊनको स्वीटर’ को ट्रेलर पनि प्रस्तुत गरिएको थियो‌ भने सुजनले ‘उनको स्वीटर’ को ‘काफ्ले’ गीत पनि गाएका थिए। उनले गाएको गीतमा चलचित्रकै कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए । गायनमा भने सुजनलाई गायिका सलिना विकले साथ दिएकी थिइन् ।

सुजनले कार्यक्रममा प्रेम जोडी विवेक पङ्गेनी र सिर्जना सुवेदीलाई ट्रिब्यूट दिँदै ‘एक्लै भएँ नि’ गीत पनि गाए। उक्त ट्रिब्यूट दिएर गाएको गीतमा भने अधिकांश दर्शक भावुक भएका थिए।

‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *