रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा विदेशबाट फर्किएको एक सातामै एक महिला परपुरूषको घरमा मृत भेटिएकी छन् ।
कुवेतबाट भर्खरै फर्केकी कञ्चन गाउँपालिका-४ थकालीचोक निवासी ४५ वर्षकी धनमाया विक स्थानीय वरपिपलचोक बस्ने ४७ वर्षीय विनोद विकको घरमा झुन्डिएको अवस्थामा हिजो फेला परेकी हुन् ।
प्रहरीका अनुसार घरपछाडि रहेको फलामे भर्याङको चौथो खुड्किलोमा कपडाको पासो लगाएर झुन्डिएकी थिइन् धनमाया ।
एक खुट्टाले भुईँमा टेकेको र अर्को खुट्टा भुईँमा लत्रेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। विनोद र धनमायाको केही दिन अगाडि लेनदेनसम्बन्धी विवाद भएको थियो।
धनमायाले आत्महत्या गरेको नभई हत्या गरी झुण्ड्याइएको आशंका स्थानीय र आफन्तले गरेका छन्। मृतकका भिनाजु झविलाल विकले धनमाया र विनोदबीच निकटता रहेकाले घटना शंकाष्पद भएको बताए । विनोद र धनमाया दुवै डिभोर्सी हुन् । पूर्वप्रहरी हवल्दार विनोद हाल एनआइसी बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डको काम गर्छन् ।
‘उनीहरुबीच आउने जाने थियो, विदेश बस्दा नै नानीले बाइक किन्न पैसा पठाएकी रहिछन्,’ विकले भने, ‘विनोदलाई श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पनि ५ लाख पठाएको रेकर्ड हामीसँग छ, फर्केपछि त्यो रकम फिर्ता मागे पनि नदिएको र पैसा नदिए जे पनि हुनसक्छ भनेर नानीले पटक-पटक भनेको बुझिएको छ,’ उनले भने ।
विनोदले नै आफ्नो घरमा एक महिलाले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय रुद्रपुरमा बिहान ६ बजे जानकारी दिएका थिए । सोही सूचनाअनुसार घटनास्थलमा पुग्दा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
धनमाया विदेशबाट फर्किएको एक साता मात्रै भएको थियो। मङ्गलवार राती घरका आफन्त तथा परिवारसँग राति ९ बजेसम्म खानपिन गरी फर्किएको भिनाजु छविलाल बताउँछन्।
धनमायाको यसअघि पाल्पाका राजन सुनारसँग बिहे भएको थियो । श्रीमानसँग सम्बन्ध विच्छेद भई कञ्चनमा बस्दै आएकी उनी केही समयअघि बिदेसिएकी हुन् ।
अहिले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। इप्रकाले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी कार्यालय रुद्रपुरका सई धर्म खड्काका अनुसार विनोद बुधवार बिहानै आफ्नो घरमा महिला झुण्डिएको सूचना दिन प्रहरीसमक्ष आएका थिए ।
‘बाहिरबाट पनि सूचना पाएका थियौँ, विनोद आफैँ पनि आउनुभयो,’ उनले भने ।
रुपन्देही कन्चन गाउँपालिका वडा न ४ की काबा अध्यक्ष सुशीला थापाले आफू पनि घटनास्थलमा पुगेको र शवको प्रकृति हेर्दा आत्महत्या गरेजस्तो नलागेको बताइन् ।
‘घाँटीमा पासोको चोट छ, शरीरमा अन्य घाउ छैन,’ उनले भनिन्, ‘खुट्टा भुईँमा टेकेको अवस्थामा कसरी झुन्डिइन् भन्ने आफन्तको दाबी प्रहरी अनुसन्धानबाट खुल्ला,’ उनले भनिन ।
थापाका अनुसार मृतक पहिलाको वैवाहिक सम्बन्ध टुटेपछि माइतमै बस्थिन् र राम्रै आर्थिक जोहो गरेकी थिइन् । बच्चाबच्ची थिएनन् ।
विनोदको भने दुईवटा बिहे भएका थिए । पहिलो श्रीमतीबाट एक छोरी र दोस्रो श्रीमतीतर्फ पनि दुई छोरी छन् । दोस्रो श्रीमतीसँग पनि सम्बन्धविच्छेदको प्रक्रियामा अन्तिम चरणमा पुगेकोले एकलजस्तै भएको वडाध्यक्ष थापाले बताइन् ।
स्थानीयसमेत रहेका वडासचिव चक्रपाणी पौडेलका अनुसार विनोद प्रहरीसमक्ष विनोदले ज्यानको सुरक्षाका लागि आएको बताएका थिए ।

Leave a Reply