रेशमकाे नाटकीय पक्राउ– पत्रकाे व्यहाेरै नपढी महिमानकाे पछिपछि दौडिए प्रहरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी बुधबार पक्राउ पर्नुअघि उनलाई पक्राउ गर्नुपर्ने विषयबारे प्रहरी नै जानकार थिएन ।

अदालतको फैसला कार्यान्वयन गर्न मानिस पक्राउ गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत आफैं हस्याङ्फस्याङ गर्दै प्रहरी प्रधान कार्यालय पुगेपछि पत्रको व्यहोरासमेत नपढी प्रहरी खटाइएको थियोे ।

आईजी सचिवालयका एक अधिकृतका अनुसार सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखाका अधिकृत महिमानसिंह विष्ट आफैं पत्र बोकेर बुधबार कार्यालय समय शुरु हुनासाथ प्रधान कार्यालय पुगेका थिए ।

यसरी पहिला पहिला पनि अदालतबाट फैसला कार्यान्वयनका लागि मानिस पक्राउ गर्ने पत्र र पत्रका साथ जिम्मेवार कर्मचारी त्यहाँ जान्थे । बुधबार पत्रमा हस्ताक्षर गर्ने शाखा अधिकृत विष्ट आफैं पुग्दा प्रहरीले पक्राउ गर्नुपर्ने व्यक्तिबारे धेरै सोधखोज गरेन ।

‘उहाँले पक्राउ गर्ने मान्छेको नाम बताउनु भएन, हामीले पनि गोपनीयता कायम गर्नुपर्ने होला भनेर धेरै सोधेनौ’, सचिवालयका अधिकृतले विष्टको भनाइ उद्धृत गर्दै भने, ‘मान्छे म देखाउँछु, समातेर मैले भनेको ठाउँमा बुझाइदिने प्रहरीमात्रै चाहियो ।’

यसपछि आईजीको सचिवालयबाट जिल्ला प्रहरी परिसर, भद्रकालीका एसएसपी विश्व अधिकारीलाई फोन गयो । सबै कुरा नखुलाइकन भनियो, ‘उहाँले भनेको कुरामा आवश्यक समन्वय गरिदिनुहोला ।’ आईजी सचिवालयको आदेसअनुसार परिसरबाट विष्टको साथमा डीएसपी प्रल्हाद कार्कीको टोली सादा पोशाकमा खटियो ।

प्रहरीले चौधरीलाई पक्राउ गर्नुपर्ने कुरा त्यसबेलामात्रै थाहा पायो, जब विष्टले प्रज्ञा भवन, कमलादी पुगेर कार्यक्रमस्थलमा रहेका चौधरीलाई देखाए ।

उनी पक्राउ परेको आधा घण्टासम्म प्रहरी नेतृत्व यो विषयबारे जानकार थिएन । ‘उहाँले भनेको मानिस सम्बन्धित स्थानमा लगेर बुझाइदिनु’ भन्ने आदेशका साथ डीएसपी कार्की खटिएका थिए । त्यसैले उनले कतै रिपोर्ट नगरी चौधरीलाई नियन्त्रणमा लिए ।

‘हामीले त्यतिबेलासम्म पत्र पढेकै थिएनौं’, आईजी सचिवालयका अधिकृत भन्छन्, ‘सर्वोच्च अदालतको अफिसरले यस्तो फर्जी काम गर्छ भनेर हामीले सोच्न पनि सकेनौं, फलतः प्रहरी मिस गाइडेड भयो ।’

जब आदेशकर्ता आईजी सचिवालय नै चौधरीलाई पक्राउ गर्नेबारे जानकार थिएन भने मातहतका निकायलाई थाहा हुने कुरै भएन ।

चौधरी पक्राउ परिसकेपछि नेपाल प्रेसले जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहरालाई सोध्यो । उनले आधा घण्टासम्म अनभिज्ञता प्रकट गरे । किनभने स्वयं कार्यालय प्रमुख अधिकारीलाई पनि चौधरी पकाउ पर्ने कुराको जानकारी थिएन ।

फेरि नेपाल प्रेसले प्रहरीको कमलादी क्षेत्र हेर्ने मालिगाउँ बृत्तका डीएसपी सुनीलजंग शाहलाई सोध्यो । उनले कुनै टोलीले पक्राउ गरेको खबरमात्रै सुनेको, तर विस्तृत जानकारी नभएको बताए ।

चौधरी पक्राउ परेको आधा घण्टाभन्दा लामो समय गुज्रिएपछि मात्रै जिल्ला प्रहरी प्रवक्ता बोहराले पुष्टि गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *