बेलडाँडीको सभामा भाषण नगरी हिँडे प्रचण्ड, कञ्चनपुरबाट सकियो माओवादीको जागरण अभियान

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियानका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खिस्रिक्क परेका छन् ।

२०७४को निर्वाचनमा बुहारी बिना मगरले चुनाव जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा सहभागी संख्या न्यून भएपछि उनी सम्बोधन नगरी हिँडे ।

बेलडाँडी पुगेपछि प्रचण्डले गाडीभित्रैबाट सिसा खोलेर कार्यक्रमस्थल नियालेका थिए । फेरि सिसा बन्द गरेर केहीबेर गाडीभित्रै बसे । कार्यक्रम सञ्चालकले पटक-पटक पार्टी अध्यक्ष आइपुगिसकेको र स्वागत गर्न भनेपछि उनी गाडीबाट ओर्लिएर मञ्चतिर लागेका थिए ।

मञ्चमा खाँदा लगाएपछि आफूसँग समय नभएको भन्दै प्रचण्ड फरक्कै फर्किए । उनले भाषण नगरेपछि कार्यक्रम समाप्त भएको घोषणा गरियो । उद्घोषकले समयको पाबन्दीले गर्दा प्रचण्डले बोल्न नभ्याएको बताए ।

‘कञ्चनपुर जिल्लाको महेन्द्रनगरको कार्यक्रमलाई सम्बोधन गर्नु पर्ने, अध्यक्ष कमरेड प्रचण्ड लगायतको टिम फिर्ता हुनुपर्ने भएको हुँदा समयको पाबन्दीका कारण कार्यक्रम स्थगित गर्दै आगामी कार्यक्रम महेन्द्रनगर कञ्चनपुरमा हुने जानकारी गराइन्छ’, मञ्चबाटै भनियो ।

माओवादी बेलडाँडी गाउँ कमिटीका अध्यक्ष डम्मर शाहले समय नभएका कारण नै कार्यक्रममा सम्बोधन नभएको दाबी गरे ।

माओवादीले बुधवारै कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘तराई-मधेश जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनसंवाद कार्यक्रमको समापन गरेको छ । बीचमा रोकिएर फेरि सुरु भएको गरेको यो अभियान दुई महिनापछि बुधवार कञ्चनपुरको भीमदत्तनगर पुगेर समापन भएको हो ।

अभियान समापन कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानका क्रममा जनताका मुद्दा, अधिकार र विकासका मुद्दा उठान गरिएको बताए ।

उनले अभियानका क्रममा शहीद र बेपत्ताका परिवारलाई भेटेर उनीहरूको अवस्था नजिकबाट बुझ्ने काम भएको पनि बताए । अभियानबाट अपेक्षा गरिएको भन्दा बढी उपलब्धि हासिल गरिएको प्रचण्डको दाबी थियो ।

Comments

3 responses to “बेलडाँडीको सभामा भाषण नगरी हिँडे प्रचण्ड, कञ्चनपुरबाट सकियो माओवादीको जागरण अभियान”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Yasta sala criminal. Fataha. Bidesiko agent. Nepal & nepaliko enimy. Yo sala lai kina wel come? Kina ful ko mala??

    1. Mr. Lama Avatar
      Mr. Lama

      खायाे पाजी घुंगी र मुसाकाे अचार बल्ल ठिक गरेछ हाै । धन्यवाद कन्चनपुरका जनताहरुलाई अब सबै नेताहरूलाई यस्तै गर्नु पर्छ है ।

  2. ksp pyl Avatar
    ksp pyl

    शिक्षक आन्दोलन सरकारमा जाने भर्याङ् बन्छ कि भनेर आश गरेको सहमति हुने कुरा सुनेपछि भाषण गर्न मन लागेन रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *