विपीन कार्की र मिरुना मगर अभिनित ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही वैशाख २६ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका निर्देशकदेखि मुख्य कलाकारहरु सबै उपस्थित थिए। कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’ को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले भने, ‘चलचित्र बनाउने सपना बोकेदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भयो। चलचित्रमार्फत मैले एउटा संसार बनाउने प्रयास गरेको छु। सुरुमा म एक्लैले देखेको सपना, अब सयौँ जनाको भएको छ।’

आर्टमाण्डू प्रालिको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक चलचित्र हो । चलचित्रमा अभिनेता विपिन कार्कीले मुख्य भुमिका निभाएका छन् । विपिनले कार्यक्रममा पाँचथरको यात्रालाई स्मरण गर्दै र सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिदै भने,’गीतजस्तै यो चलचित्र पनि उत्कृष्ट बनेको छ। चलचित्रले दर्शकको मन जित्नेमा म विश्वस्त छु।’

चलचित्रकी मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन् । उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुवात गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन् । त्यस्तै, चलचित्रकी अर्की नायिका परीक्षा लिम्बूले पनि एक वर्षपछि फेरि चलचित्रको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताइन् ।

‘ऊनको स्वीटर’मा विपीन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईं र झुमा लिम्बूको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *