चर्चा महिमानसिंहकाे, जाे रेशमलाई थुनाउन खाेज्दा आफैं थुनिए

काठमाडौं । रेशम चाैधरीलाई पक्राउ गर्न व्यक्तिगत तजबिजमा प्रहरीलाई पत्र पठाएका सर्वाेच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट अहिले टक अफ दि टाउन बनिरहेका छन् । रेशमलाई केही घन्टाका लागि पक्राउ गराउन त उनी सफल भए, तर पाेल खुलेपछि आफै‌ं हिरासत बस्नुपरेकाे छ ।

आफ्नाे हस्ताक्षरकाे पत्र बाेकेर महिमान आफैं प्रहरी परिसर पुगेका थिए । प्रहरीले पनि त्यही पत्र हेरेर तुरुन्तै एक्सन लिइहाल्याे । साे पत्रकाे आधिकारिकतामा प्रहरी अधिकारीले ध्यान दिएनन् ।

विष्टले पठाएकाे पत्र अनधिकृत भएकाे सर्वाेच्चले स्पष्ट पारिसकेकाे छ, तर उनले केकति कारणले याे पत्र लेखे भन्ने अनुसन्धानकाे विषय बनेकाे छ ।

प्रारम्भिक बयानमा उनले टीकापुरमा मारिएकाहरुकाे आत्माले पाेलेर याे कार्य गरेकाे बताएका छन् ।

काे हुन् महिमानसिंह ?

दार्चुला स्थायी घर भएका नेपाल न्याय सेवा, न्याय समूहका शाखा अधिकृत बिष्ट अहिले सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत छन् । उनी यसअघि कञ्चनपुर जिल्ला अदालतमा शाखा अधिकृत (तहसिलदार) पदमा कार्यरत थिए । त्यहाँ उनले २ वर्ष काम गरेका थिए ।

करिब ५५ वर्षीय महिमान न्यायसेवाकाे सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । उनी अर्काे वर्ष उपरजिष्टारमा बढुवा हुने लाइनमा छन् । न्याय सेवामा उपरजिष्टार भनेकाे उपसचिवसरह हाे । बिष्टका एक छाेरा पनि सर्वाेच्चमै अधिकृत छन् । उनी इमानदार अफिसरका रुपमा चिनिन्छन् ।

विगतमा कञ्चनपुरमा कार्यरत छँदा उनले वकिलहरुमाथि विभिन्न लाञ्छना लगाएका थिए ।  नेपाल बार एसोसियसनले बिष्टमाथि कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो । त्यसको विरुद्धमा समेत उनले काउन्टर विज्ञप्ति जारी गरेका थिए । त्यही विवादपछि उनी सर्वाेच्च तानिएका हुन् ।

 

विष्ट कुनै राजनीतिक दलमा आस्था राख्दैनन्, तर राजनीतिमा चासाे राख्छन् । बेलाबखत फेसबुकमा राजनीतिक टिप्पणी गरिरहन्छन् । चार वर्षअघि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा स्टाटस लेखेका थिए । तत्कालीन नेकपा रहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका सांसदलाई २४ घन्टे स्पष्टीकरण र दोस्रो दिन आममाफी दिइएको समाचार सेयर गर्दै  उनले साे स्टाटस लेखेका हुन् ।

सन् २०२१ जुलाई २२ मा फेसबुकमा उनले लेखेका थिए, ‘केपी ओली सर त नयाँ महाराजाधिराज भए कि क्या हो ? स्पष्टीकरण पनि आफैं सोध्ने, आममाफी पनि आफैं जुनसुकै बेला दिने, पार्टीको विधान कता छ कुन्नि ? पार्टी घोषणापत्रसँगै पो अल्मलियो कि ? यो त केपी सरको गोप्य श्री ५ को जस्तो हुकुम भयो नि ?’

 

उनेल नेपाली राजनीतिक दललाई सुध्रिन सुझाव दिने गरेका छन् ।

दुई वर्षअघि उनले लेखेका थिए्, ‘नेपालका सबै राजनीतिक दल समयमै तत्काल नसुध्रिएमा काठमाडौं महानगरपालिकामा बालेन शाह, धरान उपमहानगरपालिकामा हर्कराज साम्पाङ राई र धनगढी उपमहानगरपालिकामा गोपाल हमालले अत्यधिक बहुमतका साथ राजनीतिक दलका उम्मेदवारलाई पाखा लगाए जस्तै अब आउने संघ र प्रदेशको निर्वाचनमा पनि यस्तो अवस्थाको पूर्वमूल्यांकन गरी समयमै नेपाली जनतासँग माफी मागी अबदेखि जनसेवामा समर्पण हुने बाचा गरी सच्चा राजनीतिक खेलाडीको भूमिका निभाउनुपर्ने अवस्था टड्कारो रूपमा देखिएको छ । सबैको जय होस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *