‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण विमोचन

काठमाडौं । चिनियाँ लेखक चाउ एर्लियुद्वारा लिखित पुस्तकको नेपाली संस्करण विमोचन गरिएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा, चाउ एर्लियुद्वारा लिखितMy Uncle Zhou Enlai को नेपाली संस्करण आज काठमाडौंस्थित बेल्ट एण्ड रोड पुस्तकालयमा औपचारिक रूपमा विमोचन गरिएको हो।

करेन्ट पब्लिकेशन र चीनको यिलिन प्रेसको संयुक्त आयोजनामा आयोजित कार्यक्रमले चीन–नेपाल मित्रताको सन्देश बोकेको यो पुस्तकप्रति सम्मान व्यक्त गर्दै विभिन्न कूटनीतिज्ञ, इतिहासविद्, अनुवादक र पाठकलाई एकै थलोमा ल्याएकाे छ ।

नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीनले प्रधानमन्त्री चाउको निःस्वार्थ योगदान र नेपाल–चीन सम्बन्ध निर्माणमा पुर्‍याएको ऐतिहासिक भूमिकाको प्रशंसा गरे।

उनले १९५७ र १९६० का नेपाल भ्रमणहरूदेखि लिएर सगरमाथारचोमोङ्मा सीमा समाधानसम्मको प्रसंग स्मरण गर्दै भने, ‘यो पुस्तक केवल जीवनी होइन, यो हिमालवारपारको आत्मिक पुल हो।’

प्रधानमन्त्री चाउ एन लाईकी नातिनी चाउ रोंगले नेपालमा प्राप्त आत्मीय स्वागतप्रति आभार व्यक्त गरिन् र आफ्नो परिवारको नेपालप्रतिको सम्बन्धबारे आत्मीय अनुभूति साझा गरिन्।

चाइना स्टडी सेन्टरका महासचिव डा.उपेन्द्र गौतमले चाउ एन लाईको कूटनीतिक योगदानलाई हिमालय क्षेत्रको भू(राजनीतिक सन्दर्भमा जोड्दै विश्लेषण गरे भने, अनुवादक अजय शर्माले पुस्तक अनुवादमा लागेको भावनात्मक र बौद्धिक यात्राको अनुभव सुनाए।

सम्पादक तथा प्रकाशक किरण गौतमले मन्तव्य प्रस्तुत गर्दै भने,‘दुई वर्षअघि, चाउको पुण्यतिथिमा मैले नेपाल पोस्टको १९७६ जनवरी ११ को अंकलाई वि(च्याटमा सेयर गरेपछि, यिलिन प्रेसकी मिस याङसँग सम्पर्क भयो, जसले यो अनुवाद सहकार्यको सुरुवात गराइदियो।’

त्यसै क्रममा उनले आफ्नो बुबाबाट सुनेको एउटा दुर्लभ संस्मरण पनि सुनाए ।

‘१९५७ मा प्रधानमन्त्री चाउको नेपाल भ्रमणको बेला, उनलाई पशुपतिनाथ मन्दिरमा प्रवेशको अनुमति दिइएको थियो—यद्यपि विदेशीलाई प्रवेश निषेध थियो। त्यहाँ उनले ५०० भारतीय रुपैयाँ दान गरेको भनिन्छ। मेरा बुबाले बाल्यकालमा यो दृश्य देखेको बताए र पछि केही वरिष्ठ पत्रकारले पनि यो पुष्टि गरे। त्यो बेला नेपालमा अझै पूर्ण रूपमा आफ्नै मुद्रा चलनमा आएको थिएन। भनिन्छ, यस घटनाले राजा महेन्द्रलाई नेपाली मुद्रा प्रणाली सुदृढ गर्न प्रेरित गर्‍यो।’

संवाद र सांस्कृतिक सम्बन्धका आधारमा स्थापना गरिएको बेल्ट एण्ड रोड पुस्तकालयमा आयोजना गरिएको यो कार्यक्रम चाउ एन लाईको दूरदर्शी नेतृत्वप्रतिको श्रद्धा मात्र नभएर नेपाल–चीन जनस्तरीय सम्बन्धप्रति पनि दृढ पुनःप्रतिबद्धता थियो।

प्रधानमन्त्री चाउले भनेका थिए, ‘इतिहास नबुझी भविष्य लेख्न सकिन्न।’आज त्यो इतिहास काठमाडौंमा शब्दमा मात्र होइन, भावनामा, सम्झनामा र साझा सपना मार्फत पुनर्जीवित भयो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *