प्रकृति हाँस्ने र मान्छे रुने कहिलेसम्म ?

मान्छे देखेर प्रकृति हाँस्छ । प्रकृति देखेर पनि मान्छे हाँस्ने रहेछ । मान्छे भने हाँस्दाहाँस्दै रुने रहेछ । प्रकृति वा पृथ्वी भने हाँसिरहने रहेछ । यसपालाको हाइकमा यो कुरा अझ मज्जाले थाहा पाएँ । पदयात्रा रुट थियो– भालेश्वर, रोशी, कलाती, दमार, आलुखोरे लामगैरा छ्याङ्ले डाँडा, डाँडागाउँ हुँदै पार्थली ।

चप्पल कारखानाबाट बिहान ५ः२५ मा बस चढेको हामी चक्रपथ, बसुन्धरा, सामाखुशी, लैनचौर, जमल, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, गठ्ठाघर, ठिमी चारदोबाटो हुँदै हाइकर्स टिप्दै पनौती भालेश्वर पुग्यौं । रोशी खोलाको बगरसँगैको फुटबल चउर नजिक पाटी रहेछ । त्यही बिहानको ब्रेकफास्ट केराउ, दुइटा अण्डा, स्यान्डविच र चिया हातमा पर्दा समय ७ः३४ भएको थियो ।

हिँड्ने रोग लागेका र हिँडिरहन पाए खुशी हुने हाइकर्सहरू मूलपानीबाट मात्रै मित्र राजाराम फुयाल उसको छोरा नमन, मेरा दाजुहरू भुवन ढकाल, मधुसूदन ढकाल, गोकर्णका किशोर थापा, थलीबाट बिन्दा चौलागाईं घिमिरे हुनुहुन्थ्यो । काँठ हिजोको आज नरहेको र बदलिँदै गएको दृश्यको परिदृश्य थियो यी नामहरू । मूलपानीबाट मात्रै हैन, ह्याप्पी हाइकर्समा थानकोट तलका गाउँहरू, बालाजुमाथिका गाउँहरू, भक्तपुर शहरपारिका गाउँहरूबाट र विभिन्न शहरका नजिकका गाउँबाट मान्छेहरू भरिने गर्छन् । काँठमा शारीरिक काम गर्ने प्रचलन हराएको धेरै भइसक्यो । सधैँ मर्निङ वाकभन्दा हप्ताको एक दिन फूल वाक गर्ने चलन आजकल निकै बढेको देख्दछु ।

हिँडालुहरू दिनेश मगर, प्रदीप कँडेल, निराकार श्रेष्ठ, नम्रता योगी, कवि डंगोल, बाबुकाजी महर्जन, प्रवीण अर्याल, राम श्रेष्ठ, भोला खनाल, राजु मानन्धर, दिनेश दुलाल, बाबुराम बगाले, रत्न महर्जन, रमेश भट्ट, सहदेव गुरुङ, हिमालराज विष्ट, राम थापा, कृष्ण थापा, सुनिता राई, ठाकुरप्रसाद न्यौपाने, विष्णुहरि पण्डित, रतन शाह, सनतकुमार रेग्मी, प्रकाश आचार्य, दीपेन्द्र महर्जन, नानुका पोखरेललगायत ३४ जना थियौं ।

पत्तो पाएँ । रोशी भूमिडाँडामा प्रहरी चौकी रहेछ । त्यहाँ भालेश्वर मन्दिर रहेछ । भालेश्वर भन्नेबित्तिकै हामी चन्द्रागिरी बुझ्छौं । चन्द्रागिरीभन्दा पनि प्रख्यात ठाउँ रहेछ यो ठाउँ । मागे वर पाइने किंवदन्ती यहाँ पनि रहेछ । पनौती नगरपालिका- १२ मा पर्ने भालेश्वर प्रचारप्रसारले पछि परेछ । भालेश्वर भनेर गुगल हान्यो भने यो मन्दिर हैन, चन्द्रागिरी आउँछ । प्रचारप्रसारको पर्खाइमा यो मन्दिर रहेछ ।

काँठमा शारीरिक काम गर्ने प्रचलन हराएको धेरै भइसक्यो । सधैँ मर्निङ वाकभन्दा हप्ताको एक दिन फूल वाक गर्ने चलन आजकल निकै बढेको देख्दछु ।

रोशी र बेबर खोलाको संगमको बगरमा ब्रेकफास्ट खाएपछि बाढीले निम्त्याएको बित्यास हेर्दै हिँडन सुरु भयो । बाढीले सर्लक्कै घर ल्याएर नदीको छेउमा राखिदिएछ । असोज १२ को त्यो दिन कस्तो भयो होला ? सोच्दै नरमाइलो लाग्यो । यता घर भत्किएको दृश्य हेरिरहँदा उता केराले गाभो हालेर केरा बन्न फुलिरहेको थियो । यही नै प्रकृतिको नित्यचक्र थियो । अनित्य यो संसारमा सृष्टिको नित्यतामात्रै बुझे क्या आनन्द आउँछ जीवनमा । मान्छे, प्रकृति र परिदृश्य हेर्दै कच्ची बाटो भएर कलातीतर्फ लागियो । फूलचोकीको एक साइडबाट बगेको रोशी र कुशादेवीबाट बगेको बेबर खोला छाड्दै र फूलचोकीको अर्काे साइडबाट बगेको गोदावरी सम्झँदै पहाडहरू हाम्रा खोला र पानीका स्रोत हुन् भन्ने चिन्तनमा हामी हिँडिरह्यौं ।

एकै छिनमा खडकराम बिके भेट भयो । हरेक मान्छेका आफ्ना कथा हुन्छन्, त्यो लेख्नुपर्छ, सुन्नुपर्छ र त्यसले प्रेरणा दिन्छ भनेर लेखन कुञ्ज चलाइरहेकै १२ वर्ष भयो । नयाँ मान्छेका कथा नयाँ ढंगले सुन्न नमज्जा लाग्दैन । उनी भन्न थाले, म सुन्दै गएँ । उनले आर्मीमा जागिर खाएछन् । आर्मीका पुराना हल्साब रहेछन् । नाम खडकराममात्रै भनिरहे । थर सोध्दा आनाकानी गरे । विश्वकर्मा थर रहेछ । मलाई अचम्म लाग्छ, विश्वकर्मा त ऋषि हुन् । उनी त त्यतिबेलाका वैज्ञानिक हुन् । अब त कानूनले जातभात पनि हटाइसक्यो । तैपनि थर भन्न किन हिचकिचाएको होला भन्ने लागिरहयो । विश्वकर्मा भनेपछि मैले त झ्याप्पै हात मिलाए र नमस्कार गरें ।

उनी खुशी भए । फेरि अर्काेले नाम सोध्दा उनी खडकराममात्रै भन्थे । रौसेर कुरा गर्ने रवाफिला रहेछन् उनी । उनले छोरालाई डाक्टर बनाएछन् । आफ्नो कौशी र बार्दली भएको घर देखाए । केहीबेर हामीसँगै हिँडे । मान्छेको उज्यालो कर्ममा हुन्छ । त्यो उज्यालोमा ऊ गर्व गर्छ । उनले आफूले बनाएको बुद्धको मूर्ति देखाए । केहीबेर माथिसम्म हामीलाई त्यहाँको भूगोल र इतिहास बताए । भन्दै थिए– ‘लीलावती खोलाको बाढी र पहिरोले घरहरू चर्केका, ढलेका, भत्केका छन् । कति राम्रो यो बगरको गाउँ नै हरायो ।’

बाढीले पहाडमा बनेका घरहरू ह्वात्तै तल झारेको थियो । विद्रुप दृश्य यस्तो देख्दादेख्दै पनि भिर मौरी जस्तै मान्छेहरू अझै भिरमै घरहरू बनाइरहेका थिए । सानो कलाती खोलाको बाढी र पहिरो ठूलो थियो ।

कुलो जस्तो बगेको खोलाकै छेउमा भेटिए शंकर लोप्चन तामाङ । डकर्मी काम गर्ने उनी कलाती घिसिङ गाउँका घिसिङ रहेछन् । माथि मगर गाउँ भनेर देखाउँथे, तर एक घर पनि थिएन । बाढीले स्वात्तै घर सिध्याएछ । अनि मान्छेहरू बजारतिर सरेछन् । अहिले मगर गाउँमा त मान्छेहरू हैन, पहिरो र रुखहरूमात्रै देखिँदोरहेछ । जति दुःख भए पनि खुशी भएर बोल्ने गाउँलेहरू मलाई मन पर्छ । शंकर ‘६० वर्ष भइयो, बुढो भएँ’ भन्दैथे, तर फुर्तिलो र हँसिलो चेहरा लिएर आफ्नोबारे भने– ‘हे सर ! मेरो त कुरै नगरौं, मेरो त छोराले काम गरेर मलाई पाल्छ, नातिनी दुइटा छन्, आठ र ६ कक्षामा पढछन् । नाति सानै छ, बुढीले जम्मा दुई वटा एक छोरा र एक छोरी पायो । म त खुशी छ, हेर्नुस् !’

भालेश्वर भन्नेबित्तिकै हामी चन्द्रागिरी बुझ्छौं । चन्द्रागिरीभन्दा पनि प्रख्यात ठाउँ रहेछ यो ठाउँ । मागे वर पाइने किंवदन्ती यहाँ पनि रहेछ । पनौती नगरपालिका- १२ मा पर्ने भालेश्वर प्रचारप्रसारले पछि परेछ । भालेश्वर भनेर गुगल हान्यो भने यो मन्दिर हैन, चन्द्रागिरी आउँछ ।

खोलाको बाढीले बाटो नै खाइदिएको छ । घरहरू खाइदिएको छ । मान्छेको सपना खाइदिएको छ, तर गाउँका मान्छे शहरका जस्तो सानो कुरामा एन्जाइटी, डिप्रेशन र फ्रस्टेशनमा जाँदैनन् । उनीहरू प्रकृति जस्तै आफ्नै लयमा चलेका छन् । नश्वर र अनित्य यो संसार उनीहरूले दमदार भाषण नगरी जीवन बुझेका छन् । जीवनमा त्यो लागू गरेका छन् । शंकरको उन्मत्त हाँसो र अव्यक्त प्रेमले मलाई पगाल्यो ।

काकतालीले पुगेको कलातीको कर्कश कल्याङबल्याङ नबोलिकनै सुने । अझै पनि त्यो दृश्य सम्झँदा त्यहीबाट अदृश्य होऔं झैं लाग्छ । घरहरू बाटोमा आएको, ढुंगा खानीको कारण ट्रिपरको दादागिरी, धम्कीको रोगी जस्तै गाडीको घ्यारघ्यार आवाज र धुलोले बस्नै नसक्ने भएको, आलुबारीको सत्यानाश भएको, घर भएको ठाउँ त ढुङ्गैढुङ्गाले छोपिएको देखेर यस्तो लाग्छ, कुनै प्राकृतिक खण्डहरमा पुगेको छु । त्यो समय, त्यो दृश्य र त्यहाँका मान्छेले पाएको दुःख देखेर हामी दुःखी भयौं, तर उनीहरू कुनै भीभीआईपीको महान वाणी झैं बोल्दैथे– ‘हामी प्रकृतिसँग पौडी खेल्दै आफूलाई बचाउँदै हिँड्ने हो हेर्नुस् सर !’ प्रकृतिसँग पौडी खेल्ने र जीवन बचाउने यो वाक्य असाध्यै सटिक लाग्यो ।

अबको यात्रा दमार डाँडातिर थियो । दमार खोलाको बगरैबगर ढुङ्गैढुङ्गाको बाटो र दुईपट्टि जंगल हुँदै हामी हिँड्दै थियौं । पानी नदेखिने दमार दमपच भइसकेको रहेछ । थोरै पानी धेरै ढुङ्गा थिए । वर्षाको बाढीले बर्बाद गर्दै वितण्डा मच्चाएको रहेछ । ढुंगामाटो खाएर दमार त ५० फिट पहिलेभन्दा अग्लो र मोटो भएछ ।

ठयाक्कै दमार खोलाको मुहानमा पुग्यौं । खोला, नदी ठूलो हुन्छ, तर त्यसको मुहान सानो हुन्छ । हिँड्दै जाऊ तिमी पनि धेरै ठूलो हुन्छौ, नरोकिऊ बगिराख खोलाले सिकायो । कति खोला तरियो, तर खोला तर्‍यो लौरो बिर्सियो भने झैं हामीले यी कुरा बिर्सिन्छौं । हामी अलमलमा पर्छौं, खोला अलमलिँदैन, नदीमा मिलिहाल्छ । हाम्रो यात्रा कहाँ कहिले कसरी रोकिन्छ हामीलाई थाहै हुँदैन । खोला, नदी, सागर, महासागर बन्न रोकिँदै रोकिँदैन । बस उसले नाममात्र परिवर्तन गर्दै लैजान्छ कर्मअनुसार । खोला, नदीबाट हामीले कहिले सिक्ने भन्ने लागिरह्यो ।

त्यहाँ पहाडबाट अविरल बगेको मूलको पानीको एक ट्यांकी बनाइएको रहेछ । अचम्म लाग्यो– त्यही ट्यांकी नै खोलाको मुहान रहेछ । यो कुरा हाम्रा गाइड रामकृष्ण श्रेष्ठले बताएपछि म त छक्कै परें । सानो धारो नै ठूलो खोलाको मुहान । अनि सम्झें, बागमतीको मुहान बाघद्वार पनि त धारो नै छ । विष्णुमतीको मुहान विष्णुद्वारमा पनि त पानी थोरै नै छ । इन्द्रावती नदीको मुहान पाँच पोखरी पनि त सानै छ । सानो मुहानको ठूलो परिवर्तनमा खोला र मान्छेको धेरै कुरा सम्झें, त्यो लेख्दा यहाँ यसमै जान्छ भो त्यता नजाऔं । रामृकष्ण भन्दै थिए– ‘त्यो ट्यांकीको पानी कलातीको शिर भालेश्वरसम्मको लागि खाइन्छ । रातभर पानी जम्मा गरेर मिटर सिस्टममा वितरण हुन्छ सर ।’

खोलाको बाढीले बाटो नै खाइदिएको छ । घरहरू खाइदिएको छ । मान्छेको सपना खाइदिएको छ, तर गाउँका मान्छे शहरका जस्तो सानो कुरामा एन्जाइटी, डिप्रेशन र फ्रस्टेशनमा जाँदैनन् । उनीहरू प्रकृति जस्तै आफ्नै लयमा चलेका छन् ।

प्रकृतिको सिर्जनाको अगाडि हामी कति साना ! पहाडबाट बगेको पानीको एक ट्यांकी बनेको छ । अनि त्यसबाट निक्लेको पानी मिटर सिस्टममा बेचेर साराले पानी खाएर पनि त्यो खोला बनेको छ । मान्छे आफू कति ठूलो ठान्छौं हामी । यी खोला हजार वर्ष कम्तीमा बाँच्छन् । सय वर्षको लागि कन्ट्र्याक्टमा पृथ्वीमा आएको मान्छेको कत्रो फुर्ती हुन्छ भन्ने लागिरह्यो यो बगिरहेको ट्यांकीको पानी हेरिरहँदा ।

सँगै थियो दमार गुफा । पृथ्वीभित्र छिर्ने द्वार हो गुफा । मलाई गुफाको अत्यास मज्जा लाग्छ । के हुने हो भन्दै केही नहुनेगरी बाहिर आउँदाको आनन्द अर्कै लाग्छ । यो पालाको मेरो लागि आकर्षण यो गुफा पनि थियो । ह्याप्पी हाइकर्सले धेरै गुफा लगे पनि उनीहरूले लगेको गुफामा मेरो पाइलो यो पहिलो थियो । हेर्छु, गुफा त गुम्म भई गुम्सिएछ । बाढीले ब्लक भएछ । अलिकति गएपछि पुरिएछ । १६० मिटर लामो भनिएको गुफा त ढुङ्गाको ककारो जस्तोमात्रै भएछ । टर्च बालेर छिरेको त केही बेर अगाडि गएपछि बाटो वन वे भए जस्तै त्यतैबाट फर्कियौं ।

मज्जाले त्यो खोलाले बनाएको ढुङ्गे बगरमा सुस्ताएर ढुङ्गामाथि बसेर फोटो खिचेर आफू आफूले ल्याएको खाजा खजाना खस्राकखुस्रुक गर्दै खायौं । अब हाम्रो यात्रा लामगैरा डाँडा थियो । एकै छिनमा ढुङ्गे बगर र पहिरो पास गरेर मस्तको जंगलको बाटो समायौं । एक जनामात्र हिँड्ने मिल्ने त्यो बाटोमा हामी ३४ जना थियौं । मान्छे पनि कुनै कार, जीप, साइकल, मोटरसाइकल र १२ पाङ्ग्रे गाडी जस्तै हुँदो रहेछ भन्ने त्यहाँ बुझियो ।

हाइकर निराकार श्रेष्ठ फोटो खिचिरहन्थे । उनलाई सर्लक्क परेको कार जस्तै सुलुत्तै चिप्लिएर अगाडि जानुपर्ने हुन्छ, तर १२ पाङ्ग्रे गाडीले बाटो छेके जस्तै उकालोमा ठसठस कन्दै हिँड्ने केही हाइकर्सको पछाडि परियो । मलाई पनि ओभरटेक हान्दै उकालोमा अगाडि अगाडि गएर जंगलमा देखिने चरा हेर्न मन लाग्ने । हामी दुबै जाममा पर्‍यौं । केहीबेर पछि जे त पर्ला भनेर टर्निङमा पनि ओभरटेक हाने झैं हानेर अगाडि गइयो । माथि उकालोबाट तल हेर्दा क्या मज्जाको सुन्दर गाउँहरू देखिन्थे । केही चरा देखियो, रुखहरूको सुगन्ध, पतकरको सर्‍याकसर्‍याक संगीत, रुखको बीचबीचबाट आर्ट झैं देखिने नीलो आकाश, चराको सुसेली बैशाख १३ गतेको शनिबारको सुन्दरता थियो ।

हाइक हिँड्दा कोदालो र हँसिया बोकेका थिए गाइड रामकृष्णले । किन बोकेछन् भनेको त बीचबीचमा झालले बाटो बन्द जस्तै गर्थ्यो । त्यहाँ उनले काट्थे । उनीसँगै टोली नेता राजाराम र म हिँडिरहेका थियौं । मज्जाको उकालो बाटो हिँडिरहेका थियौं । नमज्जाको बाटो आयो । यस्तो भीषण पहिरो आयो कि अब बाटै कहीँ पनि छैन । त्यहाँ हिँड्यो भने सीधै २०० फिट तल झरिने प्रस्टै थियो । बाँदर लड्ने भिर भन्ने सुनेथें, त्यो त्यस्तै थियो । बाख्रा पनि हिँडन नमिल्ने गरी बाटो बन्द रहेछ । अब के गर्ने ? सब अलमलमा परे ।

मज्जाको उकालो बाटो हिँडिरहेका थियौं । नमज्जाको बाटो आयो । यस्तो भीषण पहिरो आयो कि अब बाटै कहीँ पनि छैन । त्यहाँ हिँड्यो भने सीधै २०० फिट तल झरिने प्रस्टै थियो । बाँदर लड्ने भिर भन्ने सुनेथें, त्यो त्यस्तै थियो ।

रामकृष्णले कोदालो झिके र पहिरोमा खन्दै बाटो बनाए । त्यही बाटोमा चार हातखुट्टा टेक्दै हिँडियो । बाटोमा उनी खन्दै जान्थे । हामी रोकिन्थ्यौं । अनि अलि अगाडि हिँड्थ्यौं । डरलाग्दो समय जितेको यात्रा नै रोचक हुन्छ । अहिले सम्झँदा त्यो रोचक र रमाइलो छ । त्यतिबेला हाम्रो मधु दाइलगायतका मान्छे डराएर हैरान व्यहोरेको सम्झँदा एक अत्यास लाग्ने समय थियो । बाटै नभएको र बाटो बनाउँदै हिँड्न पनि पर्ने हाइक हुँदोरहेछ भन्ने अनुभव बोकियो ।

अबको यात्रा छ्याङले डाँडा थियो । डाँडा सुन्दर हुन्छ । त्यहाँबाट दायाँबायाँ देखिँदा अझ आफूलाई अहंकारयुक्त आनन्द आउँछ । मैले डाँडा चढें भन्ने फुर्ती पनि आउँछ मनमा । डाँडा चढ्दै जाँदा केहीबेरमा पानीघाट आइपुग्यो । जंगलको बीचमा गाउँमा पानी लैजाने मुहान रहेछ त्यो । चिसो पानी फ्रिजमा राखेभन्दा चिसो थियो । रामकृष्णले ढकनी उघारेर, पाइप थुतेर थाकेको मान्छेहरूलाई पानी हैन, अमृत पिलाए । मलाई पानी जस्तो अमृत केही लाग्दैन पृथ्वीको । जेसुकै चिज बन्न पानी चाहिने देखेर देख्दा सामान्य जहीँतहीँ भएको पानी नभएपछि के होला भन्ने लाग्छ ! अफ्रिकाका केही ठाउँमा आफ्नो पुर्खाको लागि पानी जोगाउन हप्ताको दुई पल्टमात्रै नुहाएको समाचार पढेपछि हामीलाई पर्याप्त पानी दिने प्रकृति र देशप्रति कृतज्ञता जाहेर गरिरहेको छु ।

हिँड्नु नै थियो । हिँड्दै जंगलको बाटो हुँदै ठिम्रे सल्लाघर भोटेचउर सामुदायिक वनको सुन्दरताको आनन्द लियौं । विस्तारै अमिलो पानीतिर जाने घाँस दाउरा गर्ने सडक समात्यौं । जंगलको त्यो बाटो उकालैउकालो थियो, तर बहुत सुन्दर थियो । पाकेको ऐंसेलु खाँदै हिँड्दाको रमाइलोको व्याख्या पहेंलो टोप्रे ऐंसेलुभन्दा सानदार थियो ।

एकै छिनमा देखियो डाँडागाउँ र पार्थली । सुन्दर फूलहरू फुलेको देख्दा मन नै मनोरम भयो । पुरानो घर भएको बार्दलीसहितको अमर होम स्टेको पिँढीमा पदयात्रा गर्दै पुग्यौं । पिँढीमा चकटी राखिएको थियो । केही साथीहरू सोमरस लिन बार्दलीतिर बतासिए । सोमरसमा समाहित नहुने हामीले फलिरहेको फूल, बकुला, टमाटर र परको प्रकृति हेर्न थाल्यौं । फोटो र भिडियो लिन थाल्यौं । भिरमा भएको मन्दिरमा गएको पहिरो र बाटो अर्काे पाला भिरसहित नै झर्ने हो कि भन्ने डर लाग्यो ।

त्यो होम स्टे बहुत चलेको रहेछ । बेथानचोक- ४ नम्बरमा पर्ने त्यो होमस्टे हाम्रै गाइड रामकृष्णका छोरा अमरले चलाएका रहेछन् । त्यहाँ एक दिन बसेको खाजा र दुई छाक खानासहित १ हजार ५०० रूपैयाँ लिने रहेछ । एकै छिनमा खाना आइपुग्यो । अरु त सबै खाएको हो, सिस्नुको तरकारी भने पहिलो पल्ट खाएँ । सिस्नुले सिकायो– काँचो र पाक्नुको फरक । काँचो सिस्नुले पोल्छ, फोका उठ्छ, तर पाकेको सिस्नुले आनन्द दिने रहेछ । मान्छे पनि काँचोको संगतभन्दा पाकेको गर्नु राम्रो झैं लाग्यो । बिहान ८ बजे भालेश्वरबाट भौतारिएका भद्रभलादमीहरू १ बजे त्यहाँ पुगेका थियौं ।

अरु त सबै खाएको हो, सिस्नुको तरकारी भने पहिलो पल्ट खाएँ । सिस्नुले सिकायो– काँचो र पाक्नुको फरक । काँचो सिस्नुले पोल्छ, फोका उठ्छ, तर पाकेको सिस्नुले आनन्द दिने रहेछ । मान्छे पनि काँचोको संगतभन्दा पाकेको गर्नु राम्रो झैं लाग्यो ।

हामीले खाना खाइसके पनि देवताले पान गर्ने सोमरस खाइरहने साथीहरूलाई कुर्दाकुर्दै साढे तीन बज्यो । आज त समय थियो केही छैन । कहिलेकाहीँ ढिला भएको बेलामा पनि हाइकिङमा सोमरस पान गर्ने देवजनले गर्दा हामी सोमरस नखानेको दयालु स्थिति बन्छ । बार्दलीको रमाइलो हेर्दै बुढीलाई मनपर्ने बकुला लिएर बोटविरुवा हेर्दै पार्थलीतिर प्रस्थान गरियो ।

०००

मान्छे देखेर प्रकृति हाँस्छ । प्रकृति देखेर पनि मान्छे हाँस्ने रहेछ भन्ने खोई त कसरी भनेर यहाँहरूले सोध्नुहोला ! खै त यो हाइकले सिकाएको कुरा भन्नु होला । अब यतातर्फ लागौं । यो यात्रामा देखें । मान्छेले पटकपटक प्रकृतिलाई हेपेको छ । भीर, खोलाको छेउमा घर नबनाऊ, यो मेरो ठाउँ हो भन्छ प्रकृतिले । मान्छे भने घर त्यही बनाउँछ । मान्छेले देखिस् प्रकृति मैले तिमीलाई जितेर घर बनाए भन्छ र मान्छे हाँस्छ । प्रकृतिलाई कुन दिन झोंक चल्छ र मान्छे बसिरहेको ठाउँ नै भग्नावशेष बनाइदिन्छ ।

प्रकृति र मान्छेबीच चलिरहेको संघर्ष हरेक पुर्खाले हरेक समय भोगेको छ । प्रकृतिको विनाश गरेपछि कोरोना जस्तो रोग आएको केही समय नै भएको छैन । बाढी-पहिरोले ल्याउने विनाश र मृत्यु त हामीले अर्काे असोज आउँदा नै बिर्सन्छौं । प्रकृति र मान्छे हाँस्ने टग अफ वार चलिरहेको छ । एक दिन वरिष्ठ साहित्यकार वैरागी काइँलाले मुन्धुमको व्याख्या गर्दै भन्नुभएको थियो– ‘भगवानले खोला बनायो खुशी भएन, पहाड बनायो खुशी भएन, खोलाहरू बनायो खुशी भएन, चराहरू बनायो खुशी भएन, फूलहरू बनायो खुशी भएन । जब मान्छे बनायो अनि आफैं बनाए झैं लाग्यो र भगवान सबैभन्दा बढी खुशी भयो ।’

अनि भगवानले भन्यो रे– ‘मैले तिम्रो लागि खोला, नदी, पहाड, हिमाल, समुन्द्र, जंगल, फूल, फल सब बनाएर पृथ्वीमा पठाएको छु । तिमी राम्रो पारेर फर्कनु ल ।’ वैरागी बा सुकेधाराको घरमा बसिरहनु भएको छ । मुन्धुममा लेखिएको कुरा भनेर अहिले पनि शब्दको भन्दा लवजको मिठासले बोल्नुहुन्छ । वैरागी बासँग विमर्श गर्दै हामी भन्थ्यौं । मान्छे भने भगवानले भनेको बिर्सिएर प्रकृतिको सन्तान भएर प्रकृतिमाथि नै क्रूर र कृतघ्न छ, प्रकृतिमा भए जति उसैलाई चाहिन्छ र बदलामा उसले केही गर्दैन । जंगल काटेर बाटो बनाउँछ, रुख रोप्दैन । पानीजहाज चलाउँछ, तल माछालाई के भयो होला भन्दैन । हवाईजहाज उडाउँछ, चराहरूले के सोचे भन्ठान्दैन ।

गललल पृथ्वी हाँस्छ रे र भन्छ रे– ‘हिजो यति बिघा, रोपनी मेरो भन्दै यसको हजुरबाउ आयो । आज रोपनी र आना मेरो भन्दै छोरानाति आए । भोलि फेरि यति स्क्वायर फिट मेरो भन्दै अरु झनातीखनाती आउने होलान् ! जमिन यही छ, म यही छु । नाप्ने कति आएका हिहिहि !’

भगवानले बनाएको यो सृष्टिको भोग ऊमात्रै गरौं भन्छ । तैपनि उसलाई पुग्दैन । सबै प्राणीको आयु उही लिन्छ, तर पनि उसको आयु दीर्घायु हुँदैन । एक सानो सुन्तलाको बीउ रोप्दा त्यत्रो सुन्तला फल्छ, तर उसलाई पुग्दैन । एक सानो धारो खोला नदी बन्छ, उसैलाई पुग्दैन । एउटा भैंसीले त्यत्रो बेत दूध दिन्छ । बुढो भएपछि त्यसैलाई काट्छ । मान्छेको कृतघ्नताको हद कति हो ? कति यति गर्दा पनि मान्छे सुखी, खुशी र आनन्दमा छैन । प्रकृतिले हरसमय आनन्दको लागि बनाएको छ, तर ऊ कहिल्यै आनन्दित हुनै सक्दैन । सिँगो मान्छेको सारा पीडा लिएर प्रकृति हाँस्दा पनि मान्छे हाँस्नै सक्दैन । प्रकृतिलाई जिते भनेर हाँसेको मान्छे एकै छिनमा रोएको देखेर प्रकृति हाँस्न थाल्छिन् रे !

यही हाइकमा पनि पहिरो र बाढी देख्यौं । प्रकृतिको विद्रुप रूप देख्यौं । अर्काे प्रकृति हाँस्ने कुरा सम्झें । खण्डहर भएको त्यो कलातीको मगर गाउँमा कति मगरहरू थिए होलान् ! त्यहाँ मेरो र तेरो भनेर जग्गा नापेर हजुरबा र बाहरूले लडाइँ पनि कति गरे होलान् । एक छिन प्रकृतिले लीला देखाउँदा सब गायब भए ।

पृथ्वीमा हामीले हाम्रो जग्गा भनेर फित्ता लिएर बित्ता नछाडी मेरो मेरो भनेर झगडा गरेको देखेर पृथ्वी मस्तले हाँस्छिन् रे ! हेर यो मान्छे हिजो यसको बाजेबराजु, बाउले यस्तै गर्थ्यो, आज फेरि फित्ता र बित्ताको कुरा गर्दै यो विनाबित्थामा आयो भन्दै गललल पृथ्वी हाँस्छ रे र भन्छ रे– ‘हिजो यति बिघा, रोपनी मेरो भन्दै यसको हजुरबाउ आयो । आज रोपनी र आना मेरो भन्दै छोरानाति आए । भोलि फेरि यति स्क्वायर फिट मेरो भन्दै अरु झनातीखनाती आउने होलान् ! जमिन यही छ, म यही छु । नाप्ने कति आएका हिहिहि !’

हामी प्रकृतिमाथि विजय गर्‍यौं भनेर हाँसेको देखेर प्रकृति हामीमाथि हाँस्ने रहेछ । हामी हाँस्दाहाँस्दै रोएको देखेर प्रकृति हामीमाथि हाँस्ने रहेछ । पहाड चढ्यौं भनेर हामी हाइकर्स गमक्क परेको देखेर पनि प्रकृति हाँसेकी होलिन् भन्ने लागिरह्यो । प्रकृति हाँस्ने हामी रुने पृथ्वीमा कहिलेसम्म ? पृथ्वी हाम्रो सारा फोहरमैला लिएर भएभरको बोझ लिएर पनि हाँसिरहेको छ । हामी भने एकै छिन प्रकृतिलाई विजय गर्‍यौं भनेर हाँस्छौं र फेरि रुन थाल्छौं । यसो गर्दा पृथ्वी वा प्रकृति हाँस्ने हामी रुने कहिलेसम्म यो पृथ्वीमा भन्ने लागिरहेछ ।

प्रकृति वा पृथ्वीले दिएको सौन्दर्यपान गर्दै सुखसयलले मस्तव्यस्त जिन्दगी जिउने कहिले हो मान्छेले भन्ने लाग्यो । ऋतुहरू दिएको छ, लौ हाँस भनेर त्यही जाडो, गर्मी, वर्षा भनेर हामी हाँस्दाहाँस्दै रुन्छौं । यो देखेर पनि प्रकृति वा पृथ्वी मस्तले हाँस्छिन् । हामी भने यो भएन, त्यो भएन भनेर किन रोइरहने ? सुगन्ध, सुमधुरता, सौहार्द, सुरम्यको सुतन लिएर सुपाठ पढेर हिँड्ने गरौं । यो पालाको हाइकिङले यस्तै सिकायो । यस्तै कुरा सिकेर पार्थलीबाट प्रस्थान गरेको तीन घन्टामा घर आइपुगें र हाइकिङ सकिएको घोषणा गरें । घर आउँदा लगभग ७ बज्दै थियो । पहिलो पल्ट चाँडै समयमा घर आइपुगेको अनुभूति गर्दै यो लेख तयार पारें ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *