रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा हाल्दा रूपन्देही जिल्ला प्रहरीले छलछाम गरेको आशंका उत्पन्न भएको छ । एक सहकारी बचतकर्ताले आफूले बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप सार्वजनिक रूपमा लगाएका छन् ।
रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका एक नारायण पहराईले आज फेसबुकमा स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो ।
पहराईले आज लेखेको स्टाटस यस्तो छ
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएँ । मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो ।
एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ । ‘नारायणबहादुर पहराईसमेतको जाहेरीले बादी नेपाल सरकार’ भनेर रूपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो । मैले बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ, तर रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन ।
करोड-करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन । म जस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं, तर यत्रो समय बित्यो, खै त ? संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस ग¥यो भनियो, तर सरकारले ती सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन ।
केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम ग¥यो ? केही गरेको छैन । बरु हामी जस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि ! म कोही व्यक्ति लक्षित थिइन, छैन ।
मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु । हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिबद्ध छौं । हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं ।
विधि-प्रक्रिया, अड्डा-अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसेँ । न्यायका नाममा पीडितलाई मात्र होइन, अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ । निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गरौं ।
रूपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो ।
सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले संयुक्त जाहेरीमा एक जनाले फिर्ता लिँदैमा केही फरक नपर्ने र मुद्दा प्रभावित नहुने बताए ।
‘यसमा पीडित धेरै छन्, सुरुमा नाम रहेकाले फिर्ता गरेर केही हुँदैन’, उनले नेपाल प्रेससँग भने, ‘यदि सबै पीडितले हामी पीडित होइनौं भने त मुद्दा नै किन चाहियो र ?’
उनले थपे, ‘बलात्कार मुद्दा भएको भए पीडितले म पीडामा छैन भनेपछि मुद्दा प्रभावित हुन सक्थ्यो, तर यो सामूहिक ठगी भएकाले र धेरै पीडित भएकाले एक जनाले भन्दैमा केही हुँदैन ।’
जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर हुँदा इप्रका बुटबलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए । उनको सरुवा भएर राना आएका हुन् । आफू पछि आएकाले व्यक्ति विशेषबारे अनभिज्ञ रहेको रानाले बताए ।
तर प्रहरीले कसैको पनि सहमतिविना नाम मुछ्नुपर्ने आवश्यकता नहुने उनी बताउँछन् ।
किन यतिञ्जेलसम्म मौन बसे पहराई ?

पहराई सामान्य होटल व्यवसायी हुन् । उनले बुटवलको सुप्रिम सहकारीमा मासिक एक हजार रूपैयाँ जम्मा गर्ने गरेका थिए ।
नेपाल प्रेससँगको कुराकानीमा उनले करिब एक वर्ष अगाडि एक्लै गएर उजुरी दिएको बताए । आफूले पैसा फिर्ता आउँछ भनेर उजुरी दिएको, तर त्यसमा रविको नाम नभएको उनको भनाइ छ ।
पहराईले आज फेसबुकमा स्टाटस लेखेपछि उब्जिएको प्रश्न हो, यो विषयमा यतिञ्जेलसम्म किन मौन बसे ? आफ्नो सहमतिविपरीत नाम प्रयोग गरिएकोप्रति उनले पहिल्यै किन आपत्ति जनाएनन् ?
पहराईसँगको टेलिफोन संवादमा हामीले यी प्रश्न सोध्यौंः
उनले भने, ‘सुरुमा त मैले खासै वास्ता गरेको थिइनँ । अदालतले नै सबै छिनोफानो गरिहाल्छ भन्ने थियो । साथीहरूले पनि केही हुन्न नआत्तिनुस् भनिरहेका थिए, तर यो झमेला लामो समयसम्म पनि टुंगिएन । लगातार मेरो नाम आएको आई गर्न थालेपछि अब त बोल्नुपर्छ भन्ने लाग्यो । धेरै साथीहरूसँग सल्लाह पनि गरेँ ।
– कतिले त रविकै मान्छेले तपाईंलाई फकाएर वा दबाब दिएर लेख्न लगाएको भनेर पनि आंशका गरेका छन् नि ?
मलाई कसैले केही भनेको छैन । हाम्रो समुदाय छ, पाल्पा सम्पर्क समाज भन्ने । उहाँहरूसित मैले योबारेमा धेरै छलफल गरेँ । नाम आइरह्यो के गर्ने ? मैले केही गर्नुपर्ने कि नपर्ने भनेर सल्लाह लिएँ । पछि आफैंले होइन, गर्नुपर्छ भन्ने लाग्यो ।
– तपाईंको सुप्रिम सहकारीमा कति पैसा डुबेको छ ?
हामीले दैनिक एकएक हजार जम्मा गर्थ्यौं । ४८ हजार जति होला मेरो जम्मा भएको ।
– उजुरी कहिले दिनुभएको हो ?
ठ्याक्कै याद छैन, तर एक वर्ष जति भयो होला । त्यसबेला सहकारी ठगीमा रवि लामिछानेको नामै आएको थिएन ।
मैले एउटा फेसबुकमा पोस्ट दिएपछि निवेदन दिन गएको हो । एक जनाले जो-जो निवेदन दिन छुट्नुभएको छ, ट्राफिक चोकमा जम्मा हुन भनिएको थियो । म गएँ, तर कोही भेटिनुभएन । त्यहाँ नजिकै पुलिस बिट छ । मैले त्यहाँ सोधेँ, यस्तो यस्तो कार्यक्रम थियो, कहाँ जानुपर्ने हो भनेर । उहाँहरूले इलाकामा जानुस् भन्नुभयो । इलाकामा जाँदा पनि कोही भेटिनुभएन । त्यहाँ प्रहरीलाई सोध्दा निवेदन लेखेर आउनुस् भन्नुभयो । मैले निवेदन लेखेर दिएँ । उहाँहरूले त्यसबेला केही भन्नुभएन । पछि फोन आउँछ भन्नुभएको थियो ।
– फेरि फोन कहिले आयो ?
मलाई कसैले पनि फोन गरेन । मैले न संघर्ष समितिको अध्यक्षलाई चिन्या थिएँ, न त कहिल्यै नाराजुलुसमा हिँडेको थिएँ । अचानक नाम आउँदा म अचम्ममा परेँ ।
– अदालतमा बयानका लागि पनि बोलाइएन ?
अहँ, बोलाइएन । कहीँ पनि बोलाइएन । नाम चाहिँ आइरह्यो । तपाईं फर्स्ट हो, मलाई यो विषयमा कल गर्ने मान्छे ।
– यो स्टाटस आफैंले लेख्नुभएको हो कि कसैलाई लेख्न लगाउनुभएको ?
म आफैंले लेखेको । धेरै नाम आइरह्यो, अब फेसबुकमा लेख्नैपर्छ भन्ने भयो । आज बिहान उठेर लेखेको थिएँ । दिउँसो त्यसलाई दुई–तीन चोटि चेक गरेर हालेको हुँ ।
– तपाईंलाई राज्यले रवि लामिछानेलाई यत्तिकै फँसाउन खोजेको हो जस्तो लाग्छ ?
यो विषयमा मलाई केही पनि थाहा छैन । म राजनीति नबुझ्ने मान्छे परेँ । रवि लामिछानेलाई न मैले चिन्या छु, न त भेट्या छु । मलाई मतलबै नभएको मान्छेसँग ट्याक्क नाम जोडिदिनुभएन नि !
– तपाईंको जस्तै अरुको पनि नाम दुरूपयोग भएको थाहा छ ?
मलाई थाहा छैन । म एक्लै उजुरी दिएको हुँ । अरुलाई चिनेको पनि छैन ।
– अब के उजुरी फिर्ता लिनुहुन्छ ?
के गर्नुपर्छ त्यो गर्छु । मेरो नाम चाहिँ आउनुभएन । कि सोधेर राख्नुपर्थ्यो । उजुरी फिर्ता लिन के गर्नुपर्छ बुझ्दैछु । म एउटा सामान्य मान्छे हुँ, यस्तो झमेलामा फँस्नु छैन ।

Leave a Reply