तीनकुनेमा राज्यले गैरकानूनी रूपमा बल प्रयोग गरेको एम्नेष्टीको ठहर

काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एम्नेष्टी इन्टरनेशनलले चैत १५ गते सरकारले गैरकानूनीरूपमा बल प्रयोग गरेको र अभिव्यक्ति तथा भेला हुने स्वतन्त्रता संकूचित पारेको ठहराएको छ ।

विश्वको मानव अधिकार अवस्था सार्वजनिक उक्त संस्थाले प्रदर्शनमाथि प्रतिबन्ध लगाएर, गैर कानूनी बल प्रयोग गरेर र प्रदर्शनकारीलाई अश्रुग्यास र घातक हतियार प्रयोग गरी बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले आलोचनालाई दबाएको उल्लेख छ ।

माइतीघरलगायत राजधानीमा भएका विभिन्न आन्दोलन, सर्लाहीको बरहथवामा प्रहरीको गोली लागी एकजनाको मृत्यु, महानगर प्रहरीको ज्यादतीको रिपोर्टिङ गर्ने पत्रकारमाथि कुटपिटलगायतका विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

पत्रकार, अभियन्ता र सामाजिक सञ्जालका आलोचकको अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो प्रतिबन्धको सामना गर्नुपरेको, महिला पत्रकारमाथिको लैंगिक हिंसालगायत धम्की, गिरफ्तारी र दुर्व्यवहारसम्बन्धी ५७ वटा घटना अभिलेख भएको, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधमा पक्राउ गरी थुनिएको पनि एम्नेष्टीले जनाएको छ ।

फेसबुकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पत्नी आरजु, प्रधानमन्त्री केपी ओलीलगायतको आलोचना गर्नेलाई विद्युतीय कारोबार ऐन अन्तर्गत गिरफ्तार गरिएको डाटा पनि उक्त संस्थाले राखेको छ ।

टीआरसी विधेयकमा जवाफदेहितासम्बन्धी कमजोरी, एलजीबीटीआइक्यू समुदायले लैङ्गिक पहिचानको कानूनी मान्यता पाउन सकस, महिला र बालिकामाथि हानिकारक अभ्यास र यौनजन्य तथा लिङ्गमा आधारित हिंसा कायमै रहेको, सीमान्तकृत थारु र दलित समुदायको अधिकार, जोखिमजन्य काममा युवाको खाडी पलायन, मनसुनजन्य विपद् प्रभावितको अधिकारको कुरा पनि एम्नेष्टीले समेटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *