प्रतिनिधि सभाबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको ‘भन्सार विधेयक, २०८१’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पेश गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएका हुन् ।

भन्सार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि अर्थमन्त्री पौडेलले विधेयकलाई पारित गरियोस् प्रस्तुत गरेको प्रस्तावमा संसद्का बहुमत सांसदले सहमति जनाएका थिए ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताएका थिए ।

त्यस्तै विधेयकमाथिको सैद्धान्तिक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सांसदले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाबाट पारित दुबै विधेयक अब राष्ट्रिय सभामा जानेछन् । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउनेछन् । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रूपमा कार्यान्वयनमा आउनेछन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदले धारणा राखेका थिए ।

दुई बिधेयक पारित भएसँगै प्रतिनिधिसभाको बैठक शुक्ररबार सम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित भएएको जानकारी गराएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *