रुपन्देही । अहिलेका ‘हट केक’ गायक दुर्गेश थापा र आफ्नै छविकी लोकगायिका ज्योती मगरको आपसी सम्वन्ध त्यति राम्रो छैन । केही दिनअघि उनीहरु सामाजिक सञ्जालमै एक–अर्कामाथि खनिएका थिए ।
गुल्मीमा जारी गुल्मी महोत्सवमा सोमबार यी दुवै कलाकार एकै दिन झुल्किएका छन् । आयोजकका अनुसार दुर्गेश जुन दिन आउँछन्, आफू पनि त्यही दिन आउने अडान ज्योतीले लिएकी थिइन् । यद्यपि, कार्यक्रममा उनीहरुको भेट भएन । ज्योती आउँदा दुर्गेश गाएर हिँडिसकेका थिए ।
अहिलेका सर्वाधिक डिमान्डेड गायक दुर्गेशलाई ल्याउन आयोजकका लागि कम्ति चुनौतिपूर्ण भएन । दर्शकले जसरी पनि दुर्गेश ल्याउनैपर्ने माग गरेका थिए । ज्योतीले पनि त्यही दिन आउने रहर गरेपछि उनीहरु थप दवावमा परे ।

एकदमै व्यस्त रहेका दुर्गेशले गाडीमा आउजाउ गर्न नभ्याउने भएपछि उनलाई हेलिकोप्टरमा ल्याइएको थियो । उनका लागि ५ लाख रुपैयाँ खर्च गरिएको आयोजकले जनाएको छ । चार्टर्ड हेलिकोप्टरमा आएका दुर्गेश त्यसैमा फर्किए ।

आयोजक गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले दुर्गेशका फ्यानहरुको दवावमा ५ लाख रुपैयाँमा सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरिएको बताए । त्यसले ह्वात्तै खर्च बढेपछि टिकट दर दोब्बर बनाउनुपरेको उनको भनाइ छ ।
‘दुर्गेशका फ्यान धेरै भएकाले जसरी पनि बोलाउनुपर्ने भयो । उहाँको कार्यक्रममा चाप रहेछ । हेलिकोप्टर चार्टर गरेरै ल्यायौं,’ उनले भने ।
ज्योतीलाई दिइएको रकम भने उनले पाण्डेले खोल्न चाहेनन् । यद्यपि, आयोजक निकट स्रोतले १ लाख रुपैयाँ उनलाई ल्याउन खर्च भएको बताएको छ ।

सोमबार साधारण टिकट २ सय र विद्यार्थीलाई १ सय बनाइएको थियो जुन नियमित दरको दोब्बर हो । टिकट दोब्बर बनाउँदा पनि दर्शक ओइरिए । ‘खर्च बढेपछि टिकट दर दोब्बर बनायौं, र पनि अहिलेसम्मकै धेरै सहभागी भए,’ पाण्डेले सुनाए, ‘करिब १० हजार दर्शक जुटे होलान्, गुल्मीमा यो संख्या निकै धेरै हो ।’
दुर्गेश चिदिचौर खेलमैदानमा दिउँसो २ः१७ बजे ओर्लिएका थिए । उनले २ः३० बजेदेखि महोत्सवमा एक घन्टा प्रस्तुतति दिए । करिब ४ बजे हेलिकोप्टरबाटै फर्किए । दुर्गेशले ‘दुश्मन हेरेको हेरै’ गाउँदा दर्शक झुमेका थिए । प्रस्तुति दिने क्रममा उनले ‘दुर्गेश नाम होइन, ब्राण्ड हो’ भन्दै आफ्ना फ्यानहरुलाई उचाले ।

एक–अर्कालाई घोचपेच
दुर्गेश प्रस्तुति दिएर फर्किएपछि ज्योती आएकी थिइन् । उनीहरुको भेट त भएन, तर स्टेजबाट एक–अर्कालाई छेडछाड गरे ।
आयोजकका अनुसार दुर्गेशले ‘कोही कोही साँप्रा देखाउने कलाकार पनि आउने रे’ भन्दै ज्योतीलाई छेड हानेका थिए । ज्योतिले पनि ‘स्टेजमा उफ्रिने स्वघोषित कलाकार पनि आएका थिए रे’ भन्दै दुर्गेशलाई छेड हानिन् ।
आयोजक समितिका अध्यक्ष पाण्डेले भने, ‘दुवैले मञ्चबाटै एक अर्कालाई सटायर गर्नुभयो । त्यसो नगरेको भए राम्रो हुन्थ्यो ।’ कृषि, पर्यटन उद्योग र व्यापार प्रवद्र्धन गर्न वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्ने छ ।

Leave a Reply