सिरहामा भारतीय नेताको नाममा पार्क बनाउँदै मधेस सरकार, राजा सलहेशको इतिहास मेट्न खाेजेकाे भन्दै विराेध

जनकपुरधाम । सिरहाको लहानस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सलहेश फूलवारीमा ‘भिमराव अम्बेडकर पार्क’ निर्माण अगाडि बढाएपछि मधेश सरकार र जनमत पार्टीका अध्यक्ष सीके राउतको विरोध सुरु भएको छ ।

सोमबार जनमतका अध्यक्ष राउत, मुख्यमन्त्री सिंह र वनमन्त्री त्रिभुवन साहले संयुक्त रुपमा सलहेश फूलवारीमा ‘भिमराव अम्बेडकर पार्क’को शिलान्यास गरे । पार्क निर्माणका लागि प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । सो बजेटले अम्बेडकरको शालिक, पानीको झरना, हात्तीको मूर्ति र प्रवेशद्वार निर्माण हुने मुख्यमन्त्री सिंहले जानकारी दिए ।

शिलान्यास समारोहमा उनले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकार योजना अघि बढाएको बताएका थिए । उनको भनाई छ– अम्बेडकर जस्तो विश्वमा प्रतिष्ठित व्यक्तिको नाममा पार्क यहाँ पार्क बनेपछि दलित तथा अन्य समुदायलाई एउटा प्रेरणा मिल्नेछ ।

तर, मधेश सरकारको अमबेडर पार्क निर्माण कार्यको पासवान समुदायले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ सिरहाका सह–सचिव धर्मेन्द्र पासवानले सलेह फूलवारीमा अम्बेडर पार्क निर्माण गर्दा राजा सलहेशको इतिहास तथा पहिचान मेटिने टिप्पणी गरे ।

उनले भने, ‘सलहेश फूलवारी १३/१४औं शताब्दीका महानायक राजा सलहेशको जीवन, वीरता र कथासँग जोडिएको पवित्र स्थल हो । यदि अमबेडकर पार्क बनाइन्छ भने राजा सलहेशको इतिहास र गाथा ओझेलमा पर्न सक्छ । यहाँ अम्बेडकर पार्क बनाउने निर्णय सच्याइयोस् ।’ उनले प्रदेश सरकार अम्बेडकर पार्क बनाउने निर्णय नसच्याए कानूनी उपचार खोज्ने चेतावनी समेत दिए ।

यस्तै दलित अगुवा सोभित पासवानले पनि सलहेश फूलबारीमा अम्बेडरको पार्क बनाउने प्रदेश सरकारको निर्णय अपरिपक्क भएको बताउँछन् । उनले एउटा इतिहासि मेट्ने गरी अर्को इतिहास बनाउन खोज्नु जायज नभएको बताए । उनले अम्बेडकर पार्क बनाउन उपयुक्त ठाउँको चयन गर्न प्रदेश सरकारलाई सुझाए ।

उनले सलहेश फूलबारीमा अम्बेडकर पार्क निर्माण प्रदेश सरकारले अगाडी बढाएकाले सो विषयमा आवश्यक निर्णय लिन पासवान समुदायका अगुवाहरुको बैठक बोलाउने तयारी गरेका छन् । आज दिउँसो ३ बजे मिर्चैयामा छलफल राखेको र त्यसपछि आवश्यक निर्णय उनले उनको भनाई छ ।

राजा सलहेश र भीमराव अम्बेडकरको इतिहास फरक छ ।

राजा सलहेश १३/१४औं शताब्दीका राजा थिए । सिरहामा सलहेशसँग इतिहास जोडिएको चार स्थान छ– मानिकदह, पकियागढ, सलहेश फूलवारी र सिरहा सदरमुकाम । भनिन्छ– राजा सलहेश नित्यदिन मानिकदहमा स्नान गर्थे, पकडियागढमा कुस्ती खेल्थे, सलहेश फुलवारीमा फूल टिप्थे र सिरहा सदरमुकाम जहाँ दरबार थियो, त्यहाँ पुगेर पूजापाठ गर्थे । यी सबै स्थानमा हरेक वर्ष वैशाख १ र २ गते विशाल मेला लाग्छ ।

जहाँ अम्बेडकर पार्क बनाउन लागेको छ, त्यो फूलवारी लहान बजारदेखि करिब चार किलोमिटर पश्चिम–दक्षिणमा पर्छ । फुलवारी ९ बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ रहेको हारमको बोटमा प्रत्येक वर्ष वैशाख १ गते मात्र माला आकारमा फूल फूल्छ ।

यही अनौठो फूल हेर्न पनि टाढा–टाढाबाट श्रद्धालु आइपुग्छन् र विशाल मेला लाग्छ । फूलबारीमा राजा सलहेस र मालिनीको छुट्टा–छुट्टै गहबर (मन्दिर) छ । सलहेशलाई पासवान समूदायले कुलदेवताको रुपमा पुज्छन् ।

भीमराव अम्बेडकर भारतीय नागरिक थिए । सन् १९४७ मा जारी भएको भारतीय संविधानको मस्यौदाकार हुन् । दलित समुदायका उनले भेदभावविरुद्ध समानताको पक्षमा विशेष संवैधानिक प्रबन्ध गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए । त्यसैले उनलाई अहिले पनि भारतमा सम्मान गरिन्छ ।

तर, उनको नाममा सलहेश फूलवारीमा पार्क निर्माणको कार्य अगाडी बढाएपछि विरोध भइरहेको छ ।

यूवा अभियन्ता मुना यादवले डा.भीमराव अम्बेडकरप्रति उच्च सम्मान रहेपनि उनको नाममा पार्क बनाउन सरकारले उपयुक्त स्थान चयनमा चुकेको बताए । सलहेश फुलवारीमा राजा सलहेशको इतिहास र वीरताको संरक्षण तथा विश्वभर प्रचारप्रसार हुने कार्य गर्नुपर्ने बताए ।

उनले भने, ‘राजा सलहेशको इतिहास हामी सिरहाबासीको अस्तित्वसँग गाँसिएको छ । यसलाई मेटाउने होइन्, अझ संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । ऐतिहासिक सम्पदा मास्न खोज्दा हामीलाई स्वीकार हुन्नँ ।’

अम्बेडकर पार्क निर्माणको विरोध सुरु भएपछि मधेशका योजना आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लेखेका छन्– अन्तोगत्व अम्बेडकर पार्कको जग राखियो । सिरहाको सलहेश फुलवारी नजिककैको यो ठाउँ गत असोजमै टुङ्गो लागे पनि बुझिनसक्ने अवरोध रह्यो । सायद अम्बेडकर को हो ? राम्रोसँग नबुझेका होलान् वा बुझ पचाएका होलान् । खैर, यिनको इतिहास पनि कुनै बेला लेखिएला ।’

साहले अम्बेडकर न्यायिक समाजको चेतनाको प्रतिक, शोषित वर्ग र जातिय उत्पीडनविरुद्ध समावेशीता र समानताको निर्देनिर्देश, उत्पीडित समुदायका लागि राजनीति चेतना र प्रगतिशिल सोचको प्रतिनिधित्व रहेको तर्क गर्दै उनको हाम्रो देशको यूनिभर्सिटी वा कलेजमा पनि चाहिने उल्लेख गरेका छन् ।

Comments

One response to “सिरहामा भारतीय नेताको नाममा पार्क बनाउँदै मधेस सरकार, राजा सलहेशको इतिहास मेट्न खाेजेकाे भन्दै विराेध”

  1. ksp pyl Avatar
    ksp pyl

    यिनीहरू कसको लागि काम गरिरहेका छन् मधेशका जनताले बुझ्नुपर्छ । यिनले मौका पाए देश बेच्छन् । रैथाने मधेशीलाई भा. रू. मधेशीले थिचेर राखेका छन् । रैथानेले भा.रू लाई पाठ पढाउनु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *