चलचित्र ‘खेल’ को रिलिजपूर्व राजनीतिक विषयमा दिएको अभिव्यक्तिका कारण अभिनेत्री सुरक्षा पन्त विवादमा तानिएकी छन् । राजावादीहरूले उनको प्रदर्शनरत चलचित्र ‘खेल’ वहिष्कार अभियान नै चलाए ।
एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षाले पूर्वराजा ज्ञानेन्द्र र उनका नाति हृदयन्द्रको विषयमा टिप्पणी गरेकी थिइन् । टिप्पणी गर्ने क्रममा उनले आफूलाई गणतन्त्रवादी कित्तामा उभ्याइन् र यही नै उनका लागि अभिषाप बनिरहेको छ । त्यसमाथि हृदयन्द्रलाई चलचित्रमा अभिनय गर्न उनले दिएको सुझावलाई राजावादीले ठूलै अपमानका रूपमा लिएका छन् ।
त्यसो त सामाजिक सञ्जालमा सुरक्षाको प्रशंसा गर्ने पनि कम छैनन् । गणतन्त्रवादीहरूले उनलाई ‘बौद्धिक नायिका’ को पगरी लगाइदिएका छन् । गणतन्त्र पक्षधर राजनीतिकर्मीहरूले समेत उनको समर्थन र बचाउमा अभिव्यक्ति दिइरहेका छन् । तर, समर्थकभन्दा आलोचकको आवाज बाक्लो र चर्को छ ।
०००
गत वर्ष प्रकाश सपूतको लेखन, निर्देशन र अभिनय रहेको चलचित्र ‘वसन्त’ रिलिज भयो । ‘वसन्त’ प्रतिक्षित चलचित्रमध्ये एक थियो । गीतमा मीठा कथा मिसाउन सिपालु प्रकाशको पौने ३ घण्टाको चलचित्रप्रति दर्शकको अपेक्षा बेग्लै थियो । यद्यपि यो चलचित्र व्यापारीकरूपमा फ्लप भयो ।
चलचित्र रिलिज हुनुभन्दा केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा प्रकाश सपूत विवादित बनिरहेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा लिखित एक पुस्तकको कार्यक्रममा उपस्थित भएर दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि गालीगलौजको वर्षा भएको थियो । सो कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको प्रशंसामा केही शब्द खर्चिएका थिए, त्यही नै उनलाई भारी पर्यो ।
एमाले र ओलीको ‘झोले’ भन्दै सपूतमाथि तुच्छ गालीहरूको वर्षा भयो । त्यही गालीहरूको घानमा किचिएर सपूतको वसन्त ‘शहीद’ भयो । ३ करोड लगानीमा निर्माण भएको ‘वसन्त’ बक्स अफिसमा धेरै दिन टिक्न सकेन ।

नेपालमा भने व्यवस्थाको पक्षाधरता लिएकै आधारमा सुरक्षाहरूलाई असुरक्षित महसुस बनाइनु संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकमाथिको प्रहार समेत रहेको निर्देशक लामाको भनाइ छ ।
नेपाली जनताले राजतन्त्र फालेको दुई दशक पुग्नै लाग्यो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अगाडि बढिसकेको छ । २०७२ सालको संविधानले पूर्वराजपरिवारलाई आमनागरिककै दर्जामा राखेको छ । अनि वर्तमान व्यवस्थाले नागरिक सर्वोच्चताको पक्षधरता लिन्छ ।
संविधानले निर्दिष्ट गरेको त्यही नागरिक सर्वोच्चताको पक्षधरता लिँदा सुरक्षामाथि साइबर हमला भइरहेको छ । आफूमाथि सामाजिक सञ्जालमा भइरहेको गालीगलौजप्रति सुरक्षाले कानूनको सहारा लिने विकल्प छ । यसमा विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार महिलामाथिको दुव्र्यवहारसम्बन्धी कानून आकर्षित हुन सक्छ, जसमा आरोप प्रमाणित भए पाँच वर्षसम्म जेल र एक लाखसम्म जरिबाना तोकिएको छ । तर, प्रकाश र सुरक्षा दुवैले कानूनी उपचारको खोजी गर्ने विकल्प रोज्न सकेका छैनन् ।
कलाकारले राजनीतिक पक्षधरता लिन नपाउने ?
फरक-फरक प्रसंगमा बोले पनि सुरक्षा र सपूतले उस्तै प्रहार खेप्नुपर्यो, सञ्जालमा तुच्छ गाली र चलचित्र बहिस्कार ! सुरक्षाले गणतन्त्रको पक्षधरता लिइन्, गाली खाइन् । सपूतले त्यही गणतन्त्र ल्याउन भूमिका खेलेकामध्ये एक नेता ओलीको प्रशंसा गरे, गाली खाए । अनि दुवैको चलचित्र बहिष्कारको घानमा परे । निर्माताको करोडौं रुपैयाँ डुबानमा पर्यो ।
फरक-फरक सन्दर्भमा सुरक्षा र प्रकाशले गाली खानुको पछाडि धेरै कारण कारक रहेको बताउँछन् निर्देशक दिपेन्द्र लामा । उनी भन्छन्, ‘राजनीतिकरूपमा स्थिरता छैन । गणतन्त्रले ल्याएको उपलब्धि संस्थागत हुन बाँकी नै छ । वैचारिक बहस हुन जरुरी छ । यस्तो वेला कलाकारले कुनै व्यवस्था वा राजनीतिक विचारको पक्षधरता लिँदा लखेटाइ खानु राजनीतिक, धार्मिक असहिष्णुता बाहेक अर्थोक केही होइन । हाम्रो समाज धेरै नै असहिष्णु बन्दै गएको प्रमाण हो यो ।’
हिजो पञ्चायतकालमा कवि, कलाकार राजनीतिक दलमा लागेको उदाहरण दिँदै लामा थप्छन्, ‘कलाकारले आफ्नो कृति, रचनामार्फत् जनताको चेतना बलियो बनाउने काम गर्नुपर्छ । त्यतिले मात्रै पुगेन भने राजनीतिक विचारको वकालत गर्ने स्वतन्त्रता पनि उसमा छ ।’

व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका खेल्ने नेताहरू पछिल्लो समय कुन हदसम्म अलोकप्रिय रहेछन् भन्ने कुराको पुष्टिसमेत प्रकाशले पाएको गालीले गर्ने निर्देशक लामा बताउँछन् । तर, यी नेताहरूले जनतालाई डेलिभरी दिन नसकेको आक्रोशको भागिदार एउटा सृजनशील कलाकार भइदिनु दुःखलाग्दो भएको उनको भनाइ छ ।
रंगकर्मी आकांक्षा कार्की अहिले जे कुरा पनि फिल्टर गरेर बोल्नुपर्ने अवस्था आएको दुखेसो पोख्छिन् । यस्तो हुनुको पछाडि चेतनास्तर नहुनु नै प्रमुख कारण रहेको बताउँछिन् ।
उनी भन्छिन्, ‘सबैले राजनीतिक पक्षधरता लिन पाउनुपर्यो । कलाकारले पनि कुनै न कुनै पार्टीलाई भोट हालेकै हुन्छन् । उसले भोट हालेर कुर्न विचार वा पार्टीलाई अमूल्य मत दिन सक्छ भने उसले पब्लिकली नागरिक सर्वोच्चताको पक्षपोषण गर्ने व्यवस्थाको पक्षमा बोल्न पनि त पाउनुपर्यो ।’
टेलर स्वीफ्टदेखि अमिभात बच्चनसम्मको दृष्टान्त
गायक बद्री पंगेनीले ‘सही पनि एमाले, मै पनि एमाले’ गीत गाएर पनि कलाकारकै रूपमा सक्रिय छन् । अभिनेत्री करिश्मा मानन्धर एमालेमै छिन् भने रेखा थापा राप्रपाको केन्द्रीय नेतृ हुन् । हास्य कलाकार मनोज गजुरेल २०७४ सालमा वामबठबन्धनको पक्षमा भोट मागिरहेका थिए । लोकगायिका राधिका हमाल कांग्रेसप्रति प्रतिबद्ध छिन् भने कोमल वली त एमालेको तर्फबाट सांसद नै बनिन् ।
चलचित्र विकास बोर्डको अध्यक्ष हुन कुनै पनि पार्टीमा नलागी उपाय छैन । निवर्तमान अध्यक्ष भुवन केसी कांग्रेस निकट थिए भने वर्तमान अध्यक्ष दिनेश डिसी लामो समयदेखि एमालेलाई लेबी तिरिरहेका चलचित्रकर्मी हुन् । यतिमात्रै होइन, बोर्डको अध्यक्षका लागि दर्जनौं प्रतिष्ठित चलचित्रकर्मीले खुलेआम लबिङ गर्ने गरेका छन् ।
अर्कातिर नेपाल एकेडेमी, संगीत तथा नाट्य एकेडेमी, ललितकला एकेडेमीतिर कूलपति, उपकूलपति, प्राज्ञ हुनलाई सरकारको नेतृत्व गरिरहेको पार्टी निकट हुनैपर्छ । यस्ता नजिर बग्रेल्ती हुँदाहुँदै सुरक्षा र प्रकाशहरूले राजनीतिक विचार वा व्यवस्थाको पक्षधरता लिँदा गाली खानु परिरहेको अवस्था छ । त्यस्ता ‘तुच्छ गाली’ले उनीहरूको करियर मात्रै होइन, मानसिक स्वास्थ्यमा समेत असर गरिरहेको देखिन्छ ।
प्रकाशले नेपाल प्रेससँगको कुराकानीमै भनेका थिए, ‘मलाई गालीले एकदमै असर गर्यो । म त गाली सहन नसक्ने मान्छे रहेछु ।’
चलचित्र रिलिज हुनुभन्दा केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा प्रकाश सपूत विवादित बनिरहेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा लिखित एक पुस्तकको कार्यक्रममा उपस्थित भएर दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि गालीगलौजको वर्षा भएको थियो ।
विदेशको उदाहरण लिने हो भने दक्षिण भारतका सुपरस्टार विजय थलापतिले नयाँ राजनीतिक पार्टी नै खोलेका छन् । दिवंगत अभिनेत्री जयललिताले १४ वर्षभन्दा बढी त तामिलनाडुको मुख्यमन्त्री सम्हालिन् । बलिउडका महानायक अमिताभ बच्चन भारतीय नेशनल कांग्रेसको तर्फबाट लोकसभा सदस्य भए । अमिताभ त्यस्तो बेला सदस्य बनेका थिए, जतिबेला उनको करियर पिकमा थियो ।
केही समयअघि सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको पक्षमा टेलर स्वीफ्ट, बिली एलिस, एमिनेम, बियोन्से, लियोनार्डो डिकाप्रियोजस्ता कलाकार खुलेर लागे । राजनीतिक पक्षधरता लिएकै आधारमा उनीहरूको कलाकारितामा कुनै असर गरेन । गाली खानु परेन ।
नेपालमा भने व्यवस्थाको पक्षधरता लिएकै आधारमा सुरक्षाहरूलाई असुरक्षित महसुस बनाइनु संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकमाथिको प्रहार समेत रहेको निर्देशक लामाको भनाइ छ । लामाले भने, ‘कसैको पनि अभिव्यक्ति स्वतन्त्रताको हकलाई बन्देज गर्न पाइन्न । कसैलाई पनि मानसिक समस्या हुने गरी गालीगलैज गर्न पाइन्न ।’
सुरक्षाको पक्षमा बोल्ने कलाकारहरू पनि निशानामा !
सुरक्षाले मानसिक स्वास्थ नै खलबलिने गरी गाली खाएपछि अभिनेत्री ऋचा शर्माले संजालमा लेखिन्, ‘केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ । तर म तिमीलाई सम्झाउन चाहन्छु तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठीक कुरा हो । तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ ।’
त्यसो त सामाजिक सञ्जालमा सुरक्षाको प्रशंसा गर्ने पनि कम छैनन् । गणतन्त्रवादीहरूले उनलाई ‘बौद्धिक नायिका’ को पगरी लगाइदिएका छन् । गणतन्त्र पक्षधर राजनीतिकर्मीहरूले समेत उनको समर्थन र बचाउमा अभिव्यक्ति दिइरहेका छन् । तर, समर्थकभन्दा आलोचकको आवाज बाक्लो र चर्को छ ।
शर्माले आफ्नो विचार राख्नु अभिमान नभएर चेतनाको संकेत रहेको उल्लेख गरेकी छन् । उनले थप लेखेकी छन्, ‘साँचो बोल्न गाह्रो हुन्छ । किनकि साँचोले ढोंगलाई नङ्ग्याउँछ, आडम्बरलाई तोड्छ, र ‘सब ठीक छ’ भन्ने भ्रमलाई चर्काउँछ ।’
ऋचाले सुरक्षाको अभिव्यक्तिमा समर्थन जनाएपछि उनलाई पनि गालीको वर्षा सुरू भयो । कतिसम्म भने ऋचाको म्यासेन्जरमा एक्दमै तुच्छ र अपाच्य गालीहरू गरिए । जुन गालीहरूको स्क्रिनसट ऋचाले आफ्नो फेसबुकमा सेयर गरेकी छन् ।
अभिनेता विजय बरालले सुरक्षाको पोस्ट सेयर गरेकै भरमा चलचित्र वहिष्कार गर्ने धम्कीसहितको कमेन्टहरू आएका छन् । रंगकर्मी आकांक्षाले पनि सुरक्षाको धारणामा सहमति जनाएकै आधारमा टिकटकमा गालीमात्रै खाइन् ।
उनले भनिन्, ‘मजस्तो सामान्य रंगकर्मीको समेत टिकटकमा घुसेर घटिया गालीहरू दिन भ्याए । गाली हेरेर मलाई के लाग्यो भने के यिनीहरू साँच्चिकै मान्छे नै हुन् ?’
सुरक्षा वा प्रकाश वा अन्य कलाकारले खाइरहेको गाली हेर्दा एउटा प्रश्न उठ्छ, ‘के कलाकार सबैको प्रियमात्रै भइरहनुपर्छ ?’
‘त्यो जरुरी छैन । कलाकार प्रगतिशील चाहिँ हुनुपर्छ । र कलाकारले सधैं अरुको स्वतन्त्रताको ग्यारेन्टी भएको व्यवस्थाको वकालत गर्नुपर्छ । अनि मात्रै कलाकारिता जनताको हुन्छ,’ लामा थप्छन्, ‘अनि हाम्रो कलाकारमा पनि आलोचना सामना गर्ने शक्ति अलि कम छ । आफ्नो चलचित्रको समीक्षामा आएको आलोचना त सहन सक्दैनन् । हाम्रा कलाकारहरू सबैभन्दा पहिले आलोचना पचाउन सक्ने बन्नुपर्छ । अनि यस्ता गालीगलैज र हुलहुज्जतले केही पनि असर गर्दैन ।’

Leave a Reply