काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले संसद बैठकमा अश्लील शब्द नबोलेको प्रष्टीकरण दिएका छन् । हिजोको बैठकमा आफूले गरेको सम्बोधनलाई मिडियाले तोडमोड गर्न खोजेको उनले गुनासो गरे ।
आलेले हिजो संसदमा गरेको सम्बोधन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसमा उनले अश्लील शब्द प्रयोग गरेको दाबी कतिपयले गरेका छन् । यही आधारमा एकाध मिडियामा समाचार पनि बनेका थिए ।
हिजोको बैठकमा आलेले आफू मन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणमा आफ्नो इच्छा विपरीत जुनियर मान्छेलाई डीजी बनाइएको सुनाएका थिए ।
उनको भाषणको अंश यस्तो थियो:
जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो । मेरै पालामा हो । निधारमा लेखेको हुँदैन नि, यो चोर हो कि साधु हो भनेर । मैले धेरै पटक जुनियर मान्छेलाई नबनाऊँ भनेको हो, तर पार्टीको दबाब झेल्न नसकेर जुनियर मान्छेलाई बनाइयो ।
अन्तिम पटक उनले ‘मान्छे’ भन्दा ‘मु…’ भनेको जस्तो सुनिएको थियो । त्यसैलाई लिएर आलेले संसदमै अश्लील शब्द बोलेको चर्चा भयो । र, आज उनी प्रष्टीकरण दिन बाध्य भएका हुन् । यद्यपी उनको आफ्नो लबज अनुसार बोल्दा त्यो मुन्छे भनेका हुन् ।
आलेले आज भने:
मैले हिजो बोलेको कुरालाई अश्लील शब्द भनेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्छु । हिजो संसदमा कुरा राख्दा ‘पार्टीको दबाब झेल्ने नसकेर त्यो मान्छेलाई डीजी बनाइयो’ भनेको थिएँ ।
राज्यको चौथो अंग भन्ने मिडियाले यसलाई तोडमोड गर्यो । २५ सय वाटको स्पिकर राखेर राम्रोसँग सुन्न अनुरोध गर्छु । यसरी जनप्रतिनिधिको हुर्मत लिनु भएन ।
यस्ता विषयलाई ध्यान दिएर मात्र समाचार सम्प्रेषण गरियोस् । मैले पटक-पटक पोखरा र भैरहवामा विमानस्थलमा भ्रष्टाचार भएको विषय उठाइरहेकाले त्यसलाई डाइभर्ट गर्नका लागि त मेरो हुर्मत लिएको होइन ?’

Leave a Reply