म नि काठमाडौं आको छु, सरकार !

ए सरकार !
म शिक्षक हुँ
चिन्नु भएन होला, शायद
धूलेकोठामा, चक डष्टरको धुलो खाँदै
गरिब निमुखाका बालबच्चालाई दिइने
अनिवार्य-निःशुल्क शिक्षाको खेतला
मै नै त हुँ, अझै चिन्नु भएन की ??
नचिन्नुस्, तर कान खोलेर सुन्नुस्
डेट एक्स्पायर मेडिसिनको बिचौलिया झैँ
सरकार कहिलेसम्म ?
पञ्चायतकालीन शिक्षा ऐनको डेट त
२०४७ सालमै गुज्रेको हो त सरकार !
त्यसैले
नयाँ शिक्षा ऐन लिन-
म नि काठमाडौं आको छु ।

ए मन्त्रीज्यू !
हजुरले नि पक्कै चिन्नु हुन्न, मलाई
म सरकारी विद्यालय ……..शिक्षक
मन्त्रालयमा छिर्ने हैसियत नपुग्ला
फोन गर्न नि स्तर नमिल्ला
बाटोघाटोमा भेटघाटै नहोला
जे होस् टीभीमा देखेकै छु हजुरलाई, म चिन्दछु
मलाई चिन्न परेन तर शिक्षा ऐन चिन्नुस्
नयाँ शिक्षा ऐन लिन-
म नि काठमाडौं आको छु ।

ए सांसदज्यू !
बिर्सनु भो होला, शायद
म उही सबको झोले शिक्षक !
धूलोमैलो-अधरानो कपडाले बेवास्तामा परेँ की ?
आज मैले तपाइँकै नम्बरमा कल गरेथेँ
खै को हो ? पीए भन्थ्यो, झपार्नु झपार्‍यो
परारको चुनाउमा मेरो नम्बर कण्ठस्तै थ्यो हजुरलाई
मिस्कल मात्र पाए मै कलब्याक गर्थेँ
साँची तपाईँलाई भेट्नुपर्दा प्रक्रिया पो के छ रे ?
भैगो, मलाई नभेट्नुस् तर संविधान र शिक्षा ऐन
दशकपछि भए नि तत्काल भेट गराउनुस्
नयाँ शिक्षा ऐन लिन-
म नि काठमाडौं आको छु ।

ए प्रहरी भाइ !
हिजो बानेश्वरमा आपने-सामने हुँदा चिन्दै-चिनेनौं
म उही तिमलाई कख र १,२ सिकाउने मास्टर त हुँ
तिमी फौजी भैगयौ, म त उहीँ गाउँमै
सकेजति अझै चेतना रोप्दैछु
हिजो, तिम्रो तालिमको सीप, थोरै चाख्न पाएँ
आशा छ भोलिदेखि संयम हुनेछौ
किनकी,
नयाँ शिक्षा ऐन लिन-
म नि काठमाडौं आको छु ।

ए विदेशमा हुने साथी !
धुले मास्टर, सिँगाने मास्टर
जे-जे उपनाम दिए नि
तिमले त चिन्छौ नि मलाई
र, पनि
फेसबुकमा शत्रुभन्दा बेसी लेख्नु लेख्छौ
नेपालमा सिर्फ नकरात्मकता मात्र देख्छौ
म उही ५ कक्षामा सँगै पढेको साथी
पैसा कमायौ र आफूलाई ठान्छौ माथि
तर, म किन बिर्सन्थे र
मैले एसएलसी पास गर्दैगर्दा
तिमी हरेक कक्षामा दोहोर्‍याउँदै
८ कक्षा फेल भएर साउदी उडेको
म क्याम्पस पढ्न बसमा गुडेको
साँची तिम्रो महल-घर कहाँनेर रे
पाहुना लाग्नलाई हैन, सोध्या
नयाँ शिक्षा ऐन लिन-
म नि काठमाडौं आको छु ।

ए अभिभावकज्यू !
सेवा, नमस्कार
म तपाइँकै बच्चाहरूको शिक्षक
यो शैक्षिक वर्ष २०८२ लागेदेखि
विद्यालयमा अनुपस्थित नै छु
र, पनि
यतिञ्जेल साथ सहयोग र समर्थन रह्यो
हार्दिक आभार कृतज्ञता छ
अझै केही दिन नआइपुग्न सक्छु
रिसानी माफी पाउँ
बाध्यता, होइन रहर
नयाँ शिक्षा ऐन लिन-
म नि काठमाडौं आको छु ।

ए विद्यार्थी नानीबाबु !
म उही तिम्रो सर/मिस
मलाई थाहा छ, राम्ररी
तिम्रो बाल मानसिकतामा कौतुहलताको आँधी छ
म सक्दो चाँडो विद्यालय आउनेछु
तिमी अत्तिनु पर्दैन ल नानीबाबु
तिमी अहिले नै
सबै कुरा बुझ्ने भाको छैनौ
तर पछि बुझ्नेछौ
नयाँ शिक्षा ऐन लिन-
म नि काठमाडौं आको छु ।

Comments

One response to “म नि काठमाडौं आको छु, सरकार !”

  1. मिसन अधिकारी Avatar
    मिसन अधिकारी

    गज्जब कविता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *