०६४ भन्दा राम्रो नतिजा आएको सपना देखेपछि अभियानमा दौडिएको हुँः प्रचण्ड

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई कार्यकालपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानअन्तर्गत बर्दियाको राजापुरमा गरिएको सभामा उनले जनताका अधिकार स्थापित गर्न पनि आफू ५-७ वर्ष अर्थात दुई कार्यकाल पार्टी नेतृत्वमा बस्न जरुरी देखिएको बताए ।

‘अझै ५-७ वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन मान्छे तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै, जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुंगाउन र छिन्नभिन्न माओवादी घटक जुटाउन मेरो काम बाँकी छ’,प्रचण्डले भने ।

पछिल्लो चरणमा पार्टीमा आएको सकारात्मक सन्देशले आफूलाई ऊर्जा आएको उनले सुनाए ।

‘दुई वर्ष मेहनत गरियो भने ०६४ भन्दा राम्रो नतिजा आउने सपना देखेको छु, त्यसैका आधारमा म मैदानमा आएको छ, तर अब सबै माओवादी मिल्न जरुरी छ । विगतमा भएका कमजोरी सबै छाडेर तपाईहरुसँग माफी माग्न आएका हौं’, दाहालले भने ।

जागरण अभियानमा आफूले यो बीचमा गरेका गल्ती स्वीकार गर्दै प्रचण्डले ती कमजोरीको उपचार गर्न जनतासमक्ष आएको उनले दोहोर्‍याए ।

‘हामीलाई अलिकति रोग लागेकै हो, हाम्रो उद्देश्यबाट विचलित भएकै हौं, उपचारका लागि जनतासँग आएका छौं, यसको उपचार अन्त गएर पाइदैन, झापाबाट बर्दिया आउँदासम्म धेरै रोग ठीक भइसकेको छ । अब कन्चरपुरसम्मको हुलाकी सडक र पहाडी बाटोबाट इलाम पुगेपछि सबै ठीक हुनेछ ’ उनले भने ।

संघ र प्रदेशमा सरकारमा नभए पनि स्थानीय सरकारबाट जनताका माग पूरा गरेको उनको जिकिर छ ।

प्रचण्डले भने, ‘संघमा सरकार छैन, प्रदेशमा छैन, स्थानीयमा १२३ सरकार हाम्रो नेतृत्वमा छन्, यसैलाई आधार मानेर जाने हो । हाम्रो नेतृत्वको स्थानीय सरकार छन् ती सबै ठाउँ देशभरमा उत्कृष्ट छन्, यसैबाट देखिन्छ हाम्रो काम गर्ने तरिका ।’

प्रचण्डले आउने निर्वाचनमा कांग्रेस-एमालेको बैशाखी नटेक्ने तर माओवादी घटकहरूलाई मिलाएर बताए ।

‘अब कसैको बैशाखी टेकेर जाने होइन, देशभरमा माओवादीले जितेका पालिकाहरूको नतिजा राम्रो देखिएका उदाहरण प्रशस्त छन् । हामीले अलिकति मेहनत गरियो भने सबै नेतृत्व गरेका ठाउँलाई १ नम्बर बनाउन सकिन्छ भन्ने आधार देखिएका छन् । उपनिर्वाचनको नतिजाले एक्लै भिड्ने प्रष्ट संकेत आयो, लुम्बिनीमा कांग्रेस एमाले मिलेर लडेपनि हामीले जितेर देखायौं, स्ववियू निर्वाचनमा तरक्की नै भयो, विद्यार्थी तहमा आएको यो उत्साहले हामीलाई उत्साह थपेको छ, माओवादीविरुद्ध ठूला पार्टीको गठबन्धन हुँदा राम्रो नतिजा आयो ।’

उनले बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कुरा आफू र माओवादीले कहिल्यै नगरेको तर गतल प्रचार गरिएको बताए ।

‘गलत प्रचार भएको रहेछ । बाँके बर्दिया हाम्रो कारणले अन्त जाँदैन, यो हामीले होइन जनताले गर्ने फैसला हो भनेको हुँ गलत अर्थ लगाइएको रहेछ, तपाईँको मतभन्दा बाहिर म र मेरो पार्टी जाँदैन’ उनले भने ।

यो सँगै माओवादीको जागरण अभियान लुम्बिनी प्रदेशमा सकिएको छ । लुम्बिनीमा तीन पटक गरी उनले अभियान सकेका छन् । प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्लामा हुलाकी राजमार्ग रहेको छ ।

Comments

3 responses to “०६४ भन्दा राम्रो नतिजा आएको सपना देखेपछि अभियानमा दौडिएको हुँः प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतीय भाडाका टट्टु अब काम छैन ।

  2. ksp pyl Avatar
    ksp pyl

    अब सपनाको भर हुन थालेछ ।अछै दुई कार्यकाल ? माओवादी पार्टी बाउको सम्पत्ति रहेछ । जे भने पनि भयो ।

  3. ksp pyl Avatar
    ksp pyl

    राजावादीको आन्दोलन अराजक बन्ला र गणतन्त्रवादीको एकताको नाममा राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर सरकारमा गएर कमाउला भनेर बीचैमा कथित अभियान छोडेर आएको थियो प्रचण्ड । दुर्गालाई अराजकता मच्चाउन सहयोग गर्न कार्यकर्ता खटाएको पनि हो । तर तिनकुनेको घटनाले राजावादीलाई झन् राक्षसहरूजस्तो बनाईदियो । आफ्नो स्वार्थ अनुसार नभएपछि प्रचण्डले ज्ञानेन्द्रलाई गाली गर्दै कस्तो मान्छेलाई कमाण्डर बनाएको ? अलि गतिलोलाई बनाउनु पर्ने नि भन्यो । यसको मतलव अलि गतिलोलाई बनाएर राजावादी आन्दोलन चर्काउनु पर्ने नि भन्ने प्रचण्डको उद्देश्य स्पष्ट हुन्थ्यो । यसबाट राजा आए पनि प्रचण्डले पद पाएमा फरक पर्दैन भन्ने उसको भनाई स्पष्ट थियो । फेरि कथित अभियान भनेर मर्निङ् वाक र गरिवका घरमा हुल लिएर गएर मासु भात खायो प्रचण्डले । गभर्नर नियुक्तिमा काँग्रेस एमालेबीच कुरा नमिलेर विवाद भएको थाहा पाए पछि अभियान सभियान गोली मार भन्दै काठमाडौै आएर काँग्रेसले सरकार बनाए निशर्त समर्थन भन्न भ्यायो । जनतालाई सरकार हाम्रो प्राथमिकता होईन भन्ने अनि मौका पाईन्छ कि भनेर कुद्ने । बैंकक जाँदा देउवाले फोन गरे रे । फर्के पछि काँग्रेसको नेतृत्वमा सरकार बन्छ पनि भन्यो । देउवाले फर्केर आएपछि गठबन्धन मजाले चल्छ भनेर धोती खोलिदिए ।किच्च दात देखाउदै फेरि सत्ता होईन जनता चाहिएको भन्न बर्दिया पुगेछ । यस्ता ठगका कुरा पनि पत्याउने ? पदकै लागि १७००० मार्ने मान्छे हो यो । यसले जनतातिर फर्कें भन्दा पत्याउने ? यस्ता फटाहालाई फटाहा कुरा बोल्न बन्द गरिदिउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *