‘होस्टेल ३’ले मनायो ५१ दिन, कार्यक्रममा कलाकार र टिम सम्मानित

काठमाडौं । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ले सोमबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा ५१ औँ दिन मनाएको छ । चलचित्रले शनिवार नै ५१ दिन पूरा गरे पनि निर्माण टिमले भने आज विशेष कार्यक्रमको आयोजना गरी चलचित्र प्रदर्शनको ५१ औं दिन मनाएको हो।

आयोजित कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू पारस बम (कुलब्वाई), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान भने अनुपस्थित रहे । कार्यक्रममा चलचित्रमा विशेष भूमिका निभाएका चर्चित हाँस्य-कलाकार केदार प्रसाद घिमिरे पनि सहभागी भएका थिए ।

उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो चलचित्र नै सफल भएकोमा खुसी व्यक्त गर्दै आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए । नयाँ पुस्ताका कलाकारहरूको पहिलो चलचित्र नै दर्शकको प्रेमले सफल बनाएको भन्दै उनले सबैप्रति आभार प्रकट गरे ।

उपस्थित चलचित्रका कलाकारहरुले पनि ‘होस्टेल ३’ आफ्नो लागि ‘विश्वविद्यालय’ भएको बताउँदै यस चलचित्रबाट आफुहरुले सिकेको अनुभव अमूल्य रहेको बताए। त्यसै गरी, कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सशांक कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले पनि चलचित्रलाई साथ र समर्थन गरेकोमा दर्शक तथा पत्रकारहरूलाई धन्यवाद व्यक्त गरे ।

सेलिब्रेसनसंगै कार्यक्रममा चलचित्र युनिटलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले चलचित्रमा वार्डेनको भूमिका निभाएका छन् ।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *