कमल थापाको आह्वान- केही समयका लागि भए पनि सबै राजावादी एक ढिक्का भएर अगाडि बढौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सबै राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् । व्यक्ति र पात्रलाई नहेरी एजेन्डाका आधारमा हेरेर एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ ।

आज राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सबै राजावादीहरू मिलेको खण्डमा केही हप्ता वा केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न सकिने दाबी गरे ।

उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं । केही हप्ता, केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापना गर्न सकिन्छ । एकपटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौं । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् ।’

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गर्दै आन्दोलनको नेतृत्व लिन समेत आग्रह गरे ।

‘मलाई सार्वजनिकरूपमा भन्दा कत्ति पनि आपत्ति हुँदैन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन मेरो अत्यन्त प्रिय भाइ हुनुहुन्छ, हिजो राजनीतिक आरोह अवरोमा विभिन्न घटना-दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागीता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ,’ थापाले भने ।

उनले अहिले राजसंस्था पुन:स्थापनाका लागि एकदमै अनुकूल वातावरण बनेको दाबी गरे । यो अवस्थामा पनि एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ थियो ।

‘आदरणीय नेताहरूलाई आह्वान गर्न चाहन्छु, कमसेकम केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौं,’ उनले भने, ‘नवराज सुवेदी कुनै स्वार्थ नभएर राजनीतिक जीवनको अन्तिम चरणमा पुग्नुभएको व्यक्ति यो अभियानलाई संयोजन गर्न अग्रसर भएर आउनुभएको छ । जे-जस्तो भए पनि एउटा विशिष्ट परिस्थितिमा संयोजक भएर आउनुभएको छ । मेरो आग्रह छ । आवश्यक प्रवन्ध मिलाएर हामी सबै एकजुट होउँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *