शिक्षक आन्दोलनबाट फर्किएपछि नेकपा एसको दाबी- उहाँहरू उत्साहित बन्नुभयो, नाराबाजी भएको थिएन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले शिक्षकहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । सोमबार २७ दिनदेखि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूको बीचमा पुगेर पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहित नेताहरू पुगेर समर्थन जनाएका हुन् ।

समर्थन जनाउन पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, पार्टीका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशीलगायत शीर्ष नेताहरू पनि पुगेका थिए ।

जारी शिक्षक आन्दोलनमा साथ दिन पुगेको नेकपा एकीकृत समाजवादीको शीर्ष टोलीमाथि शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरेका थिए । ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएका थिए ।

तर, पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख ज्वालाले अध्यक्षसहित कुनै पनि नेताले भाषण गर्ने कार्यक्रम नरहेको र सोही अनुसार ऐक्यबद्धता जनाएर फर्किएको बताए ।

उनले भने, ‘पार्टी अध्यक्षलगायतका नेताहरू आन्दोलन स्थलमा पुगेपछि शिक्षक साथीहरू अत्यन्तै उत्साहित बन्नुभएको थियो। कुनै नाराबाजी भएको थिएन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *